१००० रुपैयाँ बढेको सुनको मूल्य ९०० रुपैयाँले घट्यो

१००० रुपैयाँ बढेको सुनको मूल्य ९०० रुपैयाँले घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ १०, २०७६

काठमाडौं : पछिल्लो डेढ महिनादेखि निकै उतारचढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्यमा ९०० रुपैयाँले गिरावट आई प्रति तोला ७२ हजार ६०० रुपैयाँ कायम भएको छ । 
सोमबार छापावाल सुन प्रति तोला ७३ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । सो मूल्य नेपालको इतिहासमा अहिलेसम्मकै उच्च हो । यस्तै, तेजाबी सुनको मूल्य पनि प्रति तोला ९०० रुपैयाँका दरले घटेको छ । तेजाबी सुनको मूल्य प्रति तोला ७२ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रति तोला ७३ हजार २०० रुपैयाँ पुगेको थियो । 
सुनको मूल्य केही घटे पनि चाँदीको मूल्य भने यथावत रहेको छ । स्थानीय बजारमा चाँदी प्रति तोला ८६० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । 
गत साउनको सुरुवातदेखि नै सुनको मूल्य तीव्र गतिमा उकालो लाग्न थालेको हो । साउन महिनामा सुनको मूल्य प्रति तोला सात हजार र चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको थियो । 
भदौ महिना लागेपछि पनि लगातार सुनको मूल्यमा उच्च वृद्धि भइरहेको छ । भदौमा छापावाला र तेजाबी सुन प्रति तोला दुई हजार ५०० रुपैयाँले वृद्धि भएको छ । तीव्र वृद्धिका बीचमा सुनको मूल्य आज प्रति तोला ९०० रुपैयाँले घटेको हो । साउन १ गते छापावाल सुन प्रति तोला ६४ हजार ५००, तेजाबी सुन ६४ हजार २०० र चाँदी प्रति तोला ७४५ रुपैयाँ कारोवार भएको थियो । 
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्ने क्रम रोकिएको छैन । विश्व बजारमा आज सुनको मूल्य सोमबारको तुलनामा केही घटेको छ । मङ्गलबार सुनको मूल्य प्रति औँस एक हजार ५३०.३५ अमेरिकी डलर कायम भएको छ । सोमबार सुनको मूल्य प्रति औँस एक हजार ५३२.७५ अमेरिकी डलर पुगेको थियो । 
अन्तर्राष्ट्रिय बजारमा बढ्दो क्रममा रहेको सुनको मूल्यले स्थानीय बजारलाई दबाबमा राखेको हो । अमेरिकी डलरको सटही दर बढेसँगै सुनको मूल्य पनि प्रभावित भएको हो । चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ । 
सुनको मूल्यमा उतारचढाव देखिएपछि सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०-२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय बिक्री ह्वात्तै खुम्चिएको महासङ्घले जनाएको छ ।