शालिकराम आत्महत्या प्रकरण : तीनै जनाविरुद्ध मुद्दा दर्ता

शालिकराम आत्महत्या प्रकरण : तीनै जनाविरुद्ध मुद्दा दर्ता

लोकसंवाद संवाददाता  |  अपराध  |  भदौ ८, २०७६

चितवन : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा  टेलिभिजनकर्मी रवि लामिछानेसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गराएको छ ।

सरकारी वकिलका तर्फबाट लामिछानेसहित उनका सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना माग गरिएको छ ।

चितवन प्रहरीले आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । अभियोगपत्रमा जिल्ला सरकारी वकिलको कार्यालयले अडियो, भिडियो र केही कागजातसहितका प्रमाण राखेर मुद्दा दायर गरेपछि न्यायाधीश हेमन्त रावलको इजलासमा अस्मिताको बयान भएको छ ।

अन्य दुई जनाको बयान नसकिँदा थुनछेक बहस गर्न समय अपुग हुने भएकाले तीनै जना आज पनि हिरासतमा रहनेछन् ।

जिल्ला अदालत चितवनका अनुसार लामिछाने र कँडेलको बयानपछि भोलि नै थुनछेकको बहस सकेर इजलासले अभियुक्तहरूलाई थुनामा राख्ने, धरौटी माग्ने वा साधारण तारेखमा छोड्ने आदेश गर्नेछ ।