साफ यू-१५: फाइनलका लागि नेपाल आज भिड्दै

साफ यू-१५: फाइनलका लागि नेपाल आज भिड्दै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ १२, २०७६

भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ फुटबलमा समूह चरणको अन्तिम खेलमा आज नेपाल र भुटान प्रतिस्पर्धा गर्दै छन् । आजको खेलमा जीत निकालेमा नेपाल फाइनलमा पुग्नेछ ।

भारतको कल्याणी रंगशालामा हुने नेपाल र भुटानबीचको खेल मध्याह्न १२ बजेर १५ मिनेटमा सुरु हुनेछ । उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको नेपाली टोलीका लागि भुटानविरुद्धको खेल निकै महत्त्वपूर्ण छ ।

फाइनलमा स्थान सुरक्षित गर्न नेपाललाई निश्चित जीत आवश्यक छ । भुटानका लागि भने यो खेल केवल प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ ।

प्रतियोगिताको अंक तालिकामा नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ भने भारत शत प्रतिशत जीतसहित ९ अंक जोडेर शीर्ष स्थानमा छ । समान ६ अंक रहेको बंगलादेश तेस्रो स्थानमा छ । राउण्ड रोविन लेगका आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले मंगलबार साविक विजेता बंगलादेशलाई ४–१ ले हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको थियो । पहिलो खेलमा भारतसँग ५–० ले पराजित भएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराएको थियो भने बंगलादेशमाथि ४–१ को जीत निकालेको थियो ।

समूह चरणको अन्तिम खेलमा बंगलादेशले भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले आजको खेलमा भुटानलाई जिते पनि बंगलादेशले भारतलाई ४–० भन्दा पराकिलो अन्तरमा हराएमा भने नेपालको यात्रा कठिन बन्नसक्छ । भारतलाई फाइनल पुग्न बराबरी पर्याप्त छ ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटानले प्रतिस्पर्धा गरिरहेका छन् ।