अमेजनः आगलागीकाे भयानक रुप

अमेजनः आगलागीकाे भयानक रुप

ज्ञानमित्र  |  विदेश  |  भदौ ९, २०७६

वैज्ञानिक दृष्टिकोणले पृथ्वीको आयु ४.५ अर्व वर्ष भने पनि मनुष्यताको इतिहास भने धेरै लामो छैन् ।

दश बाह्र हजार वर्ष पहिला मात्रै मानिस बस्ती बसाएर स्थिर बनेको हो । एउटा उदाहरणले मात्रै बुझौ उसले पृथ्वीमा रहेका प्राकृतिक संसाधनको दोहन कुन गतिले गरेको छ ।

वर्तमानमा सम्पूर्ण पृथ्वीमा झण्डै ३ हजार अर्ब रुख बाँकी छन् । दस हजार वर्ष पहिला यो संख्या झण्डै दोब्बर अर्थात ६ हजार अर्ब रहेको थियो । 

दस हजार वर्षमा तीन हजार अर्ब रुखको दोहन हामीले आफ्नो स्वार्थका लागि गर्यौं । वर्तमानको तस्वीर भने भीषण भयानक रहेको छ । पृथ्वीको स्वास्थ्यका लागि रुखको महत्व थाहा हुँदाहुँदै पनि सर्वश्रेष्ठ भनिने प्राणीले प्रत्येक वर्ष एक सय अर्व रुख सखाप पार्दै गइरहेको छ ।

मानिसले आफ्नो सुख सुविधाका लागि गरेको प्रकृतिको जथाभावि दोहनका दुष्परिणाम देखा पर्न थालिसकेका छन् । भविष्यका लागि खतराको घण्टी बज्ने क्रम प्रारम्भ भइसकेको छ । यदि पृथ्वीमा रहेका प्राकृतिक संसाधन जोगाउने र संरक्षण गर्नेतिर प्रयास गरिएन भने केही वर्षभित्रै यसको भयानक दृष्परिणाम भोग्नु पर्ने हुन्छ ।

सारा विश्वमा २० प्रतिशत अक्सीजन आपूर्ति गर्ने संसारकै फोक्सोका रुपमा प्रसिद्ध अमेजनका जंगलमा भइरहेका रहस्यमय अग्निकांड र ‘ग्लोवल वामिंग’ले पग्लिदै गरेका ग्लोशियरका समाचारले सम्बन्धित क्षेत्रका विज्ञानलाई चिन्तित बनाएको छ ।

पृथ्वीमा रहेका यी प्राकृतिक श्रोतले पर्यावरणीय सन्तुलन कायम राख्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन् । यी प्राकृतिक श्रोत आफैँ ठूलो जोखिममा रहेको परिस्थितिले सर्वत्र चिन्ता हुनु स्वाभाविक हो । केही गरी यी यसरी नै नष्ट हुँदै गए भने निकट भविष्यमा पृथ्वीको स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावको कल्पना गर्न पनि गाह्ररो छ ।

यसै वर्षको केही महिना पहिला वैज्ञानिकले हिमालयका ग्लेशियर पग्लिने क्रम वृद्धिवारे चेतावनी दिएका थिए । वैज्ञानिकहरुको आँकलन अनुसार सन् २०५० सम्ममा ६५० भन्दा बढी ग्लेशियर पग्लिएर विलुप्त हुने छन् । अर्को तर्फ यसै वर्षमात्रै अमेजनका जंगलमा भएका ७२ हजार भन्दा बढी आगलागीका घटनाले संसार भरकै पर्यावरणविद्लाई चिन्तित बनाएको छ ।

सन् २०१९ मै अमेजनका जंगलमा ७२,८४३ आगलागीका घटना भएका छन् । आगो र धुवाँका कारण व्राजीलका कैयन राज्यमा आपातकाल घोषणा गरिएको छ । अहिले पनि जंगलमा ७ हजार भन्दा बढी ठाउँमा आगो सल्कीरहेको छ । संसारकै सबैभन्दा ठूलो वर्षा वन (रेन फोरेस्ट) मा भएको आगलागी नियन्त्रण गर्न सरकार सक्रिय भएको छैन् । राजनीतिक उठापटक र आरोप प्रत्यारोप गर्न मै राष्ट्रपति वोल्सोनारो व्यस्त बनेका छन् । आगोले भयानक रुप लिदैगइरहेको छ । ब्राजीलका उत्तरी राज्य रोराइमा, एक्रे, रोन्डोनिया र अमेजोनास अग्निकांडले नराम्ररी प्रभावित छन् ।

ब्राजीलको अन्तरिक्ष एजेन्सी ‘नेसनल इन्स्टीट्यूट अफ स्पेस रिसर्च’ ले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१८ को तुलनामा यस वर्ष आगलागीका घटनामा ८३ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रपति महोदयले स्पेस एजेन्सीका प्रमुखलाई निलम्बित गरिदिए ।

अमेजनका जंगलमा भएको आगलागीको घटनामा सबैभन्दा बढी वृद्धि ब्राजीलको उत्तरी क्षेत्रमा भएको छ । रोराइमा राज्य १४१ प्रतिशत, एक्रेमा ११८ प्रतिशत, रोन्डोनिया राज्यमा ११५ प्रतिशत र अमेजोनस राज्यमा ८१ प्रतिशतले आगलागीका घटनामा वृद्धि भएको छ ।

यसैगरी ब्राजीलको दक्षिणी राज्य मोटोग्रासोमा ११४ प्रतिशतले आगलागीका घटनामा वृद्धि भएको छ ।

ब्राजीलका कैयन राज्यमा आपतकाल लगाइनुका साथै कैयन शहर उच्च सतर्कतामा राखिएका छन् ।

आगलागीबाट निस्केको धुँवाको मुस्लोले सम्पूर्ण अमेजन क्षेत्रलाई ढाकेको छ, र यो क्रम बढ्दै गइरहेको छ । प्राप्त नया जानकारी अनुसार धुँवा फैलिएर ‘अटलांटिक कोस्ट’सम्म पुगीसकेको छ । यस आगलागीले ठूलो मात्रामा कार्वनडाइ अक्साइड निर्माण गरेको छ, यसका साथै कार्बन मोनोअक्साइड पनि निर्माण भइरहेको छ । अमेजनका जंगलमा लागेको आगोबाट निस्केको धुवाँ २ हजार किमि टाढा साओ पाउलोसम्म पुगेको समाचार छ ।

२०१९ मा अमेजन क्षेत्रका विभिन्न देशमा भएका आगलागीका घटनाको संख्या कहाली लाग्दो छ । ब्राजीलमा ७२,८४३, भेनेजुएलामा २६,५००, बोल्भियामा १७,२००, कोलम्वियामा १४,२००, पेरुमा ५,६८०, गुएनामा ८९०, इक्वाडोरमा २९० र फ्रेन्च गुएनामा आगलागीका ११ घटना भएका छन् । 

अमेजन बेसिनमा जंगलको क्षेत्र ७० लाख वर्ग किमि रहेको छ । र, यसमा ५५ लाख वर्गकिमि वन क्षेत्र वर्षा वन (रेन फोरेस्ट) रहेको छ ।

अमेजनका जंगलको ६० प्रतिशत वर्षावन ब्राजीलमा पर्छ । यसैगरी, पेरुमा १३ प्रतिशत, कोलम्बियामा १० प्रतिशत र अन्य वर्षावन भेनेजुएला, इक्वाडोर, वोल्भिया, गुएना, सूरीनाम र फ्रेन्च गुएनामा पर्छन् । 

एक तथ्यांकअनुसार अमेजनका जंगलमा १६ हजार प्रजातिका ३९० अर्ब रुख रहेका छन् । यसका साथै यस जंगलमा अन्य वनस्पति र जीवजन्तुका ३० लाख प्रजाति पाइन्छन् । अमेजनको जंगलले जलवायु परिवर्तनलाई नियन्त्रित गर्न एकदमै ठूलो महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यहाँका रुखले वर्षेनी लाखौ टन कार्वन उत्सर्जनलाई सोस्ने काम गर्छन् ।

अमेजनका जंगल नष्ट हुनु वन क्षेत्र फैलिएरका ९ वटा देशहरुको मात्रै नोक्सानी होइन, वरन् यो सम्पूर्ण मानवताकै लागि, जीवनकै महासंकट हो भन्नुमा दुइमत हुन सक्दैन् ।