अमेरिकामा पनि  मनाइयो गौरा पर्व

अमेरिकामा पनि  मनाइयो गौरा पर्व

लोकसंवाद संवाददाता  |  पर्यटन  |  भदौ ६, २०७६

काठमाडौं । अमेरिकाको विस्कान्सन क्षेत्रमा रहेका सुदूरपश्चिमेली महिलाहरूले धुमधामसँग गौरा पर्व मनाएका छन् । 

अमेरिकामा रहेका महिलाहरूले २०७६ भाद्र ५ गते बिहीबार विधिपूर्वक गौरा पूजा गरेका हुन् । 

विस्कान्सन गौरा समाजले पूजा आयोजना गरेको हो । पूजामा १० महिला सहभागी भएको समाजले जनाएको छ । 

पौराणिक कालमा देवी पार्वती अर्थात् गौरा माताले भगवान शिवको नित्य आराधना गरी पतिका रूपमा पाएको मान्यता छ । यसै मान्यतामा गौरा पर्व मनाइन थालिएको हो । यो पर्व भदौ कृष्ण पञ्चमीदेखि अष्टमीसम्म मनाइन्छ । 

गौरा पूजा गरे पति दीर्घायु हुने र परिवारमा समृद्धि छाउने मान्यता छ । 

गौरा पर्व खासगरी नेपालको सुदूरपश्चिम र भारतको कुमाउलगायत क्षेत्रमा मनाइन्छ । 

यसैबीच, विस्कान्सन गौरा समाजले एनआरएन एसिसी अमेरिका विस्कान्सन च्याप्टरका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ । समाजले प्रतिनिधित्व गर्ने पदाधिकारीलाई च्याप्टरका अध्यक्ष टुकप्रसाद रेग्मी, उपाध्यक्ष दीपक थापा, सचिव गोविन्द फुलारा, कोषाध्यक्ष हरिबहादुर अधिकारीलगायतलाई खादा ओढाएर सम्मान गरेको हो । 

सम्मान कार्यक्रम समाजका अध्यक्ष बासुदेव जोशीको अध्यक्षता र एनआरएन अमेरिकाका मध्यपश्चिम क्षेत्रीय उपाध्यक्ष बुद्धिसागर सुवेदीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा एनआरएन अमेरिकाका केन्द्रीय सदस्यद्वय तिलक केसी र बासुदेव अधिकारीको उपस्थिति रहेको थियो । 

कार्यक्रममा गायक जगदीश समालले प्रस्तुति समेत दिएका थिए ।