रेडियो महाकालीको आयाेजनामा महिला देउडा प्रतियोगिता शुभारम्भ

रेडियो महाकालीको आयाेजनामा महिला देउडा प्रतियोगिता शुभारम्भ

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  भदौ ९, २०७६

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको प्रमुख चाड गौरा पर्वका अवसरमा २०७६ भाद्र ७ गते आइतबारदेखि कञ्चनपुरको भीमदत्तनगरमा महिला देउडा प्रतियोगिता शुभारम्भ भएको छ ।

 रेडियो महाकालीको आयोजनामा विगत चार वर्षदेखि आयाेजना  हुँदै आएको हुक्काचिलिम महिला देउडा प्रतियोगितामा जिल्लाका यस पटक छ वटा महिला समूहले भाग लिएकाे  आयाेजकले जनाएका छन् ।

प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ । रेडियो महाकालीबाट प्रसारण हुने हुक्काचिलिम कार्यक्रमकै नामबाट थालिएको देउडा प्रतियोगिताले यहाँको कला, संस्कृति र पहिरनको संरक्षणमा टेवा पुगेको हुक्काचिलिम कार्यक्रम प्रस्तोता ओमप्रकाश ओझाले दाबी गर्नुभएको छ । 

प्रतियोगितामा वियजी टिमलाई नगदसहित सम्मान गरिदै  आएकाे छ ।  गौरापर्वलाई मध्यनजर गर्दै यहाँको खुल्लामञ्जमा आयोजना गरिएको देउडा प्रतियोगितामा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको छ । देउडा खेलगौराको मुख्य आकर्षणका रुपमा रहेको बताउँदै ओझाले सुदूरपश्चिमको कला, संस्कृति जर्गेना गर्न सबैले हातेमालो गर्नुआवश्यक रहेको बताउनुभयो ।

 त्यसैगरी भीमदत्तनगरमै सिद्धनाथ मन्दिर विकास समिति र सुदूरपश्चिमलोक संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा महिला देउडा प्रतियोगिता शुरु भएको छ ।

सुदूरपश्चिमलोक संस्कृति संरक्षण समाजका अध्यक्ष डा टेकराज पन्तले अढाइ दशकदेखि आफूहरु देउडा र सुदूरपश्चिमको लोक संस्कृति संरक्षणमा जुटेको बताउनुभयो । 'हामीले प्रतियोगिता गरेर लोप हुनै लागेको गौरापर्वलाई मलजल गरेका छौँ ।' पन्तले भन्नुभयो, '२०५२/०५३ सालदेखि नै संस्कृति संरक्षणका कार्यक्रम गर्दै आएका छौँ ।'

    समाजले आयोजना गरेको महिला देउडा प्रतियोगिता २०७६ भाद्र १० गते मङ्गलबारसम्म सञ्चालन हुने र विजयी टिमलाई पुरस्कृत गरिने पन्तले जानकारी दिनुभयो ।