दुर्वाष्टमी अर्थात् अँध्यारी गौरा पर्व उमा महेश्वर र दुबोको पूजा गरेर मनाइँदै

दुर्वाष्टमी अर्थात् अँध्यारी गौरा पर्व उमा महेश्वर र  दुबोको पूजा गरेर मनाइँदै

लोकसंवाद संवाददाता  |  पर्यटन  |  भदौ ६, २०७६

सुदूरपश्चिम र मध्यपश्चिमवासीले २०७६ भाद्र ६ गते शुक्रवारका  दिन उमा महेश्वरसहित दुबोको पूजा आराधना गरेर अँध्यारी गौरा एवं दूर्वाष्टमी पर्व धूमधामसँग मनाइँदै छ । 

सामान्यतया पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने प्रचलन भए पनि यस वर्ष त्यस अगावै अगस्तमय ऋषिको उदय  भएकाले कृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले यस अघि नै जानकारी दिइसक्नु भएको छ । 

भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीका दिन मनाइने गौरालाई अँध्यारी भन्ने गरिएको छ । 

साेही मान्ययता अनुसार यस वर्षको गौरालाई अँध्यारी गाैराकाे रूपमा मनाउन लागिएको हो । 

पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात् उज्याली गौराबाटै सुरु  गर्नुपर्छ भन्ने  धार्मिक  मान्यता रहेको छ ।

नेपाली पात्रो अनुसार  वर्ष अगस्ति ताराको उदय भदौ १९ गते बिहीबार बिहान १०ः१८ बजे हुने भएकाले कृष्ण अष्टमीकै दिन गौरा पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक  समितिका विज्ञ सदस्यहरूको बैठकले भदौ ६ गतेको निर्णय गरिएको हो । 

 कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि पनि गौरा मनाउनु नहुने ठहरमा समिति पुगेको हो । 

सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने मानस खण्ड, निर्णय सिन्धु, हेमाद्रि लगायत ग्रन्थमा उल्लेख भएको पाइन्छ । 

गौरालाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका मनाइँदै आएको पाइन्छ । 

राजधानीमा रहेका सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले यो पर्व यहाँ पनि धूमधामका साथ विगत केही समयदेखि  मनाउने गरिएको  छ । 

खाशगरी सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा गौरा पर्व  प्रचलनमा आएको आम विश्वास रही आएको छ ।   

पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार  बनाइ गौरा पूजा  गर्ने  चलन रहेको छ । 

यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर व्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रही आएको  छ ।

देवीलाई गाउँका अगुवाले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा भने  कसैले पनि हेर्नु नहुने मान्यता रही आएकाेछ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले नदेख्ने गरी  अगुवाले लैजाने गरिन्छ ।

 भाद्र कृष्ण पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर 'बिरुडा'  तयार गर्ने र  अष्टमीका दिन  भगवतीलाई पूजा गर्दा बिरुडा चढाइने र भक्तजनलाई पनि प्रसादका रूपमा बाँडिने गरेको छ । 

यसमा पाँच किसिमका गेडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमी भनेर नामकरण नै गर्ने चलन रहिआएको छ । 

दुई तीन दिन पूजा गरिसकेपछि मङ्गलवार र शनिवार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाउनु पर्ने मान्यता छ ।

जुठो, सूतक परेका बेला देवीलाई विसर्जन गर्नु नहुने परम्परा रहेको  देवीलाई विसर्जन गरेपछि मागलअर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा रहेको  छ । 

देशका अन्य भागमा तीज मनाएजस्तै पश्चिममा गौरा पर्व विशेष गरी नारीहरूले मनाउने गरिएको पाइन्छ ।

दूर्वाष्टमी दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दूर्वाष्टमी भन्ने चलन पश्चिम क्षेत्रमा छ  ।

दुबो जसरी फैलिन्छ त्यसरी नै सन्तान दर सन्तान फैलिउन् भन्ने कामनाका साथ गौरा पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रतसमेत गरिँदै आएको छ ।

 अष्टमीका दिनमा पुरै ज्येष्ठ र मूल नक्षत्र परेमा भने दुबोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको पनि नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष गौतमले बताउनुभयो । 

याे पर्व दिन दुबो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्य सिद्धि हुने धर्मग्रन्थ हेमाद्रिमा स्पष्टसँग  उल्लेख गरिएको छ ।