सिर्जनाले पहिचान बनाएका प्रशासक दिनेश अधिकारी

सिर्जनाले पहिचान बनाएका प्रशासक दिनेश अधिकारी

घनेन्द्र ओझा  |  अन्तर्मन्थन  |  भदौ ७, २०७६

‘यो सम्झिने मन छ, म बिर्सूं कसोरी ?’ होस् वा ‘तिमी जुन रहले, ममा फुल्न आयौ’ अथवा ‘तिमी यसै लजायौ, म उसै धकाएँ’ गीत नै होस्, यी गीत नसुनेका र यी गीत मन नपराउने नेपाली सायदै होलान् । नेपाली संगीतको ०३० को दशकको अन्त्यतिर रेकर्ड भएर हालसम्म पनि चर्चित र कर्णप्रिय बनेका यी र यस्तै कालजयी गीतका सर्जक हुनुहुन्छ– दिनेश अधिकारी (६०) ।

काठमाडौंमा जन्मिएर तराईको सर्लाहीमा हुर्किएका दिनेश अधिकारी नेपाली साहित्यका विशेषगरी कविता र गीतका फाँटमा निकै लोकप्रिय स्रष्टा हुनुहुन्छ । नेपालकै ठूलो र गरिमामय पुरस्कार मदन पुरस्कारदेखि दर्जनौँको संख्यामा अन्य पुरस्कार र सम्मान प्राप्त गरिसक्नुभएका अधिकारी आफूलाई कवि÷गीतकारका रूपमा मात्र प्रस्तुत गर्न रुचाउनुहुन्छ । ‘कविता र गीतबाहेकका विधामा हात नै चलेन’, अधिकारी भन्नुहुन्छ, ‘मेरो त जीवन नै कविता र गीत हो जस्तो लाग्छ ।’

हुन पनि अधिकारीले आजसम्म ५०० बढी गीत रेकर्ड गराइसक्नुभएको छ भने कति गीत लेखियो भन्ने उहाँलाई नै सायदै हेक्का होला । उहाँका नेपाली, हिन्दी र अंग्रेजी भाषामा झण्डै एक दर्जन कवितासंग्रह प्रकाशित छन् भने तीनवटा गीतसंग्रह बजारमा आइसकेका छन् ।

यस पटक लोकसंवाद डटकमले लोकप्रिय कवि तथा गीतकार दिनेश अधिकारीको जीवनयात्रा र सिर्जनायात्राबारे खोतल्ने प्रयास गरेका छौँ ।

जन्म, शिक्षा र बाल्यकाल

दिनेश अधिकारीको पुख्र्यौली थातथलो ओखलढुंगा हो । त्यहाँबाट उहाँका बुबा जागिरका क्रममा राजधानी काठमाडौं आएर बस्न थालेपछि यतै वि. सं. २०१६ मा दिनेशको जन्म भएको हो । काठमाडौंको बानेश्वरमा जन्मिनुभएका दिनेश पछि बुबाले काठमाडौंको घर बेचेर तराईको सर्लाही गएपछि उतै जानुभयो । आमाले तराईमै बस्ने मन गरेपछि उहाँको बसाइ पनि तराईमै हुनु स्वाभाविक हो । 

काठमाडौंको धुम्बाराहीमा रहेको एक विद्यालयमा कक्षा ३ सम्म पढ्नुभयो उहाँले । त्यसबेला विद्यालय गुरुकुल जस्तै थियो । भन्नुहुन्छ, ‘एउटा पाटी थियो । आठ, दश जना ठिटा सुकुल बोकेर पढ्न जान्थ्यौँ ।’

धुम्बाराहीमा अक्षर चिन्नुभएका अधिकारी कक्षा ३ देखि सर्लहीको हरिऔनमा पढ्न थाल्नुभयो । ऊबेलाको महादेव जनता प्राविमा पढ्नुभयो उहाँले ।

त्यहाँ ३ र ४ कक्षा पढ्नुभएका अधिकारीले ५ कक्षा पढ्नुभएन । उहाँ मेधावी छात्र हुनुहुन्थ्यो रे ! ४ कक्षामा पढ्दा नै ५ कक्षाका साथीहरूलाई पढाउनुहुन्थ्यो रे ! 

ऊबेला सर्लाही जिल्लाभर जम्मा सातवटा हाईस्कुल रहेछन् । हरिऔनमा वि. सं. २०२८ मा चतुर्भुजेश्वर जनता मावि स्थापना भएछ । त्यही स्कुलमा उहाँ र अर्का एक जनालाई ४ कक्षाबाट सोझै ६ कक्षामा भर्ना लिइएछ । ‘हाम्रो मेधावी क्षमता देखेर होला, पुरानो स्कुलले नै ६ कक्षामा भर्ना गर्न सफिारिस गरेको थियो’, अधिकारी भन्नुहुन्छ । 

कक्षा ६ र ७ त्यहाँ पढेपछि अधिकारी पुनः काठमाडौं आउनुभयो । नन्दी रात्रि माविमा कक्षा ८ पढेपछि पुनः सर्लाही नै फर्किएर चतुर्भुजेश्वरबाटै एसएलसी दिनुभयो– २०३२ सालमा । 

एसएसलीपछिको उच्चशिक्षा अध्ययनका लागि उहाँकै पालादेखि सरकारले प्रवेश परीक्षा लिन थाल्यो । विद्यार्थीको रुचि र इच्छाअनुसारका विषय पढ्न नपाइने भयो । के पढ्न पाउने भन्ने कुराको निर्णय प्रवेश परीक्षाको परिणामका आधारमा हुने भयो । 

अधिकारीको पहिलो रोजाइ चिकित्साशास्त्र थियो, त्यसपछि वन र तेस्रोमा मानविकी । वन विज्ञान काठमाडौंमा पढाइ नहुने भनेपछि उहाँले कमर्शमा फारम भर्नुभयो तर उहाँको रुचि कमर्श थिएन ।
आफ्नो रुचि नै नभएको विषय पढ्नुपर्ने अवस्था आयो । उहाँ सरस्वती क्याम्पस गएर क्याम्पस प्रमुखलाई आफूलाई कमर्श पढ्न रुचि नभएको र आर्ट्स पढ्न चाहेको बताउनुभयो तर क्याम्पस प्रमुखले आर्ट्समा भर्ना लिन मानेनन् । ‘मेरो आफ्नै भतिजको त मैले फरक फ्याकल्टीमा भर्ना लिइनँ, तिम्रो हुँदैन भन्नुभयो’, अधिकारीले स्मरण गर्नुभयो ।

त्यसपछि एक वर्ष अधिकारीले पढ्नुभएन । २०३४ सालमा नेपाल ल क्याम्पसमा कानुनमा भर्ना हुनुभयो र २०४० सालमा कानुनमा स्नातक (बीएल) पूरा गर्नुभयो । बीचमै जागिरतिर लाग्नुभएका अधिकारीले २०४५ सालमा मात्र राजनीतिशास्त्रमा स्नातकोत्तर (एमए) गर्नुभयो ।

जागिरकै क्रममा अन्तर्राष्ट्रिय कानुन पढ्न अधिकारी तत्कालीन सोभियत संघ जानुभयो– सन् १९९१ तिर । एमए पढ्न भनेर जानुभएका अधिकारीले त्यहाँ सोझै पीएचडी अध्ययनका लागि अनुमति पाउनुभयो । दुर्भाग्य ! उहाँको एड्मिसन त भयो तर पढ्न पाउनुभएन । त्यहीबेला सोभियत संघ विघटनको संघारमा पुग्यो । भाषा सिक्दासिक्दै सोभियत संघ विघटन भयो । केही महिनापछि त्यहाँ बस्न सक्ने अवस्थै रहेन । ‘यति समस्या आइपर्‍यो कि कुनै पनि चिज किनेर खानसक्ने अवस्था रहेन’, अधिकारी भन्नुहुन्छ, ‘त्यसबेलाको सोभियत संघको अवस्था सम्झँदा नै दिक्क लाग्छ ।’ आर्थिक मन्दी र सामान अभावले कति दिन भोकभोकै बस्नुपर्ने अवस्था आएको उहाँ स्मरण गर्नुहुन्छ । ‘त्यसपछि पीएचडी हापेर स्वदेश फर्किएँ’, अधिकारीको भनाइ छ ।

जागिरः नासुदेखि सचिवसम्म

सन्दर्भ २०३८ सालको । अधिकारी आईएल सकेर बीएल पढ्दै हुनुहुन्थ्यो । कलेज बिहान पढाइ हुन्थ्यो । साथीहरूले भने, ‘लोकसेवा खुलेको छ, दिऔँ ।’ १२ जना नासु मागेको रहेछ । उहाँले पनि साथीको लहैलहैमा लोकसेवा दिनुभयो । लिखितमा पास ।

अन्तर्वार्ता सिंहदरबारमा हुनेरहेछ त्यसबेला । अन्तर्वार्ताकै क्रममा आफ्नो प्राथमिकता कुन मन्त्रालयमा ? भनेर पनि उल्लेख गर्नुपर्ने रहेछ । उहाँले काठमाडौंबाहिर कार्यालय नभएको मन्त्रालय रोज्नुभएछ– रक्षा मन्त्रालय । ‘मलाई पढ्नु थियो । पढ्नका लागि काठमाडौं नै बस्नुपर्ने थियो’, अधिकारी भन्नुहुन्छ, ‘यही भएर रक्षा मन्त्रालय रोजेँ ।’

उहाँलाई सैनिक मुख्यालयअन्तर्गत शाही नेपाली सैनिक वायुसेवामा पठाइयो । उहाँको बसाइ थियो घट्टेकुलो, अफिस एयरपोर्ट । अधिकारी कविता÷गीत लेख्ने, नाटक गर्ने गर्नुहुन्थ्यो । साहित्य र नाटकमा व्यस्त हुनुपर्ने अवस्था थियो एकातिर भने अर्कातिर जागिरको सवाल ।

उहाँका एक जना सुवेदार मित्र रहेछन् । भन्नुभएछ, ‘मलाई गाह्रो हुने भयो, के गर्ने होला ?’

सुवेदारले भनेछन्, ‘म मिलाउँछु, तपाईं लेखन र नाटकमा लागिरहनुस् ।’

संयोग कस्तो परेछ भने, २०३८ सालमै भएको राष्ट्रिय कविता महोत्सवमा अधिकारी दोस्रो हुनुभएको रहेछ । उक्त प्रतियोगिताका विजयीलाई राजा वीरेन्द्रबाट पुरस्कार र तक्मा दिएको फोटो द राइजिङ नेपाल र गोरखापत्र दुवैमा छापिएको रहेछ । 

अधिकारीले सिधै प्रधानसेनापतिलाई चिठी लेख्नुभएछ, ‘म कवि हुँ, ल क्याम्पसमा पढ्छु । जागिरले पढाइमा अप्ठ्यारो पार्‍यो’ भनेर । चिठीका साथमा गोरखापत्र र राइजिङ नेपालमा छापिएका राजाबाट तक्मा लिइरहेको फोटो पनि पठाउनुभएछ ।

साथीहरूले ‘यो जागिर जाने कुरा हो’ भनेछन् । ‘हाइरार्की नाघिस्, अब अप्ठ्यारो पर्छ भन्नुभयो साथीहरूले’, अधिकारी भन्नुहुन्छ, ‘तर १० दिनपछि नै सरुवाको चिठी आयो ।’

अधिकारीलाई पठाइयो राष्ट्रिय सेवा दलमा, जहाँ विद्यार्थीलाई तालिम दिइन्थ्यो । आफ्नो सिर्जनशीलता र अध्ययन दुवैलाई सहज हुने भयो अब । उहाँलाई तीनवटा जिम्मेवारी तोकियो– सैनिकबाट प्रकाशन हुने ‘सिपाही’ पत्रिकाका सम्पादकलाई सहयोग गर्ने र रेडियो नेपालबाट प्रसारण हुने ‘शाही नेपाली सैनिक’ कार्यक्रमका सामग्री हेर्ने अनि ‘रासेद’ पत्रिकालाई पनि सहयोग गर्ने । पछि अधिकारी सोही पत्रिकाको सम्पादक पनि बन्नुभयो ।

केही समय त्यहाँ बसेपछि अधिकारीलाई लाग्यो– ‘सैनिकमा बसेर खासै उन्नति प्रगति हुँदैन ।’ साहित्यकार परशु प्रधान सूचना विभागमा महानिर्देशक हुनुहुन्थ्यो । साहित्यिक नाता थियो अधिकारीको प्रधानसँग । अग्रज स्रष्टा भएकाले प्रधानले अधिकारीलाई माया गर्नुहुन्थ्यो । २०४० सालमा प्रधानसँग सरुवा मागेर सूचना विभाग आउनुभयो अधिकारी । उहाँले त्यहाँ विभिन्न किताबका भाषा, शुद्धाशुद्धि हेर्नुपर्ने भयो । एक पटक सानो गल्ती भएछ शुद्धाशुद्धिमा । नायव महानिर्देशकले थर्काएछन् । ‘मैले मेरो कानुन विषय हो, भाषा शुद्धाशुद्धि मेरो विषय होइन भनेँ’, अधिकारी भन्नुहुन्छ, ‘त्यसपछि म त्यहाँ बस्न चाहिनँ ।’

उहाँ त्यसपछि हुलाकमा जानुभयो । हुलाकमा पढेका र सक्रिय हुन चाहने अनि क्षमतावानहरू जाँदैनन् भन्ने मानसिकता थियो ऊबेला । 

संयोग नै भयो– त्यहीबेला लोकसेवाले अधिकृत माग्यो । अधिकृतमा पास भएपछि सरकारी वकिलका रूपमा जागिर सुरु भयो अधिकारीको । ‘अहिले सुन्दा पनि ऐतिहासिक नाम छ’, अधिकारी भन्नुहुन्छ, ‘सहायक सरकारी अभिवक्ता तथा सहायक सरकारी अभियोक्ता (ससअतथाससअ) पद थियो त्यो ।’ अहिलेको जिल्ला न्यायाधिवक्ता सरहको रहेछ त्यो पद ।

सरकारी वकिलका रूपमा अधिकारी धेरै जिल्लाहरूमा रहनुभयो । २०४९ सालमा उपसचिवमा बढुवा हुनुभयो र त्यसको ५ वर्षपछि २०५४ सालमा सहसचिवस्तरको सरकारी वकिल । २०५० देखि २०६० सम्म उहाँ सरकारी वकिलका रूपमा रहनुभयो । 

२०५४ मै सहन्यायाधिवक्ता बन्नुभएका अधिकारीलाई जिल्ला न्यायाधीश बन्ने इच्छा जाग्यो । संयोग पनि त्यस्तै पर्‍यो– त्यहीबेला ३० जना जिल्ला न्यायाधीश नियुक्ति गर्नुपर्ने भयो । कार्यसम्पादन, ज्येष्ठता र मुख्यन्यायाधीशले गोप्य प्रतिवेदन प्रधानन्यायाधीशलाई पठाउने चलन थियो । उपसचिव भएको ४ वर्षपछि जिल्ला न्यायाधीश हुन पाउने व्यवस्था पनि थियो । त्यसबेला प्रधानन्यायाधीश हुनुहुन्थ्यो त्रिलोकप्रताप राणा । राणाले पनि अधिकारीलाई भन्नुभएछ– ‘तपाईं राम्रो अधिकृत हो ।’

चाहिएको ३० जना जिल्ला न्यायाधीश । अधिकारी १० जनाभित्र पर्नुहुनेरहेछ । यही कुरा उहाँले प्रधानन्यायाधीशलाई भन्नुभएछ । प्रधानन्यायाधीश राणाले पनि ‘तपाईंको राम्रो छ, भइहाल्छ’ भन्नुभएछ । अधिकारी पनि आशावादी भएर बस्नुभएछ । तर, उहाँ जिल्ला न्यायाधीशमा पर्नुभएन ।

‘मन ज्यादै अमिलो भयो त्यसबेला’, आफ्नो इच्छा पूरा नहुँदाको क्षण सम्झनुहुन्छ अधिकारी, ‘तर भोलिपल्टै सहन्यायाधिवक्तामा नाम निस्कियो र मन थामेँ ।’

गृहसचिव र आईजीपीसँगको त्यो वयान

काठमाडौंको सीडीओ टोलमा भारतीय प्रहरी आएर छापा मारेछन् । अधिकारीलाई उक्त घटनाबारे छानबिन गर्न अनुसन्धानमा खटाइएछ । अनुसन्धानका क्रममा दुई जना तत्कालीन विशिष्ट व्यक्तिको वयान लिनुपर्ने भएछ– तत्कालीन गृहसचिव भोजराज पोखरेल र प्रहरी महानिरीक्षक मोतीलाल बोहोराको । त्यसबेलाका जल्दाबल्दा त्यसमाथि गृहसचिव पोखरेलको वयान लिनु चानचुने थिएन अधिकारीलाई । तर उहाँले दुवै जनाको वयान लिनुभएछ । पोखरेललाई निकै कठोर र प्रभावशाली प्रश्नहरू गरेपछि पोखरेल अधिकारीसँग प्रभावित हुनुभएछ । वयानपछि एउटा सन्दर्भमा सचिव पोखरेलले अधिकारीको प्रशंसा गर्दै भन्नुभएछ, ‘आयोगमा दिनेश भन्ने इमान्दार मान्छे छन् ।’ यही कुरा अधिकारीका दाजु पत्रकार ध्रुवहरि अधिकारीले सुन्नुभएछ ।

सेवा परिवर्तन

उपसचिव हुँदै गृहसचिव भोजराज पोखरेलले अधिकारीलाई सीडीओ बन्न प्रस्ताव गर्नुभएछ । अधिकारीले न्याय सेवा छाडेर अन्त नजाने सोच बनाउनुभएछ । भन्नुभएछ, ‘सेवा परिवर्तन गरेर सहसचिव हुन समय लाग्छ ।’ अख्तियारमा त्यसबेला सूर्यनाथ उपाध्याय प्रमुख आयुक्त हुनुहन्थ्यो । उहाँले पनि अधिकारीलाई न्याय सेवा छाडेर प्रशासनमा जान सुझाव दिनुभएछ । ‘मलाई जिल्ला न्यायाधीश हुन नपाएको झोँक बाँकी नै थियो’, अधिकारी भन्नुहुन्छ, ‘अर्कातर्फ राजधानीमै बसिरहँदा साहित्यिक जीवन पनि राम्रो हुने, त्यही भएर सेवा परिवर्तनको सोच बनाएँ ।’ तर, सेवा परिवर्तन निकै गाह्रो थियो । 

न्याय सेवा आयोगले स्वीकृति दिएपछि मन्त्रिपरिषद्मा लानुपथ्र्यो । लोकसेवा आयोगले भने स्वीकृति मात्र दिए पुग्थ्यो । अधिकारीलाई तनाव ! उहाँकै पालामा लोकसेवाले परीक्षा लिने भयो । दुईवटा पत्र दिनुपर्ने भयो उहाँले । उहाँले परीक्षा अन्य खुलाकासँगै दिनुभयो । ‘परीक्षा तयारीका लागि दुई महिना बिदा नै लिनुप¥यो’, अधिकारी भन्नुहुन्छ । २०६१ सालबाट अधिकारी न्याय सेवाबाट प्रशासनमा आउनुभयो । 

उहाँ सहसचिव भएको पाँच वर्षमा सचिव हुनुपर्ने थियो । बढुवा समिति संयोजक उर्मिला श्रेष्ठ हुनुहुन्थ्यो । श्रेष्ठले ‘भर्खरै सेवा परिवर्तन गरेर आएकाले बढुवा नगर्ने’ भन्ने सिफारिस गर्नुभएछ । पहिलोचोटिलाई अधिकारीले चित्त बुझाउनुभएछ । दोस्रोचोटि पनि उहाँको नाम बढुवामा परेन । यसपछि भने झोँक चलेछ अधिकारीलाई । भन्नुभएछ, ‘न्याय दिन नसके किन लोकसेवाको सदस्यले बढुवा समितिको अध्यक्षता गर्ने ?’ जवाफमा भनिएछ, ‘बिर्सिइएछ ।’

त्यहीबीच न्याय सेवाकै अन्य दुई जनाले सेवा परिवर्तन गर्ने कुरा आएछ । प्रशासन सेवाका सचिवको लाइनमा रहेकाहरूमा खल्लीबल्ली मच्चिएछ– अब सिनियरहरू न्याय सेवाबाट प्रशासनमा आएपछि उनीहरूको बढुवामा धक्का लाग्ने भयो । त्यसपछि निजामती सेवा ऐन नै संशोधन गरेर सेवा परिवर्तनको ५ वर्षपछि मात्र सचिव हुनपाउने व्यवस्था गरिएछ । ‘दुईमध्ये एक जना लिखितमै फेल भए, अर्का एक जनाले अन्तर्वार्ता नै दिएनन्’, अधिकारी भन्नुहुन्छ, ‘अन्ततः अन्यायमा चाहिँ म परेँ ।’

आफू अन्यायमा परेको महसुस भएपछि अधिकारी जानुभएछ तत्कालीन मुख्यसचिव डा. भोजराज घिमिरेकहाँ । भन्नुभएछ, ‘म पछिल्लो व्यवस्थाका कारण अन्यायमा परेँ सर !’ मुख्यसचिव घिमिरेले आफूले कार्यसम्पादन नभराएकाले बढुवा दिन नमिल्ने बताएपछि अधिकारी निराश बन्नुभएछ । पछि २०६६ सालमा २२ जना सचिवमा बढुवा हुँदा अधिकारी एक नम्बरमा पर्नुभयो ।

२०७१ मा अवकास हुनुभएका अधिकारी अहिले साहित्यलेखनमा क्रियाशील भएर रिटायर्ड जीवन बिताइरहनुभएको छ ।

साहित्ययात्रा

अधिकारीको औपचारिक साहित्ययात्रा विक्रमको ०३० को दशकबाट भएको हो । स्कुल पढ्दै कविता लेख्ने गरेको उहाँको भनाइ छ । उहाँका बुबा पनि साहित्य र लेखनमा रुचि राख्ने भएकाले अधिकारीमा पनि त्यही गुण सरेको हुनसक्ने उहाँको भनाइ छ । पत्रकार ध्रुवहरि अधिकारी पनि लेखनमै संलग्न हुनु दिनेशका लागि अर्को सहयोगी पक्ष थियो ।

०३० को दशकमै महोत्तरीको मटिहानीमा रहेको संस्कृत क्याम्पस पढ्ने केही अग्रज र साथीहरूले त्यहाँबाट प्रकाशन हुने पत्रिका लिएर गाउँ आउँथे । त्यो पत्रिका देख्दा अधिकारीलाई पनि त्यस्तै पत्रिकामा आफ्ना कविता छपाउने लोभ जाग्थ्यो । यो ०३०–०३१ सालतिरको कुरा हो ।

अधिकारी सर्लाहीको हरिऔनमा रहेको चतुर्भुजेश्वर माविमा पढ्नुहुन्थ्यो । त्यही स्कुलबाट एउटा साहित्यिक पत्रिका प्रकाशन गर्ने कुरा भयो । तर, आर्थिक स्रोतको टुङ्गो थिएन ।

त्यसबेलाका प्रधानपञ्चले गाउँसभाबाटै ५०० रुपैयाँ पत्रिका प्रकाशनका लागि दिने भनेर निर्णय गराएपछि पत्रिका निस्कने भयो । स्कुलका शिक्षकहरू पत्रिकाको सम्पादन समूहमा हुनुहुन्थ्यो, विद्यार्थीका तर्फबाट अधिकारी । ‘नपुग पैसा विद्यार्थीबाट उठाएर भारतको सीतामढीमा लगेर ‘जीवनज्योति’ नामक पत्रिका प्रकाशन गरियो’, विजेता भावमा अधिकारी भन्नुहुन्छ ।

अधिकारीका दाजु ध्रुवहरिले हुलाकमार्फत् लेखहरु पत्रिकामा पठाउने गर्नुहुन्थ्यो । दिनेशले पनि हुलाकमार्फत् कविता पत्रिकामा पठाउन थाल्नुभयो । त्यसबेला ‘रत्नश्री’ द्वैमासिक राम्रो साहित्यिक पत्रिकामा गनिन्थ्यो । वर्षभरिको उत्कृष्ट सिर्जनालाई ‘रत्नश्री स्वर्ण पदक’ दिन्थ्यो । उहाँको कविता उक्त पत्रिकामा छापियो– २०३२ सालमा । यो नै उहाँको पहिलो प्रकाशित रचना बन्नपुग्यो । यसअघि स्कुलको पत्रिकामा छाप्न भने एक वर्ष समय लागेको थियो– भारतमा छापेर ल्याउँदा ।

२०३६ मा सडक कविता क्रान्ति सुरु भयो । हरिभक्त कटुवाल, भवानी घिमिरे जस्ता अग्रज स्रष्टाहरुसँग अधिकारीको भेट भयो । उहाँहरुले अधिकारीलाई कविता लेख्न अझ प्रोत्साहन गर्नुभयो । मोतीमहलमा एक पटक भवानी घिमिरेले अधिकारीलाई भन्नुभएछ, ‘दिनेश, कवितासंग्रह निकाल्नुप¥यो ।’ यही मेसोमा २०३७ मा उहाँको पहिलो कवितासंग्रह जन्मिएछ सबै साथीभाइको सहयोग र सल्लाहमा– ‘अन्तरका छिटाहरु ।’ अब भने दिनेश कृतिगत रुपमा पनि कविका रुपमा उदाउनुभयो । ‘यसपछि भने मैले कविताप्रति र मेरो लेखनप्रति नै गम्भीर बन्नुपर्ने भयो’, अधिकारी भन्नुहुन्छ, ‘अग्रजको माया र पत्रपत्रिकाको सहयोगले पनि मलाई निकै हौसला दियो त्यसबेला ।’

पछि त्यसताकाका चर्चित स्रष्टाहरु भूपी शेरचन र वासु शशिसँग पनि अधिकारीको सम्पर्क भयो । उहाँहरुको प्रेरणालाई अधिकारी कहिल्यै भुल्न नसक्ने बताउनुहुन्छ । ‘भूपी दाइलाई कवितासंग्रह निकाल्ने सोच भएको र कविता छानिदिन अनुरोध गरेँ’, अधिकारी भन्नुहुन्छ, ‘तर भूपी दाइले यो काम आफूबाट हुन नसक्ने बताउनुभयो ।’ भूपीले भन्नुभयो रे– ‘म यस्तो काम गर्दिनँ र गराउँदिनँ पनि । तिमीलाई मनपरेको मलाई मन नपर्नसक्छ, मलाई मन नपरेको तिमीलाई मनपर्नसब्छ । मनपरेको फालिदियो भनेर तिम्रो चित्त दुख्ला ।’

२०४४ सालमा उहाँको अर्को कविताकृति प्रकाशन भयो– ‘धर्तीको गीत ।’

त्यसबेला राम्रा प्रकाशन भनेका साझा र प्रज्ञाप्रतिष्ठान थिए । रत्नलगायतका निजी प्रकाशनगृहसम्म पुग्ने आँट आफूमा नभएको अधिकारी बताउनुहुन्छ । साझा अलिक उदार भएकले उहाँ त्यहाँ जानुभएछ । कृष्णचन्द्रसिंह प्रधान महाप्रबन्धक हुनुहुँदोरहेछ । प्रधानले भन्नुभएछ, ‘अग्रजको कविता छाप्दै आएका छौँ, नयाँ पुस्ताको पालो विस्तारै आउँछ ।’ अधिकारीले प्रतिवाद गर्नुभएछ, ‘नयाँ पुस्तालेचाहिँ नेपाली साहित्यको सेवा गरेको छैन भन्ने हो ?’

अधिकारीले आफ्नो कविता मूल्यांकनमा चाहिँ पठाइदिन र मूल्यांकनमा कमजोर ठहरिए चित्तबुझाउने बताउनुभएछ । अन्ततः मूल्यांकन समितिले उत्कृष्ट कृति भनेपछि छापिएछ । ‘संभवतः साझाबाट आएको मेरो पुस्ताको पहिलो कविताकृति हो त्यो’, अधिकारीको भनाइ छ ।

गीतियात्रा

०३० को दशकबाटै हो अधिकारीको गीतियात्रा सुरु भएको । ‘रत्नश्री’ पत्रिकामा छापिएका रचना गीतिरचना भएको उहाँ बताउनुहुन्छ । त्यसपछि ‘दीपिका’ नामक पत्रिकामा पनि धेरै गीत छापिए अधिकारीका ।

कलेज पढ्न थालेपछि भने अधिकारीको गीतलेखन तीब्र बन्यो । सुरेन्द्र राना नाम गरेका उहाँका साथी हुनुहुन्थ्यो । राम थापा पनि पछि साथी बन्नुभयो । ल क्याम्पसको क्यान्टिनमा राम थापासँग चिनजान भएपछि उहाँहरुको सिर्जनशील यात्रा पनि अगाडि बढ्यो । त्यसबेलाका युवानेता विरोध खतिवडा जोक सुनाउनुहुन्थ्यो भने दिनेश कविता, सुरेन्द्र गीत र संजीव भन्ने साथी अंग्रेजी कविता । 
यही क्रममा एक दिन अधिकारीले सुरेन्द्रलाई आफूले पनि गीत लेख्ने कुरा बताउनुभएछ । सुरेन्द्रलाई दिएको एउटा गीत राम थापालाई दिनुभएछ सुरेन्द्रले । ‘केही दिनपछि रामले मैले तिम्रो गीत संगीत गरेको छु भने’, अधिकारी सम्झनुहुन्छ, ‘रेडियो नेपालको गीत प्रतियोगितामा त्यही गीत प्रथम भयो ।’
यो ०३८ सालको सन्दर्भ थियो । गीतको बोल थियो– 

‘निश्वास ए चाँडै थाकी नजा,
मेरो आफ्नो भन्नु तँ यौटै न होस् ।’

पछि अर्को गीत पनि लिएर जानुभयो राम थापाले, जुन गीत रविन शर्माले गाउनुभयो । यही गीतले अधिकारी र रविन शर्मालाई पनि निकै मज्जाले स्थापित गरिदियो नेपाली संगीतका क्षेत्रमा । उक्त गीत थियो– ‘तिमी यसै लजायौ, म उसै धकाएँ÷न बोल्यौ तिमी नै, न मैले बोलाएँ ।’ यही भए अधिकारी राम थापालाई ‘सिरानी संगीतकार’ भन्नुहुन्छ । आपसको आत्मीयता र निकटताका कारण यसो भनेको उहाँको भनाइ छ ।

२०४१ सालमा अधिकारीको अर्को धमाकेदार गीत आयो नारायण गोपालको स्वरमा– ‘तिमी जुन रहरले ममा फुल्न आयौ ।’ दिव्य खालिङको संगीतमा रहेको यो गीत । रत्न रेकर्डिङबाट नारायण गोपालको सम्मानमा प्रकाशित ‘द ब्लु नोट्स’ एल्बममा पनि रहेको छ यो गीत ।

दिव्य खालिङ त्यसबेला निकै उम्दा गीतहरु लिएर आएका थिए । त्यही मेसोमा दिनेशका गीत पनि संगीत गर्न थाले खालिङले । 
नारायण गोपाललाई मनपरेर पनि नगाएको यो गीत

खालिङले दिनेशको ‘भेटी नभेट्न सक्ने आकाशको तलाउ÷तिमी साँझ बत्ती बाल यात्रा मलाई देऊ’ बोलको गीत नारायण गोपालले खुबै मनपराए । पेमला गुरुवाचार्यले पनि आफ्नो स्मरणमा उल्लेख गरेकी छन् यो गीत । तर नारायण गोपालले उक्त गीत गाएनन् । ‘खै, किन गाउनुभएन, अझैसम्म खुल्नसकेको छैन तर दाइ र पेमला भाउनू दुवैले मनपराउनुभएको गीत थियो त्यो’, अधिकारी भन्नुहुन्छ ।

एक दिन दिनेश रेडियो नेपाल जानुभएको थियो । नारायण गोपाल आउँदै हुनुहुँदोरहेछ । मोटरसाइकल रोकेर भन्नुभएछ, ‘दिनेश, अर्को गीत लेखेका छैनौ ?’ अधिकारीले भन्नुभएछ, ‘लेखेको छु ।’ ‘चित्त बुझेको छ ?’, नारायण गोपालले भन्नुभएछ । ‘बुझेको छ’, अधिकारीले भन्नुभएछ ।

दिव्य खालिङले संगीत गर्नुभएको छ भनेपछि नारायण गोपाल सोझै कुपण्डोल गएर उक्त गीतको संगीत ‘टेप’ गरेर ल्याउनुभएछ । उक्त गीत थियो– ‘तिमी जुन रहरले, ममा फुल्न आयौ ।’
त्यसपछि नारायण गोपालसँग निरन्तर सम्पर्क भइरह्यो अधिकारीको । अधिकारी जागिरका क्रममा सुदूरपश्चिम पुग्नुभएको रहेछ । नारायण गोपालले राम्रा गीत लेखेमा पठाइदिनू भन्नुभएको रहेछ । उहाँले हुलाकबाटै गीत पठाइदिनुभएछ नारायण गोपालको महाराजगंजको ठेगानामा । पछि रेकर्ड भयो– ‘यो सम्झिने मन छ, म बिर्सूं कसोरी, तिमी नै भनिदेऊ, हे जाने निठुरी !’