प्रज्ञाप्रतिष्ठानमा दर खाने कार्यक्रम सम्पन्न

प्रज्ञाप्रतिष्ठानमा दर खाने कार्यक्रम सम्पन्न

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ ९, २०७६

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल प्रज्ञा–प्रतिष्ठान समितिद्वारा आयोजित कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली समाज बहुल संस्कृतिले सम्पन्न भएको उल्लेख गर्नुभयो, । उप्रेतीले भन्नुभयो, ' तिज हिन्दु धर्म मान्ने महिलाहरूको एउटा विशिष्ट पर्व हो । सामाजिक विविधतायुक्त समाजमा यस पर्वको छुट्टै महत्व छ ।' 

सदस्य सचिव प्रा‍.  जगतसाद उपाध्यायले मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा तिजले विशेष टेवा पुर्‍याउन मद्दत पुर्‍याएकोे बताउनुभयो । तिज आत्मीयता र सद्भावको पर्व पनि हो भन्दै उहाँले निराहार ब्रतका नाममा पानीसमेत नखाई भोकभोकै ब्रत बस्नुको अर्थ नहुने विचार व्यक्त गर्नुभयो । भन्नुभयो, 'चित्त शुद्धि भएमा काया पनि स्वतः शुद्धि हुन्छ ।' 

कार्यक्रममा प्रा. माया ठकुरी, प्रा.डा. उषा ठाकुर, प्राज्ञ लक्ष्मी मालीले तिजको महत्व र विशेषता सम्बन्धी आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो । त्यस क्रममा प्राज्ञ ठकुरीले तिज गीत समेत गाउनुभएको थियो । उहाँले तिजको अवसरमा महिलाहरूले पारिवारिक तथा सामाजिक विभेद, अन्याय र अत्यचारविरुद्ध गीतका माध्यमबाट विद्रोह गर्दै आएको बताउनुभयो । 

कार्यक्रमका विशेष अतिथि नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन सरकारी स्वायत्त सङ्घका अध्यक्ष रेवतीरमण अधिकारी, कलाकार तथा कर्मचारी सङ्गठन, नेपाल प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष विश्वमोहन राजभण्डारी, लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घ र नेपाल प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष अशोककुमार चौरसियाले शुभकामना व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा आयोजक सङ्गठनकी उपाध्यक्ष राधा कार्कीले शब्द–स्वागत गर्नुभएको थियो भने नानु सुवेदीले गाम्रीण तिजगीत गाउनुभएको थियो । 

कार्यक्रमका सभाध्यक्ष नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल प्रज्ञा–प्रतिष्ठान समितिका अध्यक्ष धनबहादुर कार्कीले तत्कालीन उपकुलपति प्रा. डा.  वासुदेव त्रिपाठी र सदस्य सचिव गीता केशरीको सुझाब र सल्लाहअनुसार तिज कार्यक्रम आयोजना सुरु गरिएको स्मरण गर्नुभयो । उहाँले भननुभयो, ' त्यस यता प्रज्ञा–प्रतिष्ठानकै सहयोगमा तिज कार्यक्रमलाई निरन्तरता पदइरहेका छौँ ।