विज्ञापन नियमन विधेयक पारित, एक वर्षभित्र 'क्लिन फिड' लागू गर्नुपर्ने

विज्ञापन नियमन विधेयक पारित, एक वर्षभित्र 'क्लिन फिड' लागू गर्नुपर्ने
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ४, २०७६

काठमाडौं : प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक पारित गरेको छ । समितिको आजको बैठकले राष्ट्रियसभाले संशोधनसहित पारित गरेका केही बुँदालाई साविककै रूपमा पारित गर्ने निर्णय गरेको सभापति कल्याणीकुमारी खड्काले जानकारी दिनुभयो । 

राष्ट्रियसभाले सरकारले राजपत्रमा सूचना प्रकाशन गरेपछि तोकेको मितिका आधारमा ‘क्लिन फिड’ लागू हुने व्यवस्थासहित विधेयक पारित गरेको थियो । समितिले भने तत्कालै लागू हुने व्यवस्था गरेको छ । ऐन लागू हुनुअघि विदेशी प्रसारण संस्थासँग सम्झौता गरी विज्ञापन बजाइरहेका प्रसारण माध्यमले भने एक वर्षभित्र ‘क्लिन फिड’ लागू गर्नुपर्नेछ ।
यसैगरी विधेयकमा टेलिफोन र विद्युतका पोलमा विज्ञापन गर्न नपाइने प्रावधानसमेत राखेको छ । विधेयकमा सरकारी विज्ञापन गर्दा विज्ञापन बोर्डमार्फत् वितरण गर्नुपर्ने व्यवस्था गरिएको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विधेयक पारित भई ऐनका रूपमा कार्यान्वयनमा आएपछि अव्यवस्थित देखिएको विज्ञापन बजार नियमन हुने बताउनुभयो । यसले अर्थतन्त्रमा समेत टेवा पुग्ने उहाँको विश्वास थियो ।