आउँदै छ अर्को ऐस्टेरायड

आउँदै छ अर्को ऐस्टेरायड

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  भदौ ११, २०७६

अगस्ट १० मा २००६ क्यु क्यु २३ नाम गरेको ऐस्टेरायड पृथ्वीबाट नजिक हुँदै आफ्नो परिक्रमा पथमा अघि बढेको थियो । अन्तरिक्ष एजेन्सी नासाले यस्तै एउटा अर्को आकाशीय पिण्ड पृथ्वी नजिक आउने क्रममा रहेको बताएको छ ।  

काठमाडौं, एजेन्सी । मंगल ग्रह र बृहस्पति ग्रह बीचको आकाशमा लाखौ खगोलीय पिण्ड छन् । सूर्यको परिक्रमा गर्ने क्रममा परिक्रमा पथमा यी पृथ्वीको नजिक आउँदा वैज्ञानिक चिन्तित हुने गर्छन् । 

यसको कारण, जुनसुकै आकार प्रकार वा तौल भएका यी पिण्ड पृथ्वी नजिक भएर जाने क्रममा पृथ्वीमा खस्न सक्छन् । अत्यधिक गतिले  गर्दा यस्ता पिण्ड पृथ्वीमा खस्दा ठूलो हानि– नोक्सानी हुनसक्छ ।

यस विषयसंग समबन्धित वैज्ञानिकहरुका अनुसार पृथ्वी अस्तित्वमा आएदेखि अहिलेसम्म तीन पटक यस्ता पिण्ड खसेर पृथ्वी तहस नहस भइसकेको छ । पृथ्वीमा डायनासोर युगको अन्त्य यस्तै कुनै एस्टेरायड वा वामन ग्रह (ड्राफ प्लेनेट) खसेर भएको थियो ।

नासाका वैज्ञानिकहरुका अनुसार २३,१०० किमि प्रतिघण्टाको वेगले एउटा ऐस्टेरायड पृथ्वीतिर आइरहेको छ । वैज्ञानिकको अनुमान अनुसार यसको लम्बाई झण्डै २१३२ फिट छ । 

नासाका वैज्ञानिकले यस ऐस्टेरायडलाई २००० क्यु डव्ल्यु ७ नाम दिएका छन् । यो झण्डै पृथ्वीको सबैभन्दा अग्लो संरचना बुर्ज खलीफा जत्रो छ ।  

आउँदो १४ सेप्टेम्बरका दिन (आजको १७ दिन पछि) यो ऐस्टेरायड  पृथ्वीको सर्वाधिक नजिक हुन्छ । यस दिन यो ऐस्टेरायड र पृथ्वी बीचको दूरी जम्मा ५३ लाख किमि हुनेछ । पृथ्वी र चन्द्रमा बीचको दूरी ३ लाख ८४ हजार किमि छ । चन्द्रमा र पृथ्वीको दूरीको तुलनामा पृथ्वी र यस ऐस्टेरायडको दूरी झण्डै १४ गुणा बढी हुनेछ ।

यो ऐस्टेरायडलाई ‘अटेन’ श्रेणीको ऐस्टेरायडमा राखिएको छ । खगोलविदहरुले सूर्यको परिक्रमा गर्दा पृथ्वी नजिकबाट भएर जाने खगोलीय पिण्डहरुलाई ‘अटेन’ श्रेणीका पिण्डमा राख्ने गरेको छ । 
१४ सेप्टेम्बरमा पृथ्वीको नजिक आउने ऐस्टेरायड २००० क्यु डब्ल्यु ७ प्रत्येक ६,९५६ दिनमा आफ्नो परिक्रमा पथमा पृथ्वीको नजिक हुँदै जाने गर्छ । यो अवधि भनेको १९.०४ वर्ष हो । यो भन्दा पहिला सन् २००० को सेप्टेम्बर १ मा यो पृथ्वी नजिक हुँदै गएको थियो । १४ सेप्टेम्बर २०१९ पछि १९ अक्टुबर सन् २०३८ मा यो पुनः पृथ्वी नजिक भएर जान्छ । 

हुन त यस ऐस्टेरायडको पृथ्वीमा खस्ने सम्भावना अत्यन्त न्यून रहेको छ । र, कथमकदाचित खसिहाले पनि पृथ्वीको माथिल्लो वातावरणमा प्रवेश गर्नासाथ यो जलेर नष्ट हुन्छ । पृथ्वीसम्म यसको कुनै सानो अवशेष मात्रै आइपुग्छ । सर्वसाधरणले यसबाट त्रसित हुने कुनै कारण छैन ।