जयनगरबाट धनुषाको कुर्थासम्म तिहारसम्ममा नेपाली  रेल सञ्चालनमा आउने

जयनगरबाट धनुषाको कुर्थासम्म तिहारसम्ममा  नेपाली  रेल सञ्चालनमा आउने

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ७, २०७६

काठमाडौँ ।  जनकपुर -जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालनमा ल्याउने  लक्ष्यका साथ सरकारले रेलवे कम्पनीलाई पुर्नस्थापित गर्ने तयारी गरेकाे छ । 

 कम्पनीको स्थापित गर्नको लागि दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले  जानकारी  दिएकाे छ ।
 
हालको रेलवे कम्पनी नाम मात्रैको भएको विभागका महानिर्देशक बलराम मिश्रले  स्वय‌ंले जानकारी दिनुभएकाे  छ । 

मिश्रका अनुसार हाल कम्पनीमा न्यून मात्र  जनशक्ति रहेकाे छ । भएकाे जनशिक्त पनि रेलसम्बन्धी समान्य ज्ञान र क्षमता  नभएको महानिर्देशक मिश्रको ठहर  छ ।

रेल सञ्चालन गर्न उक्त कम्पनीलाई बलियो बनाउन प्रकृया अगडि बढाइएकाे छ । मिश्रको भनाई छ - सरकार आफैँले गर्दा खातालगायतका समस्या आउने हुँदा कम्पनीमार्फत सञ्चालनको तयारी भइरहेकाे छ ।

कम्पनी चलाउन २००  बढी जनशक्ति आवश्यक पर्छ । 

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन जनकपुर -जयनगरसम्मको  रेल कात्तिकसम्ममा सञ्चालन गर्ने लक्ष्य रहेको विभागले जनाएको छ ।

सरकारले भारत सरकारसँग दुई रेल सेट खरीद गर्ने  प्रक्रिया समेत  अघि बढाएको थियो । विभागका प्रवक्ता अमन चित्रकारले दुई महीनाभित्रमा रेल नेपाल आइपुग्ने बताउनुभयो । पहिलोचरणमा एउटा सेट मात्र आउनेछ । 

भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल खरीद गर्न लागिएको हो ।

डिजेल, इलेक्ट्रिक, मल्टिपल युनिट प्रविधिको सो सेटमा एउटामा पाँच डिब्बा रहने छ ।

दुई सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहनेछन् । यसको  यात्रु बहाक क्षमता एक हजार २०० सम्म रहने छ । प्रवक्त चित्रकारले भन्नुभयो, 'याे  क्षमताभन्दा एक/ दुई सय तलमाथि हुनसक्छ ।'

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण  भने भइसकेको छ ।

रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको उहाँको भनाइ थियो ।

यसमा कुर्थाबाट बिजलपुरा खण्ड १७ किलोमिटरसहित ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुने मन्त्रालयले जनाएको छ ।

गत महीनाको निरन्तर वर्षाका कारण कमला नदीको तटबन्ध बगाउँदा रेलमार्गमा क्षति पुगेको थियो ।

क्षति पुगेका ठाउँमा निर्माण कम्पनीले केही समयमा नै काम गरिसक्ने जनाइएको छ । प्रवक्ता चित्रकारले भन्नुभयो, 'हस्तान्तरण भइनसकेकाले भारतीय कम्पनीले नै काम गर्नेछ ।'

जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि भारत सरकासँग सन् २०१० मा सम्झौता भएको झण्डै एकवर्षपछि काम शुरु भएको थियो ।

भारतको सहयोगमा सीमाक्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण हुनलागेको चित्रकारले जानकारी दिनुभयो ।

तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु तीन स्थानमा निर्माणको काम शुरु हुनसकेको छैन ।

रेलमार्गतर्फ नै विराटनगरबाट बथनाहासम्म १८ किलोमिटर रेलमार्गमा १० किलोमिटरको काम सम्पन्न भएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ ।

१० किलोमिटर रेलमार्ग सञ्चालनका लागि तयार भइसकेको छ ।
 
सीमाक्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रहेका छन् । यी सबै रेलमार्ग भारत सरकारले नै निर्माण गर्ने गरी सम्झौता भएको समाचार राससमा सञ्चिता घिमिरेले लेख्नु भएकाे छ ।