समाचार अनलाइनका  प्रमुखको  हत्या

समाचार अनलाइनका  प्रमुखको  हत्या

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ८, २०७६


मेक्सिको, एएफपी । एउटा समाचार अनलाइनका प्रमुखको  मेक्सिकमा छुरा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । 

मेक्सिकोका सरकारी वकीलले जारी गरेको प्रारम्भिक विवरणमा नेभिथ कोन्डेस जारामिल्लोको शव शनिबार बिहान फेला परेको र शरीरमा तिखो वस्तुले घोचेका निलडाम रहेको उल्लेख छ । 
प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ ।

तेजुपिल्को नामको सानो शहरमा सञ्चालित स्थानीय अनलाइन सञ्चार माध्यमको प्रमुखको रुपमा नेभिथ कार्यरत थिए । उनी स्थानीय रेडियोमा समेत समाचार वाचकको  जिम्मेवारीमा रहेको बताइन्छ । 

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले कोन्डेस जारामिल्लोमाथि जुन र गत वर्षको नोभेम्बरमा अज्ञात समूहले धम्की दिएको समाचार सार्बजनिक भएकाे थियाे । उनले संघीय सरकार समक्ष आफ्नो सुरक्षाका लागि आग्रह गरेका थिए । 

सन् २००० यतामात्र मेक्सिकोमा करिब १०० जना पत्रकारको हत्या भइसकेको छ ।

लागूपदार्थको अवैध कारोबार र राजनीतिक भ्रष्टाचारका कारण पत्रकारमाथि बारम्बार आक्रमण हुने गरेको छ । 

मेक्सिकोमा अधिकांश हत्याका घटनाको ठोस अनुसन्धान र दोषीमाथि कारबाही विरलै मात्र  हुने गरेको छ । 

सन् २०१९ मा मात्र  मेक्सिकोमा कोन्डेस जारामिल्लो सहित १० जना पत्रकारको हत्या भइसकेको छ ।