एक करोड लगानीमा अर्ना र बाह्रसिंगेको  खोर  निर्माण गरि‌ंदै

एक करोड लगानीमा अर्ना र बाह्रसिंगेको  खोर  निर्माण गरि‌ंदै

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ ७, २०७६

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा हाल अर्ना र बाह्रसिङ्गे रहेको ठाउँकाे क्षेत्र विस्तार गरी वन्यजन्तु थप गर्ने तयारी  गरेकाे छ । 

 निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा विसं २०७३ मा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे ल्याउने तयरी  निकुञ्जले थालेकाे छ ।
 
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार खोर विस्तारका लागि निकुञ्ज विभागले  एक करोड बजेट विनियोजन समेत गरेको छ ।

हाल २२ हेक्टर जमीनमा विद्युतीय ‘पिसीसी मेस’ जालीसहितको तारबार गरेर अर्ना र बाह्रसिङ्गे राखिदै आएकाे छ । 

त्यकाे लागि थप २५ हेक्टर क्षेत्रफल विस्तार गरि गैँडालगायतका जनावरलाई वारपार गर्ने ठाउँ छाडेर कुन तरिकाले गर्दा उपयुक्त हुन्छ भन्ने अध्यन भइरहेकाे छ ।  
 
प्राविधिकहरुसँग परामर्श गरेर छिट्टै काम शुरु गर्ने तयारी निकुञ्जले थालेकाे छ ।  

ठाउँ विस्तार गरेपछि सङ्ख्या थप गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले ती जनावरलाई सधैँ खोरमा राख्न नसकिने भएकाले बथानमा छोड्न सङ्ख्या बढाउनुपर्ने बताउनुभयो । खोरमा हाल तीन बच्चासहित १३ अर्ना र एउटा बाह्रसिङ्गे रहेका छन् । 

सदर चिडियाखानाबाट तीन र कोशीटप्पुबाट १२ अर्ना ल्याइएको थियो । तीमध्ये पाँच मरेका छन् भने तीन बच्चा जन्मिएका छन् । हाल खोरमा दुई भाले र आठ पोथी रहेका छन् । शुक्लाफाँटाबाट सोही समयमा ल्याइएका सात बाह्रसिङ्गेमध्ये तीन मरेका र तीन बेपत्ता भएपछि एउटा मात्र खोरमा निकुञ्जले जनाएकाे छ । 

खड्काले खोर विस्तारसँगै थप अर्ना र बाह्रसिङ्गे ल्याइने  तयारी भइरहेकाे छ ।  २५/ ३० को हाराहारीमा पुगेपछि खोरबाट बाहिर छोड्दा बच्नसक्ने उहाँको भनाइ थियो । बाघको आक्रमणबाट बच्न बथानमा यो जनावर हिँड्ने गर्दछ । निकुञ्जले पहिलो चरणमा खोर विस्तार गर्नेछ भने त्यसपछि थप जनावर ल्याउन लागिएको हो ।
 
खोरभित्र घाँसेमैदान व्यवस्थापन, पानीका पोखरी निर्माण गरिनेछ । सँगै सुरक्षाका लागि निर्माण गरिएको मचान व्यवस्थित गरिने निकुञ्जले जनाएको छ । खोरभित्र अर्ना, बाह्रसिङ्गेसँगै मृग, बदेलजस्ता जनावर पनि रहेका छन् । निकुञ्ज सुरक्षार्थ सेना र कर्मचारीले नियमित सुरक्षा र निगरानी गरेर अर्ना र बाह्रसिङ्गे संरक्षण गरिएको छ ।