सीताराम नेपालका तीन लघुकथा

सीताराम नेपालका तीन  लघुकथा

सीताराम नेपाल  |  साहित्य  |  भदौ ७, २०७६

     ममता

  
'हाम्रा छोराछोरीले त बेलायत, अमेरिका, अस्ट्रेलिया गएर रजगज गरिरा'छन्, तिमीहरू जस्ता पामर हुन् र ?'

घरिघरि हामी नविदेशिने उनका छोराछोरीका दौँतरीलाई सुनाउथिन् पल्लाघरे आमा ।

तर आज उनी बाटोपट्टि फर्केर धुरुधुरु रोएकी मेरी बहिनीले आमाको मुख हेर्न माइत आउँदै गर्दा देखिछ र सोधी छे- 'किन रुनु भा' आमा, चाडबाडको दिनमा ? बिसन्चो भ'र हो ?' 

'हो नानी, हो ।' 

'के भो ? कहिलेदेखि बिरामी हुनु भो त नि ?', बहिनीले फेरि सोधी ।

'हिजोसम्म क्यै भा' थे'न के रे ! आज बिहानै रेडियो र टिभीको समाचार सुनेपछि अकस्मात बिरामी भएँ नानी म त । के भो के भो हेर त ?', पल्लाघरे आमाले बरर आँसु झार्दै भनिन् ।

भैँमा न भाँडामा हुने बूढीमाउको छचल्किएको ममता देखेपछि बहिनीले सोधिन्- 'अनि बिसन्चो भे'सि अस्पताल पो जानुपर्छ त नि ! विदेशमा पराक्रम गर्ने सन्तानका आमाले त र रोएर बस्ने हो र ?'

'मलाई डाक्टरले पत्ता लगाउन नसक्ने रोग लाग्या' छ क्या ! तँलाई देखेसि त झन् साह्रो पो भो त नि !'

हामी नविदेशिनेलाई हेपेर खिसी गर्ने बूढीमाउलाई आमाको मुख हेर्ने दिनले आँखा खोलेछ भन्ठानेर बहिनीले ममता ओडाइन्- 'एऽ आमा पनि ! म पनि त तपाईंकै छोरी हुम् केरे ! कोख मात्र फरक त हो नि !'
'तै भे'र त तँलाई देखेसि मैले छोरी सम्झेँ नि नानू, क्यारुम् त नि ?'

'लौ आमा, मलाई पनि तपाई‌को छोरीको याद बेस्सरी आइरा'छ । त्यो मोरी मेरो आँत मिल्ने साथीले चटक्कै बिर्सिहाली केरे ! नन्यास्रिईकन बस्नुस् ल ! मेरी आमाले पनि मेरो बाटोभरि आँखा बिछ्याइरा' होलिन्, म जान्छु ल ?' 

'एक फेर मेरो फेसबुकमा हेरिदे त नानू, न मेरी छोरीले फोन गर्न नभ्याएर ह्याप्पी मदर्स डे भनेकी छे कि ?' 

बहिनीले उनको फेसबुकमा उनकी छोरीको केही खबर नपाए पनि उनलाई झूट बोलेर ढाडस दिई- 'यी के त, रै'छ नि !'

'धन्यवाद नानू ! सबैका छोराछोरी यस्तै मनकारी भै' दे' कस्तो हुँदो हो त नि !'

ती आमाले मेरी बहिनीलाई फुर्क्याइन् ।
 

 

 आज उनको दिवस

 

बिहान ओछ्यानमै चिया पिउने बानी लागेको थियो मलाई ।

सधैँ उनले ताततातो चिया लिएर मेरो सिरक फ्याँक्न आउँथिन् ।

आज बिहान उनी मेरो सिरक फ्याँक्न त आइन् तर फरक पारा देखाइन् ।

सिरक फ्याँक्दै आदेश दिइन्- 'ए अल्छीको राजा ! कति सुतिरा' छौ ? सधैँभरि छिट्टै उठेर घरधन्दा गर्ने मेरो मात्र ठेक्का हो र ?  जाऊ, चिया पका'र लिएर आऊ । आज तिमीले पकाएको चिया पिउन मन लाग्यो क्या ! छिटो गर ल !'

आज यिनलाई के पारा छुटेछ भन्ठानेर आँखा मिच्दै भान्सातिर लागेँ । उनले टिभी खोलिछन् ।

मैले चिया लिई कोठामा आउँदा टिभीमा आज नारी दिवस धुमधामले मनाउने समाचार आइरहेको थियो ।

 

बयान


घर कहाँ हो ?

- जेल

जन्मस्थान कहाँ हो ?

- जेलको चिसो छिँडी

बाबुको नाम ?

- जेलर, नाइके, भाइ नाइके ...

आमा ?

- पहिलो महिला कैदी 

हैन, के भन्छ यो ?

- सत्य भनिरहेको छु हजुर !

अनि के काम गर्छस् ?

-चोरी, डकैती , लुटपाट हजुर !

किन त्यस्तो काम गरेको त ?

- सानैदेखि त्यही सिकेको हजुर जेलमा ।

अरू केही पाइनस् र त्यस्तो घटिया काम गर्छस् ?

- जेलमा सामूहिक बलात्कारबाट गर्भ रही जेलमै जन्मेर हुर्केकोलाई के घटिया के बढिया हजुर ! नानीदेखि लागेको बानी हजुर !

हजुर, धेरै अघि यही जेलको हाकिम हुनुहुन्थ्यो रे नि हो ?
...........................
केही बोल्नै सकेन जेलर ।