पूर्व भारतीय वित्त तथा गृहमन्त्री चिदम्बरम फरार

पूर्व भारतीय वित्त तथा गृहमन्त्री चिदम्बरम फरार

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ४, २०७६

भारतका पूर्वमन्त्री पी. चिदम्बरम भूमिगत भएका छन् । आईएनएक्स मिडिया भ्रष्टाचार काण्डमा उनीविरुद्ध मुद्दा चलिरहेको छ । विगत लामो समयदेखि उनले अदालतबाट अग्रिम जमानत हासिल गर्दै आएकोमा यस पटक हाईकोर्टले उनलाई यो सुविधा दिएन ।

भारतका पूर्व वित्त तथा गृहमन्त्री एवम् कांग्रेसका दिग्गज नेता चिदम्बरम भूकिगत भएपछि सीबीआई उनको खोजीमा लागिपरेको छ ।

भारतको प्रवर्तन निर्देशनालयले उनका विरुद्ध ‘लुकआउट नोटिस’ जारी गरेको छ । यो नोटिस जारी भएपछि उनको देश छाडेर विदेश भाग्ने सम्भावना रहँदैन ।
हाईकोर्टबाट उनको अग्रिम जमानतको याचिका खारेज भएपछि सीबीआईको टिमले कैयौँ पटक उनको घर गई चिदम्बरमको खोजी गरेको छ । सीबीआईले उनको घरबाहिर तत्काल हाजिर हुने आसयको सूचना पनि टाँसेको छ ।

उनका वकिल तथा अर्का वरिष्ठ कांग्रेस नेता कपिल सिवबलले उनको गिरफ्तारी रोक्ने प्रयास गरिरहेका छन् । सिवबलले चिदम्बरमको अग्रिम जमानतका लागि सर्वोच्छ अदालतमा अर्जी दिएका छन् । उनको भनाइ छ- 'जबसम्म सर्वोच्चले अर्जीमाथि अन्तरिम सुनवाइ गर्दैन, तबसम्म चिदम्बरमलाई गिरफ्तार गर्नुहुन्न ।'

तर उनको अर्जीमाथि तत्कालै अदालतमा सुनुवाइ हुने संभावना छैन किनभने सर्वोच्चको संवैधानिक बेन्च अहिले अयोध्याको राम मन्दिर मुद्दाको सुनवाइमा व्यस्त छ ।

कांग्रेसका कैयौँ नेता विभिन्न भ्रष्टाचार मुद्दामा चिदम्बरमझैँ अदालतबाट अग्रिम जमानत लिएर राजनीति गरिरहेका छन् । यस सूचीमा कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी, वर्तमान अन्तरिम अध्यक्ष सोनिया गान्धी, गान्धी परिवारका ज्वाइँ रोबर्ट वाङ्ग, महाराष्ट्रका पूर्वमुख्यमन्त्री अशोक चव्हाण, कांग्रेस सांसद एवम् उद्योगपति नवीन जिन्दल आदि छन् ।