पद्मश्री साहित्य पुरस्कार रमेश सायन,  पद्मश्री साधना सम्मान महेशराज पन्तलाई

पद्मश्री साहित्य पुरस्कार रमेश सायन,  पद्मश्री साधना सम्मान महेशराज पन्तलाई

लोकसंवाद संवाददाता  |  साहित्य  |  भदौ १०, २०७६

काठमाडैँ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष  प्रदान गर्दै  आएकाे  पद्मश्री साहित्य पुरस्कार (२०७५ ) निबन्धकार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’लाई अर्पण गर्ने निर्णय गरेकाे प्रतिष्ठानले जनाएको छ ।

छुटेका अनुहारमा लेखक रमेश सायनले आफैँले भेटेर छुटेका केही अनुहार र तिनको मनोवृत्तिको सूक्ष्म चित्रण अनुभूतिको गहिराइसम्म पुगेर कलात्मक शैलीमा पस्तुत गरेकाे कृितलाई सम्मान  गरेका प्रतिष्ठानले  २०७६ भाद्र १० गते मंगलबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ । 

त्यस्तै यस वर्षको पद्मश्री साधना सम्मान पाँच दशकदेखि नेपाली इतिहास र संस्कृतिलाई लिपिवद्ध तथा जर्गेना गर्दै आएका पूराविद्, इतिहासविद् तथा संस्कृतज्ञ डा. महेशराज पन्तलाई अर्पण गर्ने निर्णय गरिएको छ ।

दुईसय भन्दा बढी शोधलेखका साथसाथै ६ वटा पुस्तक प्रकाशित गरेका महेशराज पन्त नेपाली भाषा, संस्कृति, इतिहासका अन्वेषकका रुपमा परिचित  हुनुहुन्छ । २००९ सालमा पिता नयराज पन्तले सुरु गरेको संशोधन मण्डलका अभियन्ता महेशराज पन्तले २०२१ सालदेखि इतिहास प्रधान पूर्णिमा प्रकाशन गरिरहेका छन् । प्रामाणिक अनुसन्धान तथा त्यसलाई नेपाली वाङ्मयमा स्थापित गरेका महेशराज पन्तको योगदानलाई कदर गर्दै २०७५ सालको पद्मश्री साधना सम्मान अर्पण गर्ने निर्णय गरिएको छ ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको  पुरस्कार राशी  दुई लाख रुपैँया रहेको छ ।

२०६३ सालदेखि खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष  जीवा लामिछानेका अनुसारनेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएकोको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छभने  २०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

दुवै सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिदै आएकाे र यस वर्ष पनि साेही दिन  वितरण गरिने  प्रतिष्ठानले जानकारी दिएकाे छ ।