पाँच देवीदेवतालाई शास्त्रीय र तान्त्रिक विधिद्वारा एक वर्षका लागि बिदाइ

पाँच देवीदेवतालाई शास्त्रीय र तान्त्रिक विधिद्वारा एक वर्षका लागि बिदाइ

लोकसंवाद संवाददाता  |  पर्यटन  |  भदौ ७, २०७६

भक्तपुर ।  मध्यपुरथिमि नगरपालिकाका अन्तरगतका विभिन्न ठाउँमा आमन्त्रण गरिएका पाँच देवीदेवतालाई चार दिनपछि आगामी एक वर्षका लागि बिदा गरिएकाे छ । 

स्थानीय नेवार समुदायले गाईजात्राको भोलिपल्ट रातिदेखि मध्यपुरथिमिको लाय्कू दरबारबाट निस्किएर बजारका  विभिन्न क्षेत्रमा चार रातसम्म घुमेको लाय्कू भैल (भैरव) लगायतका देवताहरुलाई भोज खुवाएर बिदाई गर्ने प्रचलन रहेकाे  छ । 

 थिमिको लाय्कू भैल प्याखँमा ज्यापुँगः एक, न्हापा र लिपा गरी दुई भैरव र न्हापा र लिपा दाय्गी अर्थात दुई कुमारी गरी पाँच देवीदेवतालाई शास्त्रीय र तान्त्रिक विधिद्वारा विभिन्न मुद्रामा नाच प्रस्तुत गर्दै बिदाई गरिएको हो ।

भैलः प्याखँमा भैरवले खड्ग र कुमारीले डमरु लिएर नाच्छन् भने ज्यापुँगःले कपासको बियाँ, अक्षता र ताय् (लावा) भएको भाँडा हातमा लिएर नृत्य गर्ने गर्छन् ।

ज्यापुँगःले भैरव र कुमारी नाच्दा नाच्दै क्रोधित भएर काम्ने बेला कपासको बियाँले हानेर शान्त पार्ने विश्वास रहि आएकाे  छ । 

भैलः प्याखँमा पाँच देवीदेवताले नाच प्रस्तुत गर्ने भए पनि वाद्यवादन, सहयोगी र व्यवस्थापक गरी करीब तीन सय जनाको समूह अहोरात्र खटिनुपर्ने लाय्कू भैलः सञ्चालन समितिका संयोजक अर्जुन श्रेष्ठले जानकारी दिनुभएकाे  छ ।

चाररातसम्म थिमिको लाय्कू, बालकुमारी, दथुटोल, लाय्कू, ईनायटोल, दिगुटोल, चपाचो, गुँगचिभा र भुँलाखेललगायतका क्षेत्रमा चाररातसम्म नृत्य गरेका  देवीदेवताको स्वरुपलाई बिदाई गरिएको संयोजक श्रेष्ठले  जानकारी दिनुभयो ।

त्यसैगरी मध्यपुरथिमिको नगदेशबाट चार रात टोलटोलमा नाचेकी महाकाली स्वरुपलाई पनि एकवर्षका लागि बिदाई  गर्ने चलन रहेकाे छ । 

यसका अलवा महाकाली, महालक्ष्मी, कुमारी, सिंह, बेटा, भूत भैरव, ख्याक, माक, महिषासुर, मयूरलगायतका देवीदेवता र राक्षससहितको महाकाली नाचका सबैलाई यस बर्षाकाे लागि बिदाई गरिएको छ ।

नगदेशको च्वे त्वाः गाः, कुमालाछी, छ्वास त्वाः, नृत्यनाथ, बाहः ननीस्थित उःननी र थःननी, झ्वापुननी, क्वें त्वाः गाः र पुखुसीमा पनि प्रदर्शन गरिदै आएकाे  छ  ।

दश ठाउँमध्ये नृत्यनाथ, च्वे त्वाः गा, छ्वास त्वाः र उःननी, लाछी टोललगायतका क्षेत्रमा प्रदर्शन गरिएको यो नाच चार रात प्रर्दशन पछि बिदाई गरिने  प्रचलन रहेको दाबी प्नचका गुरु भक्तबहादुर घजुकाे छ ।  

गुरु घजुका अनुसार मुहाली बाजा, नायखिँ, धा बाजा, ताः, मृदङ्ग, भुस्याय्, छुस्याय्लगायतको बाजाको संयुक्त ताल एवं २१ तालमा उक्त नाच प्रस्तुत गर्ने आफ्नै विधि रहेकाे छ । 

उता बोडेको ऐतिहासिक नीलवाराही नाच चार दिन चार रात बोडेको विभिन्न स्थानमा प्रदर्शन गरी बिदाई गरिसकिएको छभने नाच बोडेको नारायणस्थान लाछीबाट शुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलवाराही स्थान हुँदै पुनः नारायणथानमा पुगेर  विधिपूर्वक समापन गरिने  परिपाटी रहि आएकाे छ । 

नाचमा धा बाजा, भुस्या, काँय, पोङ्गा बाजाको तालमा परम्परागत शैलीमा देवी र देवगणको स्वरुपमा नाच्ने गुठीका नाइके प्रेमचन्द्र अदुवा श्रेष्ठले  जानकारी दिनुभयाे । 

यो नाच फरकफरक दिन र फरक समयमा फरकफरक स्थानबाट शुरु गर्ने परम्परा  कायम राखिएकाे गुठी नाइके श्रेष्ठको दाबी रहेके  छ ।

 नीलवाराही नाचमा भैरव एक, वाराही चार, कुमारी चार, सिहं चार, द्वारपाल दुई र गणेश चार गरी १९ देवीदेवतालाई मानिदै आएको छ  ।

देवगणका ज्वकुलु (सहयोगी) र वाद्यवादक गरी सय जनाभन्दा बढी व्यक्तिहरू यो नाचमा सहभागीता रहने श्रेष्ठले जानकारी दिनुभयो । नीलवाराही गणनाच तान्त्रिक विधि विधानयुक्त नाचका रुपमा नेवार समुदायले लिने गरिएकाे  छ । 

 थिमिका तीनवटै नाच नामुद शास्त्रज्ञ, तान्त्रिक र विद्वान गुरुहरूले तान्त्रिक विधिद्वारा मानिसमा विभिन्न देवीदेवताहरू जगाएर रातभर नचाउन शुरु गरी भूतप्रेत, पिशाच, डाकिनी, प्रेतात्मा, दानवलगायतलाई भगाउन गाईजात्राको भोलिपल्टदेखि चार रात मध्यपुर थिमिमा भैरव, महाकाली, निलवाराही लगायतका देवीदेवता जगाउने चलन रहि आएकाे  छ ।