चीनमा मुसलधारे वर्षा, ८ को मृत्यु, २६ बेपत्ता

चीनमा मुसलधारे वर्षा, ८ को मृत्यु, २६ बेपत्ता

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ४, २०७६

चीनको दक्षिण पश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार घटनामा परी अरू २६ जना अझै बेपत्ता रहेकाले खोजी कार्य जारी छ । देशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने सिचुवान प्रान्त र अबा तिब्बती तथा क्विङ स्वायत्त क्षेत्रमा मङ्गलबार मुसलधारे वर्षा भएको अधिकारीहरूले जनाएका छन् । बुधबार मध्याह्नमा पनि अत्यधिक वर्षा भएपछि सिर्जित प्राकृतिक प्रकोपबाट अरू छ जना घाइते भएका छन् भने एक लाखभन्दा बढी विस्थापित भएका छन् । विस्थापित भएकाहरूलाई आधारभूत सेवा सुविधाको व्यवस्थापन अत्यावश्यक भएको उद्धारकर्ताहरूले जनाएका छन् ।

प्रान्तीय आपतकालीन व्यवस्थापन निकायले विस्थापित भएकाहरूलाई हेलिकोप्टरबाट खानालगायतका अत्यावश्यक वस्तुहरु पुर्‍याउँदै गरेको जनाएको छ । अत्यधिक वर्षाले ३४ हजारभन्दा बढी पर्यटक विस्थापित हुनुपरेको छ । उनीहरु वेन्चाउ क्षेत्रमा अलपत्र परेका हुन् । तीमध्ये १३ हजारभन्दा बढी पर्यटक त बाटोमै परेको अधिकारीहरूको भनाइ छ ।

स्थानीय अधिकारीहरूले अप्ठ्यारोमा परेका पर्यटकहरूको उद्धार तथा व्यवस्थापनका लागि विशेष पहल गरिरहेको जनाएका छन् । अत्यधिक वर्षाका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार र राहत वितरण कार्य जारी रहेको समाचारमा जनाइएको छ ।