भारतीय चलचित्र जगतका उत्कृष्ट सङ्गीतकार जहूर खय्यामको निधन

भारतीय चलचित्र जगतका उत्कृष्ट सङ्गीतकार जहूर खय्यामको निधन

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  भदौ ४, २०७६


काठमाडौं, एजेन्सी । सदाबहार फिल्म कभी कभीको कर्णप्रिय दार्शनिक गीत मै पल दो पल का शायर हुँ, का संगीतकार जहूर खय्यामको निधन भएको छ । 

भारतीय चलचित्र जगतमा उत्कृष्ट संगीतकारका रुपमा स्थापित खय्यामको सोमबार राति निधन भएको हो । ९३ वर्षीय खय्याम लामो समयदेखि बिरामी रहेका थिए ।

मुम्बईको एक अस्पतालमा उनको उपचार भइरहेको थियो । पछिल्लो केही दिनदेखि उनको अवस्था गम्भीर रहँदै आएको थियो । फोक्सोमा भएको संक्रमणका कारण  उनलाई केही दिनअघि आइसियूमा राखिएको थियो ।

उपचारकै क्रममा सोमबार राति उनको निधन भएको हो । उनको निधनमा भारतका चर्चित नायक नायिकाले शोक व्यक्त गरेका छन् ।

संगीतकार खय्यामले आफ्नो जीवनकालमा धेरै चलचित्रमा संगीत दिने काम गरेका थिए । उमराव जान चलचित्रमा संगीतका लागि उनले फिल्मफेयर अवार्ड पनि पाएका थिए । उनी पद्म भूषणसहितका अन्य थुप्रै सम्मान तथा पुरस्कारबाट सम्मानित थिए । 

हीर राँझा फिल्ममा संगीत दिएर उनले चलचित्र संगीतकारको रुपमा बलिउडमा आफ्नो क्यारिअरको सुरुवात गरेका थिए । उनको पहिलो चर्चित गीत मोहम्मद रफीको स्वरमा ‘अकेले में वह घबराते तो होंगे’ रहेको थियो । यसपछि उनले आफ्नो करिअरमा पछि फर्केर हेर्नु परेन । 

खय्यामको जन्म पञ्जाबको जालन्धर जिल्लाको राहों भन्ने गाउँमा भएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खय्यामको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। यसका साथै बलिउडका अनेकौं दिग्गज हस्तीले उनको निधनमा शोक व्यक्त गरेका छन् । 

खय्यामको संगीतमा रहेका ‘कभी किसीको मुकम्मल जहाँ नहीं मिलता’ र  तुम अपना रंजो–गम, अपनी परेशानी मुझे दे दो’ लगायतका गीतहरु अहिले पनि उत्तिकै चर्चित छन् ।

खय्यामले आफ्नो करिअरका सुरुका पाँच वर्ष शर्माजीको नामबाट संगीत दिएका थिए ।  खय्यामले कभी कभी, उमराव जान, त्रिशूल, नूरी, बाजार, रजिया सुल्तान जस्ता अनेकौं सुपरहिट फिल्ममा संगीत दिएका थिए । 

उमराव जानको गीत, इन आँखों के मस्ती के मस्ताने हजारों है उनको फिल्मी सफरको मोती झैं नै हो ।