आजको १७औँ दिनमा ‘मुन ल्याण्डिङ’

आजको १७औँ दिनमा ‘मुन ल्याण्डिङ’

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  भदौ ४, २०७६


आज पनि चन्द्रयान–२ को इंजिन बालियो, चन्द्रमासँग मात्र ४४१२ किमि दूरी बाँकी । 

काठमाडौं, इसरो ट्विटर । भारतको बंगलुरुस्थित नियन्त्रण कक्षमा रहेको प्राविधिक र वैज्ञानिकहरुको टोलीले ४ भाद्र बुधवार दिउँसो १२ बजेर ५० मिनेटमा एउटा सन्देश सम्प्रेषित गरे । 

बंगलुरुबाट झण्डै ३ लाख ६० हजार किमि टाढा रहेको चन्द्रयान–२ को आर्बिटरले त्यो संकेत पाएर आफ्नो इंजिन प्रज्वलित गर्यो । चन्द्रयान–२ सम्म त्यो संकेत पुग्न झण्डै १.१२६ सेकेण्डको समय लाग्यो । ज्ञातव्य छ, रेडियो संकेतको गति प्रकाश सदृश्य १ सेकेण्डमा झण्डै ३ लाख किमि हुन्छ । भनौं रेडियो संकेतले १ सेकेण्डमा पृथ्वीको सात भन्दा बढी फन्को लगाउँछ । चन्द्रयान–२ को इंजिन प्रज्वलित भएपछि इसरोको टोलीले यसको स्थान परिवर्तन गरे । 

३ भाद्रमा चन्द्र आर्बिटमा प्रवेश गरेको चन्द्रयान–२ चन्द्रमाको ११४x१८०७२ किमि माथिल्लो आर्बिटबाट चन्द्र परिक्रमा गरिरहेको थियो । 

चन्द्रमाको आर्बिटमा प्रवेश गरेपछि दोस्रो पटक चन्द्रयानको आर्बिट परिवर्तन गर्न यसको इंजिन १२२८ सेकेण्ड अर्थात २० मिनेट २८ सेकेण्डका लागि बाल्नु परेको थियो । 
अहिले चन्द्रयान ११८x४४१२ किमि आर्बिटमा रहेर चन्द्र परिक्रमा गर्दैछ । 

इसरोका अनुसार २७ अगस्टसम्म चन्द्रयान यसै आर्बिटमा रहेर चन्द्र परिक्रमा गर्नेछ । २८ अगस्टको बिहान पुनः यसको इंजिन प्रज्वलित गरी यसलाई अझ तल्लो आर्बिटमा स्थापित गरिने छ ।

चन्द्रयानलाई चन्द्र आर्बिटमा तलझार्ने क्रम यसपछि पनि दुई पटक संचालित हुनेछन् । अन्त्यमा चन्द्र धरातलबाट ३० x१०० किमि माथिल्लो आर्बिटमा रहँदा ल्याण्डर विक्रम यसबाट विच्छेद भएर चन्द्र अवतरण गर्ने तरखरमा लाग्ने छ ।

इसरोका अनुसार ल्याण्डर विक्रमले ७ सेप्टेम्बरका दिन चन्द्र धरातल स्पर्श गर्नेछ । भनौं आजको सत्राैं दिनमा भारतको चन्द्रयान–२ ले चन्द्रमा अवतरण गरी भारतलाई चन्द्र अवतरण गर्ने चौथो राष्ट्रको श्रेणीमा उभ्याउने छ ।