चिदम्बरमले पाएनन् जमानत, ५ दिन हिरासतमा

चिदम्बरमले पाएनन् जमानत, ५ दिन हिरासतमा

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ६, २०७६

आइएनएक्स मिडिया घोटाला काण्डमा भारतका पूर्व अर्थ तथा गृहमन्त्री पी. चिदरम्बरमलाई सीबीआई अदालतले २६ अगस्टसम्म हिरासतमा राख्न अनुमति दिएको छ । सीबीआईले अदालतसमक्ष बयानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति माग गरेको थियो ।

चिदम्बरमका तर्फबाट पूर्व कानुनमन्त्री कपिल सिब्बलले विशेष अदालतमा बहस गर्दै सीबीआईले चिदम्बरमलाई जानीबुझीकन फसाउन खोजेको बताउनुभएको थियो ।

यो घटनामा अरू अभियुक्तलाई जमानतमा रिहा गरिएकाले चिदम्बरमलाई पनि जमानतमा रिहा गरिनुपर्ने उहाँको तर्क खारेज गर्दै अदालतले २६ अगस्टसम्म चिदम्बरमलाई हिरासतमा राख्न अनुमति दिएको हो ।

अदालतमा सरकारका तर्फबाट तुषार मेहताले बहस गर्नुभएको थियो । उहाँले अनुसन्धानसँग जोडिएका सबै दस्तावेज चिदम्बरमले उपलब्ध नगराएकाले बिना कस्टडीको सोधपुछले अनुसन्धान सम्भव नहुने भन्दै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतसमक्ष ५ दिनको म्याद माग्नुभएको थियो ।

सिब्बलले मेहताको दाबी खारेज गर्दै यो घटनामा सबैलाई जमानतमा रिहा गरिएकाले चिदम्बरमलाई पनि जमानत दिनुपर्ने माग गर्नुभयो । उहाँले चिदम्बरमसँग सीबीआईले ठीक व्यवहार नगरिरहेको समेत बताउनुभयो ।

चिदम्बरमलाई विदेशी बैंक एकाउन्टका बारेमा सोधिएको प्रश्नमा उहाँले आफ्नो कुनै विदेशी बैंकमा खाता नभएको बताउनुभयो । सिब्बलले चिदम्बरमका छोरा कार्ती चिदम्बरमको विदेशमा खाता रहेको तर सो खाता पनि आरबीआईको नियमअनुसार नै रहेको स्पष्ट पार्नुभयो ।