बंगलादेशविरुद्ध नेपालको जीत, फाइनल पुग्ने सम्भावना बलियो

बंगलादेशविरुद्ध नेपालको जीत, फाइनल पुग्ने सम्भावना बलियो

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ १०, २०७६

काठमाडौं : भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसीपमा नेपालले लगातार दोस्रो जीत हात पारेको छ । आज भएको खेलमा नेपालले  बंगलादेशलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । जीतसँगै नेपालको फाइनल पुग्ने सम्भावना बढेको छ ।

साविकको विजेता बंगलादेशलाई खेलको सुरुदेखि नै दबाबमा राखेको थियो । नेपालले पहिलो हाफको अन्त्यतिर शशांक बोहरालाई प्रतिस्थाापन गर्दै मैदान छिरेका कृष्ण अधिकारी यादवले गोल गर्दै नेपाललई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा अझ आक्रामक खेल प्रस्तुत गर्‍यो । ५२औँ मिनेटमा सुगन जीमीले डी बक्सभन्दा बाहिरबाट प्रहार गरेको बल बंगलादेशका गोलरक्षको हातमा लाग्दै गोल हुँदा नेपालले अग्रता दोब्बर बनायो । त्यस्तै, ८४औँ मिनेटमा प्रदीप लम्साल र ८८औँ मिनेटमा यादवले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरेसँगै नेपाल ४-१ गोल अन्तरले विजयी भएको हो । ७९औँ मिनेटमा बंगलादेशका अल अमिम रहमानले सान्त्वना गोल फर्काएका थिए ।

प्रतियोगितामा तीन–तीन खेल खेलेको बंगलादेश र नेपालको समान ६ अंक भए पनि गोल अन्तरको आधारमा बंगलादेश तालिकाको दोस्रो स्थानमा रहेको छ भने नेपाल तेस्रो स्थानमा छ ।

नेपालले अन्तिम खेल भुटानविरुद्व भदौ १२ गते भुटानसँग खेल्नेछ भने बंगलादेशले भारतसँग सोही दिन खेल्नेछ । यी दुई टोलीबीचको नतिजाले फाइनमा स्थान बनाउने देशको टुंगो लगाउनेछ ।

प्रतियोगितामा भारतले तीन खेलमा शत प्रतिशत नतिजा निकाल्दै फाइनमा स्थान बनाइसकेको छ ।