युवा वर्ष मोती पुरस्कार चापागाईं र बललाई संयुक्त रूपमा

युवा वर्ष मोती पुरस्कार चापागाईं र बललाई संयुक्त रूपमा

लोकसंवाद संवाददाता  |  साहित्य  |  भदौ ४, २०७६

काठमाडौं : वि.सं. २०७६ को ‘युवा वर्ष मोती पुरस्कार’ युवा साहित्यकारद्वय शङ्कर चापागाईं (धनकुटे कान्छा, झापा) र फुलवान बल (काभ्रे) लाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । 

राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा वि.सं. २०४२ मा राष्ट्रिय युवा कोषद्वारा स्थापित सो पुरस्कारको राशि ५० हजार रुपैयाँसहित स्वर्ण पदक रहेको छ । पुरस्कार छनोट समितिका अध्यक्ष एवम् वरिष्ठ गीतकार कालीप्रसाद रिजालको अध्यक्षतामा आज बसेको बैठकले उहाँहरूलाई सो पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।
यही भदौ १३ गते १५४औँ मोती जयन्तीका अवसरमा पुरस्कार तथा सम्मान अर्पण गरिने कोषका अध्यक्ष भीमबहादुर अधिकारीले जानकारी दिनुभयो । उक्त कोषले नेपाली भाषा साहित्यको उत्थान, श्रीवृद्धि तथा युवाकवि मोतीरामको विषयमा अध्ययन अनुसन्धान गर्दै आएको छ ।
हालसम्म सो पुरस्कारबाट ६७ स्रष्टा सम्मानित भइसक्नुभएको छ ।