परिचय पुस्तक प्रकाशित

परिचय पुस्तक प्रकाशित

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ २२, २०७५

 

विश्वव्यापीकरणको युगमा अनुवाद अपरिहार्य बनि सकेकोे छ । अनुवादबिना नेपाली साहित्यलाई विश्वबजारमा पुर्‍याउन र विश्वसाहित्यलाई नेपाली पाठक सम्म पुर्‍याउन सकिन्न । यसै कुरालाई आत्मसात् गर्दै अहिले सरकारी तथा निजी तवरबाट अनुवादका काम धमाधम भइरहेका छन् । नेपालमा कति जना अनुवादक छन भन्ने जानकारी दिन हेतुले ‘अनुवादक परिचय कोश’ पुस्तक प्रकाशनमा ल्याइएको छ । 

नेपाल प्रज्ञा–प्रतिष्ठान, अनुवाद विभागको परियोजना अन्तर्गत विभागीय प्रमुख प्रा.डा. उषा ठाकुरको संयोजनामा प्रकाशित उक्त कोशको प्रधानसम्पादक प्रा.डा. गोविन्दराज भट्टराई  छन  भने सम्पादन मण्डलमा प्रा.डा. योगेन्द्रप्रसाद यादव, जयदेव भट्टराई, बलराम अधिकारी, नीव चित्रकार र माधवप्रसाद लामिछाने रहेका छन् ।  

नेपाली भाषा र साहित्यक विकासको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको प्रतिष्ठानले नेपाली, संस्कृत, अंग्रेजी, हिन्दी, उर्दू, चिनियाँ, जापानी, जर्मन, फ्रेन्च, बंगाली, असमिया, नेपालभाषा, मैथिली, भोजपुरी अवधिलगायतमा अनुवाद गर्ने ६ सय जना अनुवादक साहित्यकारलाई समावेश गरी उक्त कोश प्रकाशनमा ल्याएकोे छ । 

कोशमा अभि सुवेदी, अनिशा रिमाल, अनुराधा शर्मा, आशाकाजी बज्राचार्य, ए.एम. स्याङ्देन, ए.डब्लू कर्ने्लिअस, ए.डी मोलोनी, कुलमणि देवकोटा, केशरशमशेर जबरा, गीता मानन्धर, रमेश विकल, शंकर कोइराला, शरदचन्द्र वस्ती, विजय चालिसे, डेविट रुविन, टी.डब्लू क्लार्क, जोन बिम्स, जयराज आचार्य, चक्रपाणि चालिसेलगायत स्वदेशी तथा विदेशी गरी करिब ६ सय जना अनुवादकको परिचय समावेश गरिएको छ । 

अनुवाद विभाग प्रमुख प्रा.डा. उषा ठाकुरले स्वदेशी तथा विदेशी भाषा साहित्यलाई विश्वमा सञ्चार गर्ने माध्यम अनुवाद नै  भएको भन्दै पहिलो चरणमा ६ सय जना अनुवादक साहित्यकारको नाम समावेश गरेर पुस्तक प्रकाशनमा ल्याएको र यस कार्यलाई निरन्तरता बताइन । 

अनुवाद विभागले पछिल्लो समय ‘रनमाया उपन्यास’ अंग्रेजी भाषामा अनुवाद, ‘संस्कृतिका पौराणिक आख्यानहरु’ नेपाली अनुवाद,  ‘देवदास उपन्यास’ नेपाली अनुवाद, ‘रवीन्द्रनाथ टैगोरकी प्रतिनिधि कहाँनिया’ नेपाली अनुवाद, ‘सार्क मुलुकका महिला कथाकारका कथा’लाई नेपालीमा अनुवाद गरेको छ ।