सहकारीहरू राष्ट्रिय आम्दानीमा योगदान दिनेगरी अगाडि बढ्नुपर्छ : मन्त्री अर्याल

सहकारीहरू राष्ट्रिय आम्दानीमा योगदान दिनेगरी अगाडि बढ्नुपर्छ : मन्त्री अर्याल

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ ५, २०७६

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍माकुमारी अर्यालले साना किसान कृषि सहकारी संस्था गाउँगाउँका किसानको घरदैलोमा पुग्नुपर्ने बताउनुभएको छ ।
नेपाल साना किसान कृषि सहकारी संघले आयोजना गरेको 'नेपाल सहकारी विकास साझेदारी कार्यक्रम : नेपालमा सहकारीको आगामी पुस्ताको लागि ढाँचाको तयारी' सम्बन्धी कार्यशाला गोष्ठीलाई
सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।  
साना किसान ग्रामीण क्षेत्रसम्म पुग्न सफल भएको भन्दै मन्त्री अर्यालले भन्नुभयो, 'तपाईहरू गाउँसम्म पुग्नुभएको छ । अझ निम्नस्तरसम्म पुग्नेगरी तपाईंहरू अगाडि बढ्नुहोस् ।'
सहकारी माथिमाथि ठूलाका हातमा भए र तिनीहरूले फाइदा लिए भन्ने गुनासो रहेको भन्दै मन्त्री अर्यालले अब सहकारी संस्थाहरू राष्ट्रिय आम्दानीमा योगदान दिनेगरी अगाडि बढ्नुपर्ने बताउनुभयो । आममान्छेको जीवन बदल्नेगरी सहकारीले योगदान दिनुपर्ने उहाँको भनाइ थियो । 
अब परम्परागत खेती प्रणाली फेरेर मुलुक प्रगतिको दिशामा अगाडि बढ्नुपर्ने भन्दै उहाँले जमिन बाँझो राखेर समृद्ध हुन नसकिने बताउनुभयो ।
'भूमि साधन पनि हो स्रोत पनि हो । पुँजीको महत्त्वपूर्ण स्रोत नेपालको सन्दर्भमा भूमि हो । 
अब भूमिको व्यवस्थापन उपयोगका आधारमा गर्नुपर्छ', मन्त्री अर्यालले भन्नुभयो, 'अबको भूमिको प्रयोग यसरी गर्नुपर्छ भनेर राज्यले कानुन बनाएर निजी सम्पत्तिको सदुपयोग उचित ढंगले गर्नुपर्छ । उपयोगका आधारमा भूमिको व्यवस्थापन गर्नुपर्छ ।'
भूमि व्यवस्थापन उपयोगका आधारमा हुने भन्दै उहाँले व्यावसायिक बन्नका निम्ति ऐन, कानुनले पनि प्रबन्ध गरेको बताउनुभयो । अब उत्पादनमूलक कार्यलाई जोड दिएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । 
पछिल्लो समय नेपालले तरकारीमा प्रगति गरिरहेको  बताउदै मन्त्री अर्यालले फलफूलको सन्दर्भमा भने नेपाली बजार भारतीय फलफूलले ढाकेको अवस्था रहेको बताउनुभयो ।
अब गाउँगाउँमा सहकारीको मोडलमा सामूहिक फार्महरू सञ्चालन गर्नुपर्ने भन्दै मन्त्री अर्यालले जनतालाई काम गर्नका निम्ति झञ्झट बनाउने खालको कानुनका बाधाहरू फुकाउनुपर्ने बताउनुभयो । त्यसका लागि मन्त्रालय अगाडि बढिसकेको समेत उहाँको भनाइ थियो ।