एकै दिन एक हजार बढ्यो सुनको भाउ

एकै दिन एक हजार बढ्यो सुनको भाउ

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ ९, २०७६

काठमाडौं : पछिल्लो डेढ महिनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रति तोला एक हजारले वृद्धि भई प्रतितोला ७३ हजार ५०० रुपैयाँ कायम भएको छ । 

आइतवार छापावाला सुन प्रति तोला ७२ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । आइतवार सुन प्रति तोला एक हजार २०० रुपैयाँले वृद्धि भएको थियो । यस्तै, तेजाबी सुनको मूल्यमा पनि प्रति तोला एक हजार रुपैयाँका दरले वृद्धि भएको छ । स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रति तोला ७३ हजार २०० रुपैयाँ पुगेको छ । 

आइतवार तेजाबी सुन प्रतितोला ७२ हजार २०० रुपैयाँमा कारोवार भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि बढेको छ । स्थानीय बजारमा चाँदीको मूल्य १० रुपैयाँ वृद्धि भई प्रतितोला ८६० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । आइतवार चाँदी प्रति तोला ८५० रुपैयाँमा खरिद बिक्री भएको थियो । 

गत साउनको सुरुवातदेखि नै सुनको मूल्य उकालो लाग्न थालेको हो । साउन महिनामा सुनको मूल्य प्रति तोला सात हजार र चाँदीको मूल्य प्रति तोला ९५ रुपैयाँले वृद्धि भएको थियो । भदौ महिना लागेपछि पनि लगातार सुनको मूल्यमा उच्च वृद्धि भइरहेको छ । भदौमा छापावला र तेजाबी सुन प्रति तोला दुई हजार ५०० रुपैयाँले वृद्धि भएको छ ।

साउन १ गते छापावाला सुन प्रतितोला ६४ हजार ५००, तेजाबी सुन ६४ हजार २०० र चाँदी प्रति तोला ७४५ मा कारोबार भएको थियो । साउन ३१ र ३२ गते छापावाला सुन प्रति तोला ७१ हजार ५००, तेजाबी सुन ७१ हजार २०० तथा चाँदी प्रति तोला ८४० रुपैयाँमा कारोवार भएको महासङ्घले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति औँस एक हजार ५३२.७५ अमेरिकी डलर पुगेको छ । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । अमेरिकी डलरको दर बढेसँगै सुनको मूल्य पनि वृद्धि हुन थालेको हो । चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ । सुनको मूल्य वृद्धि भएसँगै सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०-२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय मुस्किलले १० किलो पनि बिक्री हुन नसकेको महसङ्घले जनाएको छ । अहिले सुन किन्नेभन्दा पनि गहना बेच्नेको घुइँचो लाग्ने गरेको छ ।