ब्रेक्जिटका लागि बेलायतको संसद पाँच साताका लागि निलम्बित

ब्रेक्जिटका लागि बेलायतको संसद पाँच साताका लागि निलम्बित

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ १२, २०७६

ब्रेक्जिटको मिति नजिकिँदै गर्दा बेलायतको संसद करिब पाँच साताका लागि निलम्बित गरिएको छ । सरकारले संसद निलम्बनका लागि गरेको सिफारिस बेलायती महारानीले स्वीकृत गरेकी हुन् ।

यसपछि अब सेप्टेम्बरको सुरुमा संसद्‌ जाने सांसदहरू अक्टोबर १४ तारिखभन्दा अघि संसद् फर्किनेछैनन्। बेलायत आगामी ३१ अक्टोबरदेखि ईयूबाट बाहिरिँदै छ ।

प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट प्रक्रियालाई प्रभावित पार्ने संसद्‌को अधिकारलाई आफूले अवरुद्ध पार्न नचाहेको दाबी गरेका छन् । १४ अक्टोबरमा महारानी एलिजाबेथले संसदलाई सम्बोधन गर्दै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

बुधबार सरकारले महारानी समक्ष संसद निलम्बनका लागि सिफारिस गरेको थियो । संसद निलम्बित भएपछि ३१ अक्टोबरमा विना कुनै सम्झौता बेलायत ईयूबाट बाहिरिने प्रक्रिया रोक्नका लागि आवश्यक कानुनहरू पारित गर्न सांसदहरूसँग समय हुनेछैन ।

संसद निलम्बन गर्ने कदमको सत्तारुढ र विपक्षी सांसदले समेत विरोध गरेका थिए । बेलायत ईयूमा नै रहनुपर्ने पक्षमा रहेका अभियानकर्मी डोमिनिक ग्रिइभले सरकारको योजना अस्वीकार्य कदम भएको बताएका थिए ।

संसद् निलम्बन गरिएपछि बेलायत ईयूबाट बाहिरिने प्रस्ताव, ब्रेक्जिट, सम्बद्ध प्रक्रियामा आफ्नो प्रजातान्त्रिक भूमिका निर्वाह गर्न सांसदहरूले पाउनेछैनन्।