पुनर्बहाली गर्न उच्च अदालतको आदेश

प्रहरी जवान बर्खास्ती प्रकरण

पुनर्बहाली गर्न उच्च अदालतको आदेश

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २४, २०७५

काठमाडौं । उच्च अदालत, दिपायलले संगठन सुधारको माग गर्दा बर्खास्तीमा परेका एक प्रहरी जवानलाई पुनर्बहाली गर्ने आदेश दिएको छ । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र नसरुल्लाह अन्सारीको संयुक्त इजलासले प्रहरी जवान दीपेन्द्रबहादुर चन्दलाई बर्खास्ती गर्ने निर्णय बदर गर्न उत्प्रेषणको आदेश दिएको हो । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई संगठन सुधारको मागसहित पत्र लेखेर मर्यादाविपरित काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख विनोद घिमिरेले उनलाई गत वैशाख २१ गते बर्खास्ती गर्ने निर्णय गरेका थिए । त्यसपछि प्रहरी जवान चन्दले निर्णय बदर गर्न माग गरी अदालतमा रिट दर्ता गराएका थिए । 

महानिरीक्षकलाई संगठन सुधारका लागि पत्र पठाएपछि वैशाख १५ गते तत्कालीन डिएसपी वीरबहादुर बुढामगरले आफूलाई कुटपिट समेत गरेको उनको आरोप छ । तर, बुढामगरले भने आफूले कुटपिट नगरेको दाबी गरेका छन् । 

पुनर्बहालीपछि यसो भन्छन् चन्द 

प्रहरीमा रही देश र जनताको सेवा गर्ने सौभाग्य पुनः पाइएको छ ! अदालतबाट न्याय पाएको अनुभूति भएको छ । प्रहरी महानिरीक्षकलाई संगठन सुधारको सुझाव पत्र पठाएको भन्दै गत वैशाख १५ गते जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले ममाथि कुटपिट गर्नुभयो । त्यो कुरा मिडियामा आयो । 

यसले प्रहरी संगठन बदनाम भएको भन्दै प्रहरी उपरीक्षक विनोद घिमिरेले गत वैशाख २१ गते मलाई जागिरबाट हटाउने निर्णय गर्नुभयो । त्यसपछि मैले प्रहरी बरिष्ठ उपरीक्षक हरिराज वाग्लेसमक्ष पुनर्बहालीका लागि पुनरावेदन गरेँ । तर, उहाँले पनि जिल्लाको निर्णय सदर गर्नुभयो । 

मैले प्रहरी उपरीक्षक तथा प्रहरी बरिष्ठ उपरीक्षकलाई विपक्षी बनाई उच्च अदालत, दिपायलमा जागिर पुनर्बहाली गरिपाउँ भनी रिट दर्ता गराएँ । अदालतको फैसलाले निर्दोष ठहर भएको छ । हाकिमहरूले ममाथि अन्याय गरे पनि उहाँहरूप्रति मेरो मनमा वैरभाव छैन । 

के भएको थियो ? 

सर्वेन्द्र खनाल प्रहरी महानीरिक्षक हुनेबित्तिकै प्रहरी संगठनको सुधारका लागि भन्दै निवेदन पत्र लेखेका थिए । सोही पत्रको आधारमा उनलाई कैलाली प्रहरी कार्यालयका डिएसपी वीरबहादुर बुढाले उनलाई कुटपिट गरेका थिए । त्यसपछि उनलाई बर्खास्त गरियो । त्यतिबेला आफूलाई अन्याय भएको भन्दै प्रहरी महानीरिक्षकलाई थप गुनासो गरेका थिए ।  लामो समयदेखि प्रहरी संगठनसँग आवद्ध उनले अनाहकमा जागिर गुमाउनुपरेको बताएको भए पनि उनको गुनासो सुनुवाई भएन । निवेदनमा प्रहरी संगठनभित्र सुधारका बुँदाहरू समेटिएका थिए । 

पत्र सार्वजनिक भएपछि कैलालीका प्रहरी नायब उपरीक्षक डिएसपी वीरबहादुर बुढामगरले प्रहरीको मर्यादाविपरित पत्र लेखेको भन्दै जवान चन्दमाथि कुटपिट गरे । कुटपिट लगत्तै चन्दले आफूमाथि हातपात भएको बताएका थिए । यद्यपि डिएसपी बुढामगरले चन्दले लगाएको आरोप झुटो भएको स्पष्टीकरण दिएका छन् । जवान चन्दले न्याय माग्दा डिएसपीको कुटाई खानुपरेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकहाँ धाए । तर, आइजिपीबाट पनि न्याय नपाएको चन्दको आरोप थियो । 

चन्दले प्रहरी नायब उपरिक्षक बुढामगरविरुद्ध कैलाली जिल्ला अदालतमा कुटपिट मुद्दा दायर गरेकोमा सो मुद्दामा अदालतमा गएर मिलापत्र गर्छस् भने पुनर्बहाली गरिदिन्छु भनी प्रहरी बरिष्ठ उपरीक्षक हरिराज वाग्लेले प्रलोभन र आश्वासन दिएका थिए । पछि अदालतमा गएर मिलापत्र गरे पछि पुनर्बहाली नगरी धोका दिने र कुटपिट गर्ने डिएसपीलाई जोगाउने काम एसएसपीबाट भएको थियो । त्यसको केही दिनअघि प्रहरी उपरीक्षक विनोद घिमिरेले बर्खास्तीको पत्र बुझाएका थिए ।