'हरित प्रदेश अभियान'अन्तर्गत  तीन लाख छ हजार बोटबिरुवा रोपिने

'हरित प्रदेश अभियान'अन्तर्गत  तीन लाख छ हजार बोटबिरुवा रोपिने

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ८, २०७६

सप्तरी । प्रदेश नं २ लाई हरित प्रदेश बनाउने योजनाका साथ प्रदेशका आठ वटै जिल्लामा  तीन लाख छ हजार बोटबिरुवा रोपिने भएकाे छ । 

२०७६ साल ७ गते शनिबारदेखि हरित प्रदेश अभियान प्रारम्भ गरिएकाे छ ।   वन, वातावरण तथा चुरे क्षेत्र संरक्षणका लागि प्रदेश सरकारले तीन लाखभन्दा बढी वृक्षरोपण गर्ने उद्देश्यका साथ आठ वटै जिल्लामा वृक्षरोपण प्रारम्भ  गरिएकाे हो ।

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ मा ७ गते  नै शनिबार एकै दिन पाँच हेक्टर जग्गामा दुई हजार २०० बिरुवा रोपेर अभियान शुरु गरिएको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रमअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत वर्षदेखि शुरुआत गरेको ‘हरित प्रदेश अभियान’अन्तर्गत अभियान शुरु गरिएको बताइएको छ ।

मन्त्रालयले १९१. २२ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्न लागेको छ ।

सङ्घ र प्रदेश सरकारको क्षेत्राधिकारको विषयमा विवादमा रहेको सागरनाथ वन विकास परियोजनामा मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले वनजङ्गलको संरक्षण संवर्द्धन गर्ने उद्देश्यले प्रदेश नं २ मा तीन लाख छ हजार बोटबिरुवा रोप्ने योजना लिएको छ । 

सरकारको नीति तथा कार्यक्रमअनुसार हरित प्रदेशको कल्पनासहित हरित नगर, हरित गाउँ, हरित सडक, हरित पोखरी, हरित मन्दिर, हरित खोलानालासहित कार्यक्रम सञ्चालन गर्न लागिएको प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकारी दिनुभएकाे  छ ।

अग्नीसाइर कृष्णसवरणमा आयोजित एक कार्यक्रमका बीच मन्त्री साहले महगनीको बिरुवा रोपेर अभियान शुरु गर्नुभयो ।

अभियानअन्तर्गत महगनी, साल, सिसौ, टिकजस्ता बिरुवा रोपिएको छ । प्रदेश नं २ मै वन क्षेत्र कम रहेकाले विभिन्न प्राकृतिक प्रकोप तथा वन र वातावरणमा सङ्कट निम्तिदै भावी सन्ततिको जीवनसमेत खतरामा पर्ने जिकिर गर्नुहुँदै खाली रहेको निजी तथा सार्वजनिक जग्गामा समेत वृक्षरोपण गर्न मन्त्री साहले आग्रह गर्नुभयो । 

 सप्तरी जिल्लामा हाल १६ प्रतिशत मात्र वन क्षेत्र छ । अभियानका क्रममा यसलाई वृद्धि गरी कम्तीमा ४० प्रतिशत पुर्‍याउने प्रदेश सरकारको योजना छ ।