सर्वाधिक धनराशि पुरस्कार रहेको भलिबल प्रतियोगिता भदौ २४ देखि २८ सम्म

सर्वाधिक धनराशि पुरस्कार रहेको भलिबल प्रतियोगिता भदौ २४ देखि २८ सम्म

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ १२, २०७६

काठमाडौँ । प्रथम प्रकाश दाहाल स्मृतिमा  प्रगतिशील युवा नेपाल कप भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रगतिशील युवा नेपाल (गोरखा–काठमाडौँ)को आयोजनामा यही भदौ २४ देखि २८ सम्म राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।
  
प्रगतिशील युवा नेपालले २०७६ भाद्र ११ बुधबार पत्रकार सम्मेलन गरी सर्वाधिक धनराशि पुरस्कार भएको भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा युवा नेपालका अध्यक्ष दीपक थापाले खेलाडीलाई नयाँ ऊर्जा थप्नका लागि खुला भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

खेलकूदको विकास भएमात्र समृद्ध मुलुक निर्माण हुने भन्दै प्रगतिशील युवा नेपालले खेलकूदको विकासका लागि काम गर्न लागेको उहाँको भनाइ छ । 

काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेलमैदानमा हुने प्रतियोगिताको विजेता समूहले  पाँच लाख पाउनेछ ।  यस्तै द्वितीय पुरस्कार  तीन लाख, तृतीय पुरस्कार रु एक लाख, चौथो पुरस्कार  ५० हजार रहेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार हात पार्ने अध्यक्ष थापाले जानकारी दिनुभएकाे छ ।