संसारमा कर्म नै एक मात्र बन्धन हो

संसारमा कर्म नै एक मात्र बन्धन हो

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  भदौ ७, २०७६

   चतुर्थोऽध्यायः
               
 इमं विवस्वते योगं प्रोक्तवानहमव्ययम् ।
विवस्वान् मनवे प्राह मनुरिक्ष्याकवेऽब्रवीत् ।। १ 

एवं परम्पराप्राप्तमिमं राजर्षयो विदुः ।
स कालेनेह महता योगो नष्टःपरन्तप ।। २ 

एवं = यसरी, परम्पराप्राप्तं = गुरुपरम्पराबाट प्राप्त, इमं = त्यस योगलाई, राजर्षयः = राजर्षिहरूले, विदुः = जाने, परन्तप = हे परन्तप ! सः = त्यो, योगः = योग, महता = धेरै, कालेन = समय वितेपछि, इह = यस मनुष्यलोकमा, नष्टः लुप्तप्राय भयो ।

भावार्थ – श्री भगवानले भन्नु भयो । यस अविनाशी अक्षय योग बारे मैले सूर्यलाई बताएको थिएँ, सूर्यले मनुलाई र मनुले इक्ष्वाकुलाई बताएका थिए । यसरी परम्परा प्राप्त त्यस योग बारे राजर्षिहरूले जानेका थिए । हे परन्तप ! यो योग पछि महत् कालको वशमा परेर संसारबाट लुप्त प्राय भयो ।

विशिष्टार्थ – द्वितीय, तृतीय अध्यायहरूमा सांख्ययोग र कर्मयोगको वर्णन गरियो । यी दुबैलाई निर्देश गरेर यस श्लोकमा  ”इमं योगं” भनेर व्यक्त गरिएको छ । सांख्ययोग अनुमानसिद्ध ज्ञान हो र कर्म योग अनुष्ठान सिद्ध ज्ञान हो । केवल अनुमान (ज्ञान) ले मात्र कार्य हुँदैन र केवल अनुष्ठान (कर्म) ले मात्र पनि कार्य हुँदैन । यी दुबै ज्ञान कर्मको समावेश (योग) हुनु पर्दछ । अतः अनुमान र अनुष्ठान एक भएपछि जुन ज्ञान हुन्छ त्यही यो ज्ञान योग द्वितीय र तृतीय अध्यायको सांख्य– कर्मको समष्टि ज्ञान हो । यस श्लोकको योग शब्दको अर्थ ज्ञान वा ज्ञान योग भन्ने सम्झनु पर्छ । यो ज्ञान यस चौथो अध्यायमा वर्णन गरिएको छ, त्यसैले यस अध्यायको नाम हो ज्ञान योग । ज्ञानयोग जुन सनातन–अव्यय, त्यही संझाउनका लागि यस श्लोकमा ज्ञानयोगको विस्तारक्रम देखाएर ज्ञानयोग कसरी लोप हुँदै गयो त्यसको कारण निर्देश गरिएको छ ।

योगक्रियाद्वारा जुन 'कोटिसूर्यप्रतीकाशं चन्द्रकोटिसुशीतलं' ज्योतिर्मण्डल देखिन्छ त्यही नै विवस्वान् (सविता) हो । स्वप्रकाशित उसको ज्योतिले विश्व प्रकाशित हुन्छ । त्यस सविताको उदय भएपछि त्यसमा चित्त स्थिर राख्नाले नै  'सवितृ मण्डल मध्यवर्ती नारायणः' गोलाकनाथ प्रत्यक्ष हुनुहुन्छ, उहां नै अहं–कूटस्थ चैतन्य श्रीकृष्ण हुनुहुन्छ । त्यस विवस्वान्बाट ज्ञान स्रोत (चिज्ज्योति प्रवाह) अधोमुखमा प्रवाहित भएर अन्तःकरणमा पुग्दछ । अन्तःकरण चित्त–अहंकार–बुद्धि– मन यी चार अंशमा विभक्त भए पनि सृष्टिमुखमा मन प्रधान भएर रहनाले एक अर्थमा यसलाई मन भनिएको छ अनि ब्रम्हमुखमा चित्त प्रधानरूपले सबै भन्दा पहिले रहँदा यसलाई चित्त नाम दिएर व्यक्त गरिएको छ । अन्तःकरणको सृष्टिमुखी वृत्ति वा मन नै मनु हो । ज्ञान स्रोत अन्तःकरणमा आइसकेपछि निश्चयात्मिका वृत्ति समुम्दूुत अन्तर्दृष्टि वा मानस नेत्र (प्रज्ञाचक्षु) प्रकाशित हुन्छ, अन्तर्जगत्लाई ईक्षण गर्ने त्यही मानस नेत्र वा प्रज्ञाचक्षु नै इक्ष्वाकु हो । अन्तरमा ज्ञान वा चैतन्यको उदय भएपछि बाहिर ज्ञानेन्द्रियहरूद्वारा त्यसको बोध उत्पन्न हुन्छ, यी ज्ञानेन्द्रिय सबै नै राजर्षिहरू हुन् । (पञ्चमहाभूतहरूको व्यष्टि सात्विकांशबाट सबै ज्ञानेन्द्रियहरू उत्पन्न हुनाले पनि यी सबैका क्रियाहरू रजोगुणका छन्, त्यसकारण यी सबै राजर्षि हुन् ।) ज्ञान वा ज्ञानयोगको विकास यसरी एकबाट अपरक्षेत्रमा प्रकाशित हुन्छ, यसबाट ज्ञान वा योग परम्परा प्राप्त छ अनि यसको फलको शेष हुँदैन, क्षय हुँदैन, क्रमशः अनन्त ब्रम्हमा मिलेर अनन्त हुन्छ, त्यसैले यो अव्यय हो । प्रवृत्ति–निवृत्ति, वासना–विराग भेदले काल दुई अंशमा विभक्त छ । ब्रम्हमुखी निवृत्तिमार्गमा कामस्रोत क्रमशः क्षीण भन्दा क्षीणतम अत्यन्त क्षीण हुँदै जानाले कालको महत्व रहदैन, सूक्ष्मत्व आउँछ । संसारमुखी प्रवृत्तिमार्गमा नै काल महत् हो, किन कि प्रवृत्तिद्वारा नै कालस्रोत अत्यधिक प्रबल हुन्छ । त्यसैले संसारलाई पनि महत् भनिएको हो । यसै अर्थले नै दोस्रो अध्यायको ४० सौं श्लोकमा 'महतो भयात्' भनिएको हो । त्यस्तै वैराग्यबाट मनको मैलो हटेर जानाले आत्म चैतन्य वा ज्ञानको विकास हुन्छ भने वासनाले मनमा विषयको मैलो पार्नाले ज्ञानको विनाश हुन्छ । संसारमा यो योगरूप आत्मज्ञान सृष्टिमुखी वासना वृत्तिद्वारानै नष्ट भएको छ, अर्थात् ढाकिएको छ, व्याधि, आघात र मानसिक आवेगले मस्तिष्क विकृत भएर जसरी स्मृति लोप हुन्छ, त्यसरी नै विषय वासना तथा असंयम (संभोग) ले बुद्धिवृत्ति विकृत हुनाले आत्मज्ञान लोप हुन्छ । अतः यो कुरा सबैले जान्न सक्दैनन् ।

सांख्ययोग अनुमानसिद्ध ज्ञान हो र कर्म योग अनुष्ठान सिद्ध ज्ञान हो । केवल अनुमान (ज्ञान) ले मात्र कार्य हुँदैन र केवल अनुष्ठान (कर्म) ले मात्र पनि कार्य हुँदैन । यी दुबै ज्ञान कर्मको समावेश (योग) हुनु पर्दछ ।

    स एवायं मया तेऽद्य योगः प्रोक्तः पुरातनः ।
    भक्तोऽसि मे सखा चेति रहस्यं ह्येतदुत्तमम् ।। ३ 

भावार्थ – तिमी मेरा भक्त तथा सखा हौ, त्यसकारण, पुरानो योग वारे आज मैले तिमीलाई बताएँ, किन कि यो उत्तम रहस्य हो ।

विशिष्टार्थ – आज साधक (अर्जुन) ले कर्मयोगको अवलम्बनद्वारा सविचार समाधि लाभ गरेर त्यही योगरूप आत्मज्ञानलाई प्रत्यक्ष र श्रुतिगोचर गर्दछन् । देख्छन्, तीन अवस्थाहरूको त्यो समावेश योगायोग हो, अतः यो गीतारूप आत्मज्ञानको प्रस्फुटन भएको छ । त्यो तीन अवस्था भनेको देश, काल तथा पात्रको समावेश हो ।

(१)   देश – धर्मक्षेत्र कुरुक्षेत्रमा दुई पक्षको मध्य स्थान । साधकले कर्मको आश्रय लिएर सुषुम्नाको भित्र  प्रवेश गर्न पाएका छन् । त्यसकारण त्यस देशको समावेश भएको छ ।


(२)    काल – अद्य अर्थात् युद्धको प्रथम दिन, युद्ध आरम्भ हुनु भन्दा ठीक पूर्व समयमा जब साधकले कूटस्थ चैतन्यको अगाडि स्थिर धीर भावमा रहेर प्रत्यक्ष गर्दछन् अनि सोही चैतन्य ज्योतिको प्रवाह सम्पूर्ण रूप वनेर साधकमा नै आएको छ ।

(३)    पात्र – साधकको भक्ति तथा सखाभाव । ईश्वर प्रति एकानुरक्तिको नाम भक्ति र समप्राणत्वको नाम सखा हो । आज साधकले  ”शिष्यस्ते ऽहं साधि मां त्वां प्रपन्नम्” भनेर सम्पूर्ण अभिमानलाई त्यागेर गुरुपदमा पूर्णरूपले आत्म समर्पण गरिसके । अतः आत्म चैतन्यमा उनको परअनुरागले प्रकाश पाएको छ, अतएव उनी भक्त हुन् तथा क्रियायोगमा निश्वास प्रश्वास सूक्ष्म सीधा र अध्यन्तरचारी भएर समान परिमित हुनाले अर्थात् प्राणमा समता (यानि निश्वास प्रश्वासको गति र परिणाम अत्यन्त कम र सूक्ष्म होस्, घटी बढी नहोस्, मन विना आयासले माकुरोको जालो सदृश अत्यन्त झिनो सुषुम्ना नाडीलाई ग्रहण गरेर विस्तारै विस्तारै तलमाथि गर्न सकोस्, शरीर तथा मनमा कुनै प्रकारको उद्वेग वा यातना नहोस् वरु एक अव्यक्त आनन्दको संचार भइरहोस्, त्यही नै प्राणको  समता अवस्था हो । क्रिया गरेर प्राप्त यो अवस्था आपैmले  संझने कुरा हो यसलाई संझाउन सकिदैन । ) आउनाले उनी सखा हुन् । साधक आज यी तीन अवस्थामा समावेश भएका छन् अतः साधकले यस ज्ञानलाई जान्न सक्दछन् ।  यो अवस्था नभएमा कदापि कसैले यसलाई जान्न सक्दैन । त्यसकारण यसलाई रहस्य भनिएको हो अर्थात् यो गुप्त साधारणको बोधले ढाकिएको छ । जसका मनका आवरणहरू खुलेका छन् त्यही भाग्यवान्ले यसलाई  यही पुरातन यही उत्तम हो भन्ने कुरा जान्यो जान्यो, किन कि यसैबाट माथिल्लो तमः अर्थात् ब्रम्हरन्ध्रमा कैवल्यस्थितिको प्राप्ति हुन्छ ।

      अर्जुन उवाच –

    अपरं भवतोजन्म परं जन्म विवस्वतः ।
    कथमेतद् विजानीयां त्वमादोै प्रोक्तवानिति ।। ४ ।।

भावार्थ – अर्जुनले भने – सूर्यको जन्म पहिले भएको थियो, तपाईको जन्म अहिले भएको छ, यो योग पहिले तपाईले सूर्यलाई भन्नु भएको थियो, यो मैले कसरी जानूँ ।

विशिष्टार्थ – क्रियाकालमा साधकले देख्दछ – चिदाकाशमा पहिले एक अनुपम ज्योतिर्मण्डल प्रकट हुन्छ । पछि त्यस मण्डलको भित्रबाट कल्पनातीत एक सुन्दर मनोहर विन्दुले क्रमैसंग बढ्दै गएर भुवन मोहन इष्टमूर्ति धारण गर्दछ । त्यो ज्योतिर्मण्डल नै विवस्वान् हो र त्यो इष्टमूर्ति नै कूटस्थ ब्रम्ह श्रीकृष्ण हुनुहुन्छ । अतएव देखिन्छ विवस्वान्को प्रादुभाव पहिले र कूटस्थ चैतन्यको प्रादुर्भाव (आविर्भाव) पछि भएको छ । अतः शुद्ध चैतन्यको ज्योति (ज्ञान स्रोत) पहिले नै विवस्थान्मा पर्दछ र पछि त्यसबाट कूटस्थ चैतन्यमा संचारित हुन्छ । साधकले यसरी प्रत्यक्ष गर्दछन्, किन्तु श्रुतिद्वारा अर्जुनले अर्कै कुरा जान्दछन्, त्यसकारण अर्जुनमा सन्देह उपस्थित हुन्छ । आत्मजिज्ञासामा उनी अनुसन्धान गर्दछन् – कूटस्थबाट विवस्वान्मा आत्मज्योतिको संचार हुन्छ, त्यो कसरी ?

श्री भगवानुवाच –

    बहूनि मे व्यतीतानि जन्मानि तव चार्जुन  ।
तान्यहं वेद सर्वाणि न त्वं वेत्थ परन्तप ।। ५ ।।


भावार्थ – भगवान् श्रीकृष्णले भन्नु भयो – हे परन्तप अर्जुन ! मेरा र तिम्रा धेरै जन्म वितिसके, म ती सबैलाई जान्दछु किन्तु तिमी जान्दैनौ ।

विशिष्टार्थ – नाम रूपात्मक आवरणभित्र चैतन्यको प्रवेशको नाम जन्म हो । जे जति आवरण छन् ती सबै प्रकृतिका हुन् । प्रकृति (अव्यक्त) – महत्, आत्मा (अहंकार), बुद्धि, मन, तन्मात्रा, इन्द्रिय इत्यादि रूप २४ तत्वमा विभक्त छ । यिनीहरू प्रत्येक  नै एक एक आवरण हुन् । प्रकृति पुरुषको विच्छेदको अवकाश नै अव्यक्त हो, यो अव्यक्त नै चिदाकाश हो । यही नै प्राकृतिक स्फुरणको वीज स्वरूप हो अर्थात् प्राकृतिक पदार्थको सृष्टि, स्थिति, नाशको मूल उपादान हो । त्यसैले यसलाई मूलप्रकृति भन्दछन् । यस चिदाकाशमा महत् वा चित्त संक्रम स्थलमा चैतन्यको ज्योति प्रतिफलित हुन्छ । यो प्रतिफलित ज्योति नै चिज्ज्योति वा विवस्वान् हो । यो पहिलो माया विकास हुनाले यसलाई आदित्य भन्दछन् । पछि विकार मिश्रण भएर विवास्वान्बाट महत् तत्व अर्थात् चित्त उत्पन्न हुन्छ । महत् नै मनु वा मन अर्थात् सृष्टिमुखी अन्तःकरण हो । विवस्वान्बाट उत्पन्न भएको हुनाले यो वैवस्वत हो । चित्तको बाहिर तिर जुन स्थानमा चैतन्य ज्योति प्रतिफलित भएर विवस्वान् भयो त्यसै स्थानलाई सम सूत्रपातमा अव्यक्त र चित्तको संयोग स्थललाई कूट भन्दछन् । कूट एक अन्तर्वाही मायिक प्रवाह चक्र स्वरूप छ । यो कूटको क्रिया अनि विचित्र छ । यो एउटा तातेको तावा जस्तै हो । अग्निको ताप शक्ति तावामा प्रवेश गरेर तावाले अग्निको रूप लिन्छ अनि त्यस तावामा धानको स्पर्श हुँदा त्यस धानमा भएको रसको बन्धन खुल्छ रसांश वाष्प भएर उडेर जान्छ, भूस अलग हुन्छ र चामल फुरेर लावा बन्छ ।

प्रकृति पुरुषको विच्छेदको अवकाश नै अव्यक्त हो, यो अव्यक्त नै चिदाकाश हो । यही नै प्राकृतिक स्फुरणको वीज स्वरूप हो अर्थात् प्राकृतिक पदार्थको सृष्टि, स्थिति, नाशको मूल उपादान हो ।

ठीक त्यसरी नै कूटमा चैतन्य सत्वा प्रवेश गर्दा कूटले त्यस समयको अवस्था जस्तै आकार धारण गर्छ र साधकको मनले त्यस कूटमा आएर स्पर्श गर्दा मनका कर्म बन्धन खुल्दछन् र कर्म उड्छन्, विषयको आवरण अलग हुन्छ, मन स्वयं रूपान्तरित भएर शुद्ध चैतन्य सत्वाको रूप धारण गर्दछ । त्यसै कूटमा चैतन्य प्रतिफलित भएर नाना विध रूप धारण गर्दछ । यो कूटस्थ चैतन्य नै ईश्वर साधकका इष्टदेव हुनुहुन्छ । उहां साधकको मन लायक हरेक रूपमा आविर्भूत भएर हित साधन गर्नुहुन्छ । शास्त्रले पनि भनेको छ –”साधकानां हितार्थाय ब्रम्हणोरूपकल्पना” । यही ईश्वरसम्म मात्र आत्मा वा चैतन्य ”अहं” नामबाट अभिहित हुन्छ । महतत्व वा चित्तबाट आत्मा या अहंकारको उत्पत्ति, अहंकारबाट बुद्धि, बुद्धिबाट मन इत्यादि प्रकारबाट वैकारिक क्रियाद्वारा प्राकृतिक विलासको बृद्धि हुन्छ । यी सबै भित्र नै चैतन्य सत्ताले प्रवेश गरेर सबैलाई चेतनामय बनाउंदछ । यो मन, बुद्धि, अहंकारको मध्यस्थ चैतन्य मन, बुद्धि, अहंकार भेद विविध भावापन्न हुनाले पनि यसको समष्टि नाम जीव हो । जीव – जीव जगत्मा जीवलाई चेतनाशक्तिका अल्पाधिक परिमाण अनुसार चार अंशमा विभाग गर्न सकिन्छ, जस्तो – (१) संकुचित चेतन=स्थावर, (२) मुकुलित चेतन= उद्भिज, वृक्षादि, (३) विकशित चेतन= स्वेदज, अण्डज एवं जरायुज (मनुष्य वाहेक), (४)  पूर्ण विकशित चेतन= मनुष्य । अन्तःकरणका मन, बुद्धि, अहंकार तथा चित्त यी चार क्षेत्रमा चेतनाशक्तिका विभिन्न प्रकारको विकाश अनुसार मनुष्यको पनि विभाग गरिएको छ । जस्तो (१) ब्राम्हण जसको चेतना शक्ति मन,बुद्धि, अहंकार तथा चित्तको सबैतिर विकशित छ, (२) क्षेत्रिय – जसको चेतना शक्ति मन, बुद्धि र अहंकार यी तीन क्षेत्रमा विकशित छ, (३) बैश्य – जसको चेतना शक्ति मन र बुद्धि  यी दुई क्षेत्रमा विकशित छ र (४) शूद्र जसको चेतना शक्ति केवल मात्र मनमा विकशित छ । अन्तःकरणका यी चार क्षेत्रको गठनको सौष्ठवता तथा प्रतिफलन शक्तिको उत्कर्षको तारतम्य अनुसार यी चार श्रेणीका मनुष्यहरू पनि फेरि उत्तम, मध्यम र अधम गरी तीन प्रकारका हुन्छन् । यो जीव नै ”त्वं” नामले अभिहित छ । यो अहंकार (आत्म सत्ताको बोध) सम्पन्न हुनाले असर्वज्ञ (स्वल्पज्ञ) छ र ईश्वर अहंकार रहित हुनाले सर्वज्ञ छ । यी जीव र ईश्वरका ठीक वीचमा  (चित्तको बाहिर तिर जुन प्रकारको स्थानमा विवश्वान् छन् भित्रपटिृ ठीक त्यस्तै प्रकारको स्थानमा) एक मन्द उज्ज्वल मण्डलले प्रकाश पाउंछ, यसैलाई चन्द्र मण्डल भन्दछन् । त्यस चन्द्र मण्डललाई भेदन गरेपछि कूटले प्रकाश पाउंछ, कूट भेद गर्नाले ईश्वर, ईश्वरमा लय भएपछि विवस्वान्, त्यसपछि अव्यक्त, यसपछि पुरुष, यसरी नै साधनाको क्रम जान ।

पूर्वोक्त प्रकारको विविध आचरण भेदले नै  'अहं' अर्थात् शिव चैतन्य तथा  'त्वं' अर्थात् जीव चैतन्यको बहु जन्मको कल्पना भएको छ । चैतन्य सत्ता जुन विविध आवरणमा विविध भावमा प्रकाशित छ त्यो शिवभावको निकट नै प्रत्यक्ष हुन्छ, जीवभावको निकट हुँदैन, किन कि साधक जबसम्म जीव चैत्यन्यमा रहन्छ तबसम्म उसको विषय विकृत  'अहं ' भाव रहिरहन्छ, जब ऊ शिव चैतन्यमा पुग्दछ, तब उसको अहं भाव विशुद्ध हुन्छ । यस विशुद्ध अहंभावमा नै विश्व प्रति फलित हुन्छ, विकृत अहं भावमा हुँदैन । त्यसैले भनिएको छ – ”अहं वेद त्वं न वेत्थ” ।

भगवान् श्रीकृष्णले अर्जुनलाई  'अर्जुन' र 'परन्तप' यी दुई शब्दमा सम्बोधन गरेर सुन्दर रूपले अर्जुनलाई त्यस समयको अवस्थाको लक्ष्य बोध गराइदिनुभएको छ । अर्जुन – अ+रज्जु+न अर्थात् जो बन्धन मुक्त छैन । संसारमा कर्म नै एक मात्र बन्धन हो । यो कर्म दुई प्रकारको छ – सुकर्म र कुकर्म । आत्मा नै सु अर्थात् सुन्दर  र अनात्म पदार्थ नै कु अर्थात् मन्द या खराब हो । (महाभारतमा लेखिएको छ अर्जुनले पृथ्वीमा केवल सुकर्म गरेका थिए त्यसैले उनको नाम अर्जुन भएको थियो ।)  'तदर्थीय' कर्म नै साधकको सुकर्म हो । वृत्ति आत्ममुखी हुनाले पनि  कर्म जीव र ईश्वरका वीचमा आवरण स्वरूप रहेर त्यस कर्मको शेष नहुँदासम्म जीव अल्पज्ञ रहन्छ सर्वज्ञ हुन सक्दैनन् । त्यो सुकर्म रूप आवरण शक्ति विशिष्ठ जीव नै अर्जुन हो ।

परन्तप – पर अर्थात् प्रकृति जसद्वारा तापित हुन्छ त्यही परन्तप हो । साधकको मनमा पहिले 'आत्मा' नै  'म' प्रकृति  'म' हैन यस प्रकारको ज्ञान रहनाले द्वेतभाव प्रबल रहन्छ, त्यसकारण प्रकृतित्व त्याग गर्ने इच्छा रहन्छ । त्यस त्यागेच्छारूप विशेष शक्ति सम्पन्न जीव नै परन्तप हो ।

    अजोऽपि सन्नव्ययात्मा भूतानामीश्वरोऽपि सन् ।
    प्रकृतिं स्वामधिष्ठाय सम्भवाम्यात्ममायया ।। ६

क्रमशः

याे पिन

आत्माराम हुनु नै परमपुरुषार्थ हो

आत्मामा मन रहनु जागरण हो

'सत्' ज्ञान स्वरूप 'चित्' र सुखस्वरूप 'आनन्द' हो

ज्ञान र कामना परस्पर विरोधी हुन्

आत्मा मन अनि बुद्धिभन्दा पनि श्रेष्ठ