शालिकराम प्रकरण : पाँच लाख धरौटीमा छुटे रवि, तीन लाखमा कँडेल, साधारण तारेखमा अस्मिता

शालिकराम प्रकरण : पाँच लाख धरौटीमा छुटे रवि, तीन लाखमा कँडेल, साधारण तारेखमा अस्मिता

लोकसंवाद संवाददाता  |  अपराध  |  भदौ ९, २०७६

चितवन : पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीनै जना धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पाँच लाख, युवराज कँडेललाई तीन लाख रुपैयाँ धरौटी र अस्मिता कार्कीलाई साधारण तारेखमा छोड्ने आदेश दिएको हो । 

आइतवारबाट जिल्ला अदालत चितवनले उनीरूमाथि बयान लिन सुरु गरेको थियो ।

आइतवार अस्मिता कार्कीको बयान सकिएको थियो । सोमवार लामिछानेसहित कँडेलको बयान सकिनासाथ सुरु भएको थुनछेक बहससमेत आजै सकिएपछि जिल्ला अदालत चितवनले उनीहरू तीनै जनालाई धरौटीमा छोड्न आदेश दिएको हो । शुक्रवार प्रहरीले रविसहित तीनै जनालाई पाँच वर्ष जेल र ५० हजार रुपैयाँ जरिवानाको माग गरेर अदालतमा अभियोग पेस गरेको थियो ।

रविसहित तीनै जना १० दिनअघि काठमाडौंबाट पक्राउ परेका थिए । २० साउनमा पत्रकार शालिकराम पुडासैनीले चितवनको कङ्गारु होटलमा झुन्डिएर आत्महत्या गरेका थिए । आत्महत्या गर्नुअघि उनले रवि लामिछाने, अस्मिता कार्की र युवराज कँडेलको कारण आत्महत्या गरेको भन्दै भिडियो रेर्कड गरेका थिए । सोही भिडियोका कारण उनीहरू पक्राउ परेका थिए ।