प्रतिबन्धहरु हटाउन अग्रसरता लिन अमेरिकालाई  राष्ट्रपति रौहानीको आग्रह

प्रतिबन्धहरु हटाउन अग्रसरता लिन अमेरिकालाई  राष्ट्रपति रौहानीको आग्रह

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ११, २०७६

इरान,एएफपी ।  इरानी राष्ट्रपति हस्सन रौहानीले इरानमाथि लगाइएको सबै प्रतिबन्धहरु हटाउन संयुक्तराज्य अमेरिकाले पहिला अग्रसरता देखाउनुपर्ने बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू वार्ताका लागि खुला रहेको बताएको भोलिपल्टै इरानी राष्ट्रपति रौहानीको यस्तो प्रतिक्रिया आएको हो ।

सरकारी टेलिभिजनबाट प्रशारित एउटा भाषणमा राष्ट्रपति रौहानीले भन्नुभयो, 'पहिलो कदम भनेकै प्रतिबन्धहरु हटाउनु नै हो । इरानमाथि लगाइएका सबै गैरकानुनी, अन्यायपूर्ण र गलत प्रतिबन्धहरु फिर्ता हुनु पर्दछ ।सकारात्मक परिवर्तनको साँचो वासिङ्टनको हातमा छ,'भन्दै राष्ट्रपति रौहानीले संयुक्तराज्य अमेरिकालाई सबैभन्दा ठूलो चिन्ताको विषयका रुपमा रहेको आणविक बम बनाउने कुरा हामीले पहिल्यै त्यागिसकेका छौं भन्नुभयो ।

'यदि अमेरिकी सरोकार सही हो भने यसलाई हामीले पहिल्यै सम्बोधन गरिसकेका छौं । इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले जारी गरेको एउटा आदेशबाट यो कार्यान्वयनमा आइसकेको छ ।

'खामेनीले सन् २००३ मै आणविक हतियार नबनाउने बारेमा विशेष आदेश (फत्वा) जारी गरिसकेको इरानी दाबी छ ।

'त्यसर्थ पहिलो कदम अमेरिकाले नै लिनु पर्दछ । यो कदम बेगर यो गाँठो खुल्दैन,' तेहरानमा एउटा हाउजिङ परियोजनाको शिलान्यास समारोहमा सम्बोधन गर्दै राष्ट्रपति रौहानीले भन्नुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष सन् २०१५ को बहुपक्षीय आणविक सम्झौताबाट एकपक्षीय रुपमा अलग हुँदै इरान विरुद्ध कडा प्रतिबन्धहरु घोषणा गर्नुभएको थियो ।