रोबोट पनि बन्यो अन्तरिक्षयात्री

रोबोट पनि बन्यो अन्तरिक्षयात्री

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  भदौ ९, २०७६

पृथ्वीबाट झण्डै ४ सय किमि माथिको आर्बिटमा परिक्रमारत इन्टनेशनल स्पेश स्टेशन ९आइएएसएस० एउटा अन्तरिक्षमा रहेको वैज्ञानिक प्रयोगशाला हो । भर्खरै रुसले यस प्रयोगशालामा एउटा रोबोट पठाएको छ । 

मस्को, एएफपी । रुसले २२ अगस्ट बिहिवार इन्टनेशनल स्पेश स्टेशनमा एउटा रोबोट पठाएको छ । फेडोर नाम दिइएको यो रोबोट पन्ध्र दिनसम्म अन्तरिक्ष स्टेशनमा रहनेछ । 

फेडोरले अन्तरिक्षमा ९कम गुरुत्वाकर्षण० भएको स्थानमा काम गर्न सक्नुका साथै अन्तरिक्ष स्टेशनमा रहेका अन्तरिक्षयात्रीलाई सहायता पुर्याउने काम गर्छ । 

रुसको कजाकस्तानको बैकानुर अन्तरिक्ष केन्द्बाट सोयुज–१४ रकेटका माध्यमले फेडोरलाई अन्तरिक्षमा पठाइएको हो । फेडोर गत शनिवार २४ अगस्टका दिन अन्तरिक्ष स्टेशनमा पुग्नेछ । यसको अन्तरिक्ष स्टेशनको बसाई आगामी ७ सेप्टेम्बरसम्म हुनेछ । 

रुसको सोयुज रकेटले अन्तरिक्ष स्टेशनमा आउने–जाने यात्री ओसार्ने काम गर्छ । सोयुजका माध्यमले पहिलो पटक अन्तरिक्ष स्टेशनमा रोबोट पठाएको हो । 

रकेट सोयुजको पाइलट सिटमा रोबोटलाई राखिएको छ । रोबोटले एउटा हातमा रुसी झण्डा बोकेको छ । यस रोबोटको उचाई ५ फिट ११ इन्च तथा तौल १ सय ६० किलो रहेको छ । 

रुसी अन्तरिक्ष कार्यक्रमका प्रमुख दमित्री रोगाजिनका अनुसार फेडोरको आफ्नै ट्विटर एकाउन्ट र इन्स्टाग्राम एकाउन्ट पनि रहेको छ । ट्विटर एकाउन्टमा रहेको जानकारी अनुसार फेडोरले पानीबोतलको बिर्को खोल्ने काम सिकिसकेको छ । 

स्पेश स्टेशनमा रहेर रोबोटले कम गुरुत्वाकर्षण क्षेत्रमा काम गर्ने कौशल सिक्ने छ । यो रोबोट मानिसका गतिविधिको नक्कल गर्न सिपालु छ ।