थोपा सिँचाइः   केराखेतीको लागि सस्तो र प्रभावकारी

थोपा सिँचाइः   केराखेतीको लागि सस्तो र प्रभावकारी

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ १०, २०७६

कञ्चनपुर । व्यावसायिक केराखेतीको लगात खर्च घटाई बढी आम्दानी लिन बेलौरी नगरपालिका–८ कलकत्ताका करमसिंह रानाले केराबारीमा थोपा सिँचाइ प्रणाली जडान गर्नुभएको छ । खेतमा रोपिएका केराका बोटसम्म सहजरूपमा सिँचाइ र मल पुर्‍याउन थोपा सिँचाइ प्रणाली जडान गरिएको हो ।

'बोरिङबाट सिँचाइ गर्दा अधिक पानीको प्रयोग हुँदा चाहिनेभन्दा बढी पानी खर्च हुन्थ्यो', रानाले भन्नुभयो, 'एक बिघामा रोपिएको केराखेतीमा थोपा सिँचाइ जडान गरेपछि थोरै पानीले सिँचाइ गर्न सकिएको छ ।' थोपा सिँचाइका लागि राखिएको प्लाष्टिकको ड्रममा मलसमेत राखेर सिँचाइसँगै चाहिने मात्रामा मलसमेत आपूर्ति गर्न सकिने व्यवस्था गरिएको छ । रोपिएका केराका प्रत्येक बिरुवामा पाइपमार्फत सिँचाइका लागि पानी पुर्‍याउने व्यवस्था गरिएको छ ।

सो नगरपालिका क्षेत्रमा थोपा सिँचाइ प्रणालीमार्फत केराखेती यो नै पहिलो हो । थोपा सिँचाइका लागि नगरपालिको कृषि विकास शाखाको  एक लाख ५० हजार अनुदान र किसानको  एक लाख ५५ हजार ८२ गरी  तीन लाख पाँच हजार ८२ लगानी गरिएको छ । थोपा सिँचाइ प्रविधिको प्रयोग गरी केराखेती गर्दा सिँचाइ र मलखादलाई सिस्टमबाटै दिन सकिने भएकाले पटक–पटक लाग्ने खर्चबाट किसान जोगिन गई उत्पादनमा वृद्धि हुने कृषि विकास शाखाका प्राविधिक सहायक हरिश सेटीले बताउनुभयो ।
 
राना यस क्षेत्रकै व्यावसायिक केराखेतीमा सफल किसान हुनुहुन्छ । उहाँले एक बिघा खेतमा रोपिएका केरामा थोपा सिँचाइ प्रणाली जडान गर्नुभएको छ । अन्य चार बिघा जग्गा भाडामा लिएर केराखेतीलाई व्यावसायिकरूपमा अँगाल्दै आउनुभएको छ । एक बिघा जग्गामा भर्खरै केरा रोपिएकाले बोटहरु हुर्कदै गएका छन् । चार बिघा जग्गामा लगाइएको केरा बजारमा बिक्री गर्न शुरु गर्नुभएको छ । 

यस वर्षको हालसम्म  आठ लाख बढीका केरा उहाँले बिक्री गरिसक्नुभएको छ । 'वर्षमा  २० लाखदेखि २५ लाखसम्मका केरा बिक्री हुने गरेका छन्', रानाले भन्नुभयो, 'वार्षिकरूपमा ज्यामी, मलखाद, बिरुवा खरीद, बिरुवा रोप्ने, सिँचाइ गर्नेलगायतको सबै रकम कटाई  छ लाख जति रकम बचत हुने गरेको छ ।'

केरा खेतबाटै बिक्री हुने गरेका छन् । डडेल्धुरा, अत्तरिया, भीमदत्तनगर, धनगढीलगायत क्षेत्रका व्यापारीले ढुवानीका साधनसहित केराबारीमै पुगेर खरीद गरेर लैजाने गरेका छन् । रानाले बढी प्रतिफल दिने जीनौ जातको केराखेती गर्नुभएको  राससकाे  समाचारमा उल्लेख छ ।