शिक्षामन्त्रीकाे सर्च कमिटी असफल, चार विश्वविद्यालका उपकुलपति कायममुकायम

शिक्षामन्त्रीकाे सर्च कमिटी असफल, चार विश्वविद्यालका उपकुलपति कायममुकायम

लोकसंवाद संवाददाता  |  शिक्षा  |  भदौ ६, २०७६

काठामाडाैँ । मुलुकका चार विश्वविद्यालयका उपकुलपतिको चयन हुन नसक्दा कायममुकायम उपकुलपतिको जिम्मेवारी  दिनु पर्ने  अवस्था आएको छ ।

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई चार विश्वविद्यालयको रिक्त हुन थालेको उपकुलपतिका लागि कामु उपकुलपतिको जिम्मेवारी तोक्दै पत्र तयार भएको छ । 

 शिक्षामन्त्रीका स्वकीय सचिव पुरन केसीका अनुसार त्रिविमा कामु उपकुलपतिमा शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीलाई जिम्मेवारी तोकिएको छ ।

त्रिविका उपकुलपति डा. तीर्थराज खनियाँको २०७६ भाद्र ६ गते शुक्रबारबाट  कार्यकाल सकिने भएकोले शिक्षाध्यक्ष डा. त्रिपाठीलाई कामु उपकुलपतिकाे पत्र थमाइने  छ ।

त्रिवि ऐन–२०४९ को दफा २१ को (ख)  व्यावस्था अनुसार विश्वविद्यालयको कुनै पद रिक्त भएमा सो पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महीनाको लागि उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले तोक्ने व्यवस्थाअनुसार नै कामु उपकुलपति जिम्मेवारी दिन लागिएकाे हाे ।

त्रिविको उपकुलपतिसहित पदाधिकारीको नाम सिफारिस गर्न गठित शिक्षामन्त्री पोखरेलको संयोजत्वमा गठित सर्च कमिटीले हालसम्म नाम सिफारिस गर्न नसकेपछि त्रिवि ऐनअनुसार  कामु उपकुलपतिको जिम्मेवारी दिने निर्णय गरिएको हो ।

त्रिविका कुलपति तथा प्रधानमन्त्री उपचारका क्रममा २०७६ भाद्र छ  गते  बिहिबार सिङ्गापुर जानु भएकाले फर्कन केही समय लाग्ने भएकाले पनि अहिले कामु उपकुलपति जिम्मेवारी दिने  बिकल्पमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली पुग्नु भएकाे बताइएको छ । 

 यसैगरी  कृषि विश्वविद्यालयमा पशु, विज्ञान, भेटरिनरी विज्ञान तथा मत्स्यपालन सङ्कायका डिन शारदा थपलियालाई कामु उपकुलपति, संस्कृति विश्वविद्यालयमा शिक्षाध्यक्ष रमेश ढकाललाई कामु उपकुलपति र पूर्वाञ्चल विश्वविद्यालयमा बिजुकुमार थपलियालाई कामु उपकुलपतिको जिम्मेवारीको पत्र  दिइनेछ । 

 शिक्षामन्त्रीका स्वकीय सचिव पुरन केसीका अनुसार चार जना कामु उपकुलपतिलाई २०७६ भाद्र ६ गते शुक्रबार नै पत्र दिने जानकारी दिनुभयो ।

कृषि, संस्कृति तथा पूर्वाञ्चल विश्वविद्यालयमा समेत उपकुलपतिको पदावधि शुक्रबारदेखि सकिने भएकाले कामु उपकुलपतिको तोकिएको हो ।

यसैगरी कृषि र पूर्वाञ्चल विश्वविद्यालयको पदाधिकारी छनोट गर्नका लागि शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य र शिक्षासचिव रहेको सर्च कमिटी गठन गरिएको छ । यस्तै संस्कृति विश्वविद्यालय पदाधिकारी र सेवा आयोगको पदाधिकारी छनोट गर्नका लागि शिक्षामन्त्री पोखरेलसहित विश्वविद्यालय अनुदान आयोगका सदस्य र शिक्षा सचिव रहेको सर्च कमिटी गठन गरिएको छ ।

यसैगरी त्रिविको उपकुलपतिसहित पदाधिकारीसहितको नाम सिफारिस गर्नका लागि सर्च कमिटीलाई म्याद भने २०७६ भदौ २० गतेसम्मलाई  थप गरिएकाे  छ ।