प्रहरीमा बढुवाका लागि दौडधुप

आकांक्षीहरु नेताहरूको घरदैलोमा

प्रहरीमा बढुवाका लागि दौडधुप

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २२, २०७५

काठमाडौँ । सर्वोच्च अदालतको फैसला अनुसार नेपाल प्रहरीमा पद रिक्त भएको तीन महिनाभित्र अनिवार्य रुपमा पदपूर्ति गर्नुपर्ने भएपछि हाल नेपाल प्रहरीमा डिआइजी, एसएसपी, एसपी  बढुवामा लविङ सुरु भएको छ । 

नेपाल प्रहरीमा एउटा नायव महानिरीक्षक (डिआइजी) पद रिक्त भएपछि एक दर्जनभन्दा बढीले सो पदमा लविङ सुरु गरेका छन् ।  डिआइजी सुशील भण्डारीको १० कार्तिकमा काभ्रेमा सडक दुर्घटनामा निधन भएपछि सो पद रिक्त भएको थियो । 

अदालतको आदेश अनुसार नेपाल प्रहरीमा माघभित्रै डिआइजी पदपूर्ति भइसक्नु पर्ने अनिवार्यता छ । २०४७ देखि २०४९ सम्म विभिन्न मितिमा प्रहरी सेवामा प्रवेश गरेका २१ जना यसका आकांक्षी रहेका छन् । यी २१ जना एकै पटक एसएसपीमा बढुवा भएका थिए । यी २१ जना मध्ये कसलाई डिआइजी बनाउने भन्ने बारे प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालय अन्योलमा रहेको छ । यस बढुवा प्रकरणमा  सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का आसेपासेलाई आकांक्षीहरुले लविङ गर्न सुरु गरेका छन् । 

प्रहरी सङ्गठन भित्र भने वीरेन्द्र श्रेष्ठ अइजीपीकै ब्याचका भएको कारण उनलाई डिआइजीमा बढुवा गर्नुपर्ने चर्चा रहेको छ । यद्यपि कार्यसम्पादन मूल्याङ्कनका दृष्टिले उनको बढुवा सुरक्षित हुन सकेको छैन ।  

३० असार २०७४ मा एकै पटक बढुवा भएका चार ब्याचका २१ जना डिआइजी पदका लागि मुख्य प्रतिस्पर्धामा छन् । २०४७ असार २५ मा सेवा प्रवेश गरेका वीरेन्द्र श्रेष्ठ, त्यसपछि २०४९ वैशाख १९ मा सेवा प्रवेश गर्ने राजेश कुमार लाल कर्ण, दिलीप कुमार चौधरी, देब बहादुर बोहरा, पुरुषोत्तम कँडेल, सौरभ राणा, प्रकाशजंग कार्की, सुरेश बस्नेत, गणेश बहादुर ऐन, घनश्याम अर्याल, वसन्त कुमार पन्त, ईश्वर बाबु कार्की, राम कृपाल शाह र उमेश रन्जितकार मुख्य प्रतिस्पर्धी रहका छन्   । 

यस्तै २०४९ चैत ११ मा सेवा प्रवेश गरेर २०६९ माघ ११ मा एसपीमा बढुवा भएका तर एसएसपी बढुवासँगै भएका उत्तम राज सुबेदी, धिरज प्रताप सिंह, वसन्त कुमार लामा, दिवेश लोहनी, विश्वराज पोखरेल पनि प्रमुख दाबेदार नै रहेका छन् । यी मध्ये बढुवाका लागि ऐन र पन्त दुवैको दौडधुप अन्यको भन्दा बढी छ । दुवै सुदूरपश्चिमका भएका कारण एउटै नेता कहाँ आलोपाले पुगिरहेका छन् । यसै गरी २०४९ चैतमा भर्ना भएका  विश्वराज पोखरेल, उत्तम राज सुवेदी, बसन्तकुमार लामा, धिरज प्रताप सिंह, दिवेश लोहनी, कार्यसम्पादनका आधारमा बढुवा हुनुपर्ने अडानमा छन् । उनी मध्येका पोखरेलको कार्यसम्पादन मूल्याङ्कन भने एक नम्बरमा रहेको छ । यो ब्याचका सबैको धारणा पछिल्लो बढुवाका आधारमा बरियता कायम हुने नियम नै वैज्ञानिक भएको भन्दै लबिङ गरिरहेका छन् । पछिल्लो ब्याचबाट डिआइजी बन्न सके आइजीपी सम्म हुन सक्ने सम्भावना हुन्छ  । 

माथिल्लो तहबाट बढुवा सुरु गरेका खण्डमा नेपाल प्रहरीमा एसपीको २७ पद रिक्त हुनेछ । एक डिआइजी, १५ एसएसपी, २७ एसपीका पदहरू रिक्त हुनेछन् । एसपी बढुवाका लागि यति बेला प्रहरी सङ्गठनमा ठुलो दबाब र चलखेल सुरु भएको छ । यसअघि नै राजनीतिक प्रतिशोधदेखि दबाब र चाकडी एवम् आर्थिक लेनदेनका कारण केही विवादास्पद, बदनाम र भ्रष्ट डिएसपीहरू एसपीमा बढुवा भएपछि विवादसमेत भएको थियो । २०६७ पुस २३ गते डिएसपीमा बढुवा भएका १९ जना एसपीको बढुवाका लागि प्रबल दाबेदार छन् ।  २ वर्षपछि बढुवा भएका डिएसपीहरू प्रधानमन्त्री केपी ओलीदेखि नेकपा अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापादेखि अन्य शीर्ष नेताहरूकहाँ धाउने र दबाब दिइरहेका छन् । 

०६७ पुस २३ गते डिएसपी भएका पहिलो समूहमा रहेकाहरूमा रमेश बस्नेत, हिरा पाण्डे, श्यामकृष्ण अधिकारी, केदार खनाल, रामप्रकाश साह, भीमबहादुर दाहाल, रविन्द्र रेग्मी, कृष्णप्रसाद प्रसाईँ, राकेश सिंह, विनोद सिलवाल, गोविन्द अधिकारी, राजीव बस्नेत, नान्तीराम गुरुङ, सूर्यबहादुर केसी, डा.मेखबहादुर खत्री, कृष्णजी अधिकारी, विमल कँडेल र प्रवीणलाल श्रेष्ठ रहेका छन् । 

त्यसपछि दोस्रो समूहमा रहेका डिएसपीहरू २०६९ फागुन ६ गते बढुवा भएका हुन् । ०५८ सालमा प्रहरी निरीक्षक भएका ७७ जनामध्ये ४६ जना ०६९ फागुन ६ गते डिएसपीमा बढुवा भएका थिए । भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, अनुपम समशेर जबरा, रमेश थापा, रमेशकुमार तामाङ (निलम्बन अख्तियार काण्ड), अजय केसी, कृष्णप्रसाद कोइराला, वीरबहादुर बुढामगर, शिवकुमार श्रेष्ठ, सुरेन्द्रप्रसाद काफ्ले, प्रकाश मल्ल, ज्ञानेन्द्रप्रसाद फुयाल, सन्तोष खड्का, राजकुमार सिलवाल, अमलेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, दानबहादुर मल्ल, कृष्णप्रसाद पँगेनी, शान्तिराज कोइराला, मेघराज कँडेल, होविन्द्र बोगटी, श्यामकुमार महतो, वेद विष्ट, हेमकुमार थापा, नकुल पोख्रेल, दयानिधि ज्ञवाली, मुकुन्द खड्का, नवराज अधिकारी, दीपक पोखरेल, सञ्जयसिंह थापा, प्रकाश रानाभाट, पदमबहादुर विष्ट, प्रवीण धिताल, वासुदेव खतिवडा, दीपेन्द्र साह, दीपेन्द्र शाही, कमल थापा, प्रेमबहादुर बस्नेत, प्रभु ढकाल, जनार्दन जिसी, सञ्जयबहादुर राउत, हरिप्रसाद शर्मा, राजेन्द्रबाबु रेग्मी, महेन्द्रकुमार श्रेष्ठ र रञ्जु सिग्देल प्रतिस्पर्धामा रहेका छन् ।