नेपाली संस्कृति र राष्ट्रियता माथि बहस

नेपाली संस्कृति र राष्ट्रियता माथि बहस

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ २३, २०७५

काठमाडौँ । ‘नेपाली संस्कृति र राष्ट्रियता’ विषयमा २०७५ माघ २३ गते बुधवारका दिन प्रज्ञा भवन, कमलादीमा एक प्रवचन गोष्ठीको आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभागद्वारा आयोजित गोष्ठीमा बोल्दै वरिष्ठ साहित्यकार तथा राजनीतिज्ञ प्रदीप नेपालले ‘नेपाली संस्कृतिका विषयमा बुझ्नुभन्दा पहिले इतिहासलाई बुझ्नु पर्ने’ बताउनुभएको थियो । उहाँले भन्नुभयो, “अहिलेसम्म पढिएको नेपालको इतिहास सत्यतथ्यमा होइन दन्त्यकथा र जनश्रुतिमा आधारित छ । त्यस कारण पुरातन सोच र मान्यतालाई संशोधन गरी नेपालको इतिहासको पुनर्लेखन नै गरिनु आवश्यक देखिन्छ ।” उहाँले नेपाल पौराणिक कालदेखि नै स्वतन्त्र रहेको पनि उल्लेख गर्नुभयो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘बहुलता नेपाली इतिहास र संस्कृतिको शक्ति’ भएको उल्लेख गर्दै ‘श्रुतिपरम्परा, कथा कहानी र पश्चिमा विद्वानहरूमा निर्भर रहेको नेपाली इतिहास र संस्कृतिलाई’ अब तथ्य परक किसिमले बदल्नु पर्ने विचार व्यक्त गर्नुभयो । उहाँको थप भनाई थियो ‘यसो भयो भने मात्रै हामीले चाहेको नेपाली संस्कृति र राष्ट्रियता मजबुत हुन्छ ।’

प्रतिष्ठानका उपकुलपति एवम् संस्कृति विभागका प्रमुख डा. जगमान गुरुङले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै ‘नेपाली संस्कृतिमाथि विचलन आउन नदिन यस्तो विमर्श चलाउनु आवश्यक देखिएको’ बताउनुभयो । उहाँले ‘राष्ट्रले चाहेको प्राज्ञिक आपूर्ति गर्न प्राज्ञहरू कटिबद्ध हुनु पर्नेमा जोड दिँदै प्रज्ञा–प्रतिष्ठानले संस्कृति विभाग मार्फत हरेक तीन–तीन महिनामा ‘संस्कृति विमर्श’ कार्यक्रम सञ्चालन गर्ने’ जानकारी दिनुभयो । 

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले अब जनता र समाजको तहबाट नेपालको इतिहास र संस्कृतिसम्बन्धी विमर्शलाई घनीभूत बनाई सार्थक परिणाम निकाल्नु पर्नेमा जोड भएको कार्यक्रममा वाङ्मय शताब्दी पुरुष तथा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी एवम् प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् वैरागी काइँला लगायतका विद्वान–विदुषीहरूको उपस्थिति रहेको थियो ।