अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ४, २०७६

अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई पुनः सदर गरेको छ । अदालतको उक्त आदेशपछि अदालत परिसरबाहिर भेला भएका पीडित र उनीहरूका समर्थकले खुसी व्यक्त गरेका थिए ।

गत वर्ष डिसेम्बरमा तल्लो अदालतको सर्वसम्मत निर्णयका आधारमा कार्डिनल जर्ज दोषी ठहर गरिएका थिए । क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसका पूर्वअर्थमन्त्री समेत रहेका कार्डिनल जर्जले दुई दशकअघि मेलबोर्नस्थित सेन्ट प्याट्रिक क्याथेड्रलमा रहँदा दुई जना १३ वर्षीय बालकमाथि यौन शोषण गरेको पुष्टि भएको थियो । भिक्टोरिया पुनरावेदन अदालतका न्यायाधीशको २-१ को निर्णयबाट कार्डिनल जर्जले गरेको पुनरावेदन अस्वीकार गरेको हो । पेलका कानुन व्यवसायीले अब अदालतको आदेशका बारेमा अध्ययन गरी उच्चअदालतमा पुनरावेदन गर्ने बताएका छन् ।

कार्डिनल जर्जका प्रवक्ता काट्रिना लीले अदालतको आदेशबाट कार्डिनल जर्ज निःसन्देह दुःखी भएको बताउनुभयो । भ्याटिकनले पनि कार्डिनल जर्जको बालयौन शोषणका बारेमा अलग्गै अनुसन्धान गरिरहेको छ । कार्डिनल जर्जले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् । अस्ट्रेलियाली क्याथोलिक बिसप सम्मेलनले पनि कानुनका दृष्टिबाट सबै अस्ट्रेलियाली नागरिक समान रहेको बताउँदै अदालतको आदेशलाई स्वीकार गर्ने जनाएको छ । मेलबोर्नका मुख्य पादरी पिटर कोमेन्सोलीले एक विज्ञप्ति प्रकाशन गरी आफूले अदालतको आदेशलाई स्वीकार गर्ने र अरूलाई पनि त्यस्तै गर्न आग्रह गर्नुभएको छ ।

गत मार्चमा ७८ वर्षीय कार्डिनल जर्जलाई छ वर्षको कारावासको सजाय दिइएको थियो । उनी अब पोप फ्रान्सिसको कार्डिनल परिषद् वा भ्याटिकनको अधिकारीका रूपमा रहन पाउनेछैनन् । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले पनि अदालतको आदेशलगत्तै जर्जलाई यसअघि अस्ट्रेलिया सरकारले प्रदान गरेको सर्वोच्च पदक 'अर्डर अफ अस्ट्रेलिया'को पदक खोस्ने बताउनुभएको छ ।

क्याथोलिक गिर्जाघरहरूमा विश्वभर नै यौन शोषणका खबर आएसँगै पोप फ्रान्सिसमाथि गिर्जाघरहरूको सुधारका बारेमा चर्को दबाब आएको छ ।