धुम्रपान: हृदयाघात र पक्षघातको मूल कारक, गर्भवती बढी प्रभावित

धुम्रपान: हृदयाघात र पक्षघातको मूल कारक, गर्भवती बढी प्रभावित

प्रा.डा.डम्बरबहादुर कार्की  |  दृष्टिकोण  |  भदौ १०, २०७६

धुम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने कुरालाई विश्व स्वास्थ्य संगठनले सन् १९९५ मा व्यापक रूपमा प्रचार प्रसार गरेको थियो । अमेरिकाका रेड इण्डियनहरू पनि धुम्रपान गर्न मनपराउँथे । उनीहरू धुम्रपान गर्ने पाइपलाई 'टोबागो' भन्ने गर्थे । नेपालमा स्थापित चुरोट, बिँडीका कारखानाहरूले देशको अर्थतन्त्रमा धेरै मद्दत गरेको भए तापनि धुम्रपानको लत बसेका नेपालीहरू पुरानो दम, खोकी, क्यान्सर र अल्परक्तप्रवाह हृदयरोग जस्ता जटिल रोगहरूबाट ग्रसित भएर देशको आर्थिक स्थितिलाई कमजोर तुल्याइरहेका छन् । 

धुम्रपानको कारणबाट हुने रोगहरूबाट पीडित व्यक्तिहरू आफ्ना दैनिकि व्यवसाय राम्ररी चलाउन सक्दैनन्, जसको परिणाम स्वरूप घरको आम्दानी घट्दै जान्छ । उनीहरूको रोगको उपचार गराउँदा घरखेत नै बेच्नुपर्ने अवस्था पनि आउनसक्छ । 

केही देशहरूमा नशालु पदार्थहरू हिरोइन, चरेस आदिको व्यापार तथा सेवन गर्ने व्यक्तिहरूलाई मृत्युदण्ड दिने कानुन हिजोआज पनि विद्यमान रहेको पाइन्छ । त्यस्तै, प्राचीनकालमा धुम्रपान गर्नेहरूलाई मृत्युदण्ड दिने प्रचलन टर्कीमा भएको तथ्य इतिहासले बताउँछ । 

मानिसको मृत्युका अनेकौँ कारणहरू हुन्छन् । अल्परक्त प्रवाह हृदय रोग अर्थात् करोनरी आर्टरी डिजिज संसारमै मृत्युको पहिलो कारण मानिन्छ । पक्षघात अर्थात् स्ट्रोक मृत्युको दोस्रो कारण मानिएको छ । यी माथि उल्लेख गरिएका मृत्युका कारणहरू चुरोट, बिँडी खाने बानीसँग सम्बन्धित छन् । धुम्रपान गर्नेहरूलाई हृदयघात र पक्षघात हुने सम्भावना ज्यादा हुन्छ । पुरानो दम, खोकीको मुख्य कारण नै धुम्रपान हो । 

धुम्रपानले फोक्सोको क्यान्सर गराउँछ । पेट, पिसाबको थैली र अन्य अंगहरूको क्यान्सर पनि चुरोट खानेहरूमा हुनसक्छ । माथि उल्लेख गरिएका रोगहरू धुम्रपान छाड्नेहरूमा नहुने धेरै सम्भावना हुन्छ । चुरोट खानेहरूको रक्तचाप तुरुन्तै बढ्छ र आधा घण्टाभित्र कम भएर जान्छ । चुरोटका साथसाथै कफी खानेरूको रक्तचाप ज्यादा बढ्छ । इलेक्ट्रोनिक चुरोट खानेहरूको पनि रक्तचाप बढ्छ । 

धुम्रपान गर्नेहरूको क्लिनिकमा भन्दा घरमा जाँचेको ब्लड प्रेसर ज्यादा हुन्छ । धुम्रपान गर्दा स्वचालित स्नायु पद्धतिद्वारा निस्कने हार्मोनले रक्तचाप बढ्छ । 

धुम्रपान गर्ने व्यक्तिहरूमा पाइने प्रमुख रोगहरू 

१. मुटुभित्र रक्तसञ्चार कम भएर हुने हृदयरोग ।
२. विभिन्न प्रकारका क्यान्सरहरू । 
३. पुरानो खोकी, दम । 
४. करपल्मोनेल नामक हृदयरोग । 
५. खुट्टामा रक्तसञ्चार कम भएर हुने थ्रंवोएन्जायटिस अव्लिटरेन्स नामक रोग । 
६. कम तौलको नवजात शिशु । 

धुम्रपानको धुवाँमा पाइने विषालु पदार्थहरू 

धुम्रपानको धुवाँमा करिव चार सयभन्दा ज्यादा विषालु पदार्थहरू भएको तथ्य वैज्ञानिकहरूले प्रकाशमा ल्याएका छन् । करिव ९५ प्रतिशत विषालु पदार्थ ग्यासका रूपमा पाइन्छन् । धुम्रपानको धुवाँमा निकोटिन, टार र अन्य अनेकौँ प्रकारका विषालु पदार्थहरू पाइन्छन् । 

चुरोटमा पाइने निकोटिन पछि गएर कोटिनिनमा परिणत हुन्छ । कोटिनिनले रगतका नलीहरूलाई ठूलो पार्ने गुण भएकाले रक्तचाप बढ्न दिँदैन । यसरी रक्तचाप र धुम्रपानको सम्बन्ध जटिल छ । हामीले थाहा पाउनुपर्ने मुख्य कुरा धुम्रपान गर्दा विभिन्न अंगहरूमा रक्तसञ्चार गराउने रक्तनलीहरूलाई रोगले ग्रस्त गराइदिन्छ ।

धुम्रपानले शरीरमा पार्ने प्रभावहरू 

धुम्रपान गर्ने व्यक्तिका शरीरभित्र विभिन्न प्रकारका विकारहरू निस्किएर हृदयलाई प्रभावित पार्नसक्छ । धुम्रपान गर्ने मानिसहरूको रक्तसञ्चार गराउने र अन्य रगतका नलीहरूभित्र भएका कोषहरू रुग्ण हुन्छन् । मानिसको रगतमा पाइने प्लाटिलेटहरूलाई रुग्ण रक्तनलीभित्र टाँस्न मद्दत गर्छ । भासोप्रेसिन र क्याटेकोलामाइन समूहले मानिसको रक्तनलीलाई खुम्च्याइदिन्छ । यस प्रकारका पदार्थहरू धुम्रपान गर्ने मानिसहरूको रगतभित्र ज्यादा मात्रामा पाइन्छन् । रगतमा एलडीएल नामक कलेष्ट्रोलको मात्रा ज्यादा र एचडीएल नामक कलेष्ट्रोलको मात्रा कम हुँदा अल्प रक्तप्रवाह हृदयरोग हुने सम्भावना ज्यादा रहन्छ । धुम्रपान गर्ने मानिसहरूको रगतमा एचडीएल नामक कलेष्ट्रोलको मात्रा कम हुनसक्छ । धुम्रपान गर्नेहरूलाई मुटुका धमनीमा रोग लागेर पछि हृदयघात हुनसक्छ । यसरी धुम्रपान गर्ने पुरुष तथा महिलालाई हृदयरोग भएर अचानक मृत्यु पनि हुने सम्भावना रहन्छ । 

धम्रपान गर्ने व्यक्तिहरूको रगतमा निकोटिनको मात्रा बढ्छ । यसले शरीरमा निम्न प्रकारका कुप्रभाव पार्नसक्छ । यी प्रभावहरू स्वचालित स्नायुमा निकोटिनको असरद्वारा भएका हुन् । 

१. मुटुको चाल बढाउँछ ।
२. मुटुको मांशपेसीलाई अत्यधिक मात्रामा अक्सिजन चाहिने हुन्छ । 
३. रगतमा कार्टिजोन नामक हार्मोनको मात्रा ज्यादा हुनसक्छ । 
४. फ्याटी एसिड रगतमा ज्यादा हुन्छ । 
५. एलडीएल कोलेष्ट्रोल रगतमा ज्यादा हुन्छ । 
६. प्लाटिलेटहरू एक अर्कासँग टाँसिन्छन् । 

अप्रत्यक्ष धुम्रपान 

धुम्रपान गरिरहेका मानिसहरूको वरिपरि अथवा छेउछाउमा बस्ने अन्य व्यक्तिहरूलाई धुम्रपानको असर पर्नसक्छ । त्यस कारण आफ्नो नजिक अथवा छेउछाउमा धुम्रपान गर्नेहरूबाट आफू सावधान रहने प्रयत्न गर्नुपर्छ । धुम्रपान गर्दा अनेकौँ प्रकारका रोगहरू लाग्नसक्ने कुराको ज्ञानले नै धुम्रपान छोड्नका लागि मद्दत गर्नसक्छ । धुम्रपान गर्दा धेरै प्रकारका रोगहरू लाग्नसक्ने तथ्य चाल पाइसकेपछि अधिकांश मानिसहरूलाई धुम्रपान त्याग्न मन लाग्छ । धुम्रपान छोड्नका लागि सबैभन्दा ठूलो उपाय धुम्रपान त्याग गर्ने तीव्र इच्छा जागृत गर्नु हो । 

धुम्रपान स्वास्थ्यका लागि हानिकारक बानी हो भन्ने कुरा थाहा भइसकेपछि सबैले चुरोट बिँडी खान छाडनुपर्छ । धुम्रपानको नराम्रो बानी छोडाउन चिकित्सकहरूको ठूलो हात हुन्छ । चिकित्सकहरूले बिरामी जँचाउन आउने सबैलाई चुरोटसबन्धी जानकारी लिनुपर्छ । चुरोट खानेहरूलाई चुरोटको नराम्रा असरहरूको जानकारी गराएर चुरोट र खैनी खान छाड्ने सल्लाह दिनुपर्छ । यसो गर्नाले धेरै धुम्रपान गर्नेहरूले धुम्रपान गर्न छाड्छन् । धुम्रपान छोडाउन पाँचवटा 'A' ले मद्दत पुर्‍याउँछ ।

चुरोटको लत बसिसकेकाहरूलाई चुरोट छाड्न गाह्रो पर्नसक्छ । यिनीहरूलाई भेरेनिक्लाइन अथवा बुप्रोपिअन दिनसकिन्छ । निकोटिनको प्याच, गम अथवा लोजेन्ज पनि दिनसकिन्छ । छारे रोग भएकाले बुप्रोपिअन लिनुहुँदैन । निकोटिनको नाकबाट लिने स्प्रे पनि हुन्छ । 

यी माथि उल्लेख गरिएका पदार्थहरूको प्रयोगले चुरोटको तलतललाई नियन्त्रण गरेर चुरोट छाड्न मद्दत गर्छन् । यिनीहरूलाई कति मात्रामा कति समयसम्म प्रयोग गर्ने विषयमा आफ्नो चिकित्सकसँग सम्पर्क राख्नुपर्छ ।        

धुम्रपान छोड्दा हुने फाइदाहरू 

धुम्रपान छोड्नासाथ दम, खोकी कम भएर जान्छ । चुरोट, तमाखु खान छोडेको एक वर्षपछि यसबाट हुनसक्ने अल्प रक्तप्रवाह हृदयरोग पचास प्रतिशत कम भएर जान्छ । यसरी वर्षौंदेखि चुरोट खानेहरूले धुम्रपान छाड्दा स्वास्थ्य लाभ हुन्छ । 

गर्भवती महिलाले चुरोट खाँदा शिशुमा प्रभाव पर्छ । शिशुको शारीरिक वृद्धिमा प्रभाव पर्दा बच्चाको हुनुपर्नेजति तौल हुँदैन । आफ्नो बच्चाको स्वास्थ्यमा धुम्रपानको प्रतकूल प्रभावको जानकारीपछि धेरैजसो महिलाहरूले धुम्रपान छाड्ने कोसिस गर्छन् । यसर्थ गर्भवती महिलालाई समयसमयमा चुरोट छाड्ने सल्लाह चिकित्सकले दिनुपर्छ । आफैँ चुरोट छाड्न नसक्ने गर्भवती महिलाहरूलाई धुम्रपान छाड्न मद्दत गर्ने बुप्रोपिअन जस्ता औषधिहरूको आवश्यकता पर्नसक्छ ।