दुरा समुदायको विवाह संस्कारः पातमा गोडा धुनेदेखि बहुमूल्य दाइजोसम्म

दुरा समुदायको विवाह संस्कारः पातमा गोडा धुनेदेखि बहुमूल्य दाइजोसम्म

यमबहादुर दुरा  |  लोकरञ्जन  |  भदौ १३, २०७६

 विषय प्रवेश
विवाह संस्था सञ्चालनमा दुरा समुदायको आफ्नै नियम छ । यस समुदायमा पुुही, क्याउसा, धिङ्गल, दोर्दे र पाचे गरी पाँच थर हुन्छन् । तीमध्येबाट नाता–कुटुम्ब खुट््याएर विवाह गरिन्छ । नाता–कुटुम्बको कुरा गर्दा पुुही र क्याउसाले एकअर्कालाई भाइबन्धु मान्छन् । यिनीहरूबीच विहेवारी चल्दैन । धिङ्गल, दोर्दे र पाचेले पनि एकअर्कालाई दाजुभाइ मान्दछन् । यिनीहरूबीच पनि विहावरी चल्दैन । पुुही र क्याउसाले धिङ्गल, दोर्दे र पाचेलाई कुटुम्ब मान्छन् । धिङ्गल, दोर्दे र पाचेले पनि पुुही र क्याउसालाई कुटुम्ब मान्छन् । यी कुटुम्बहरूबीच वैवाहिक सम्बन्धलाई समाजले मान्यता दिन्छ । 

दुरा समुदायमा वर्ग प्रणालीप्रति गहिरो आस्था छ । विवाहका लागि पनि वर्ग हेर्ने चलन छ । चिनियाँ पात्रोमा जस्तै दुरा समुदायमा १२ वटा वर्ग हुन्छन् । तामाङ तथा गुरुङले समुदायले पनि यही प्रणाली अपनाउँछन् । वर्ग प्रणालीअन्तर्गत १२ थरीका जनवारलाई प्रतीक मानिन्छ । यस प्रणाली अन्तरगत पृथ्वीमा जन्मने हरेक व्यक्ति यी १२ थरीका वर्गमध्ये एक न एकमा पर्छन् । वर्गले व्यक्तिको ग्रहदशा र भाग्यरेखाको प्रतिनिधित्व गर्छन् । विवाह गर्ने क्रममा सम्भावित वर–वधुको वर्ग जुराई मूलतः लामासँग हेरखोर गरिन्छ । कसै कसैले हिन्दू प्रणाली अन्तर्गतका ज्योतिषीसँग पनि हेरखोर गराउँछन् । ज्योतिषीले वर्ग प्रणालीमा नअपनाई राशी, ग्रह, नक्षत्र आदिका आधारमा वैवाहिक सम्बन्धको भविष्यावाणी गर्छन् ।

वर्ग प्रणालीअन्तर्गत चरा वर्ग र मूसा वर्गबीच विहावरी फाप्छ भन्ने मान्यता छ । यी दुई वर्गका वर–वधुको भविष्यबारे हेरखोर नै गर्न पर्दैन भन्ने मान्यता पनि छ । यसको विपरीत गाई र बाघ वर्गबीच विवाह गर्नु राम्रो मानिँदैन । यी दुई वर्गबीच विवाह भइहाले पनि कालान्तरमा अफाप हुन्छ भन्ने मान्यता छ । प्रेम विवाह भए अलग कुरा हो, मागी विवाहमा गाई र बाघ वर्गबीच विवाह सामान्यतया बर्जित मानिन्छ ।

दुरा समुदायमा फुपूचेला र मामाचेलीबीच विवाह चल्छ । अर्थात् फूपूको छोरा र मामाको छोरीबीच वैवाहिक सम्बन्ध हुन्छ । तर, मामाचेला र फुपूचेलीबीच विवाह चल्दैन । उनीहरूबीच दाजुभाइ–दिदीबहिनीको सम्बन्ध रहन्छ ।  विगतमा अधिकांश आमाहरूले फुपूचेला र मामाचेलीबीचको विवाह विवाहलाईलाई उच्च प्राथमिकता दिन्थे । 

पातमा गोडा धोएर छोरीको कर्म चलाउने विगतको सहज परिपाटीमा अहिले बहुमूल्य दाइजो दिने चलन दुरा समुदायमा भित्रिएको छ । यसबाट दुरा समुदाय विवाह पद्धति निकै महङ्गो हुँदै गएको छ । अर्को दृष्टिले हेर्दा यसले दुरा समुदायको बदलिँदो आर्थिक हैसियतलाई पनि सङ्केत गर्छ ।


यसको पछाडि मनोवैज्ञानिक कारण छ । आफ्नो भदैनीलाई बुहारी बनाउन पाउँदा माइतीतिरको पुरानो नाता कायमै रहन्छ । साथै, बुहारीका रूपमा भित्रिएकी भदैनीले बुढेसकालमा आफूलाई बढी माया गर्छ भन्ने आम विश्वास रहेको पाइन्छ । छोराले भदैनीलाई नल्याएर अन्य कुलको केटी विवाह गर्दा कतिपय आमाहरूले चित्त दुःखाएका थुप्रै दृष्टान्त पाइन्छ । तर, आजकल फुपूचेला र मामाचेलीबीच विवाह हुने चलन विस्तारै हराउन थालेको छ ।

 विवाहको प्रकार 

१. मागी विवाह
दुरा समुदायमा मागी विवाह अत्यन्तै प्रचलित र पुरानो परम्परा हो । सामान्यतया, मागी विवाहमा कलिया (लमी) मार्फत केटीको घरमा कुरा चलाइन्छ । केटाको अभिभावकले केटीको अभिभावकसँग सीधै कुरा चलाउने गरेको पनि पाइन्छ । कतिपय अवस्थामा केटी पक्षबाट केटा पक्षलाई अप्रत्यक्ष रूपमा प्रस्ताव नअनाउने पनि होइन । विवाहको प्रक्रिया जे जसरी अगाडि बढे पनि विवाहलाई औपचारिक रूप दिन कलियाकै खाँचो पर्छ, जसका लागि एकआपसमा कुटुम्ब नाता पर्ने कलिया दुईजना तयार हुनुपर्छ ।

कुरा मिलेपछि साइपाटा लगाउने चलन छ । साइपाटा लगाएपछि विवाह पक्का हुन्छ । साइपाटा लगाउने दिनामा एक ठेकी दही र एक पुङ र पुङ वा बुङगरी रक्सी तथा पेरुङ्गोमा धाप्रे रोटी राखेर केटीको घरतर्फ गइन्छ । त्यसरी लगिएको ठेकी र पुङलाई चामलको पिठो र अबिरको लामो–लामो धर्काले सिंँगारिएको सिँंगारिन्छ । साथै, कपडाको रङ्गीचङ्गी धजाले पनि सिँंगारिन्छ । दही र रक्सीको भाँडालाई बिर्को लगाई बिर्को माथि सालको पातले छोपिन्छ । यसका अतिरिक्त पेरुङ्गोमा रोटी, कुखुराको भाले, धूप र सालको पात पनि लिएर गइन्छ । साइपाटाको प्रक्रिया सकिएपछि विवाहको दिन तोकिन्छ । तर, आजकल कुरा मिलेपछि साइपाटा नलगाइकन विवाहको मिति तोक्ने चलन पनि आइसकेको छ । 

विवाहको तिथिमिति निर्धारण भएपछि तोकिएको मितिमा विवाहको कार्यक्रम शुरु हुन्छ । दुलहाको घरमा जन्ती जाने तयारी हुन्छ । जन्ती जानुअघि दुलाहालाई पगरी गुथाइन्छ । उनलाई अनेकन् किसिमका सिंगारपटार गरिन्छ । जन्ती प्रस्थान गर्ने बेलामा जन्ती पर्सिने गरिन्छ । बयोबृद्ध व्यक्तिले जन्ती पर्सने गर्छन् । दही, अक्षता र पानीले जन्ती पर्सिने गरिन्छ । यस क्रममा पाँच–सातजना व्यक्ति हातमा एक–एकवटा चिर (बत्ती) बालेर उभिन्छन् । चिर बाल्नुको अर्थ उज्यालो वा शुभघडी निम्त्याउनु हो ।

निगालोको वा कुनै सोझो काठमा केराको सुप्ला घुसारेर त्यसमाथि सेतो सुतीको कपडा वा पिउरी बेरिन्छ । त्यसलाई तेल वा घ्यूमा भिजाइन्छ र बाल्न योग्य बनाइन्छ । चिर लिएर उभिने व्यतिm विधुर हुनुहुँदैन भन्ने मान्यता छ । 

जन्ती पर्सिने क्रममा दुलहाको आमाले उनलाई दही खुवाउने चलन छ । दही खुवाउदा मझेत्रोले छोपेर खुवाउइन्छ । कुनै पनि शुभसाइतमा दहीको टीका लगाउँदा र दही खाँदा साइत पर्छ भन्ने जनविश्वास छ । दुलहा अन्माउनुभन्दा अघि गाउँबासी र इष्टमित्र सबैले फूलटीका गर्छन् । 

दुलहाको भाञ्जाले उखुको ढाँकमा पेरुङ्गो झुण्डायएर दुलहालाई परिक्रमा गरिन्छ । पेरुङ्गोमा रोटी र रक्सीको पुङ राखिएको हुन्छ ।  परिक्रमा गर्ने क्रममा दुलहाको दिदी वा बहिनीले करुवाबाट पानीको धारा अटुट रूपमा छोडदै दुलहालाई तिन पटक घुम्छन् । अन्त्यमा अक्षता–पानीले पर्सिदै जन्तीलाई बिदा गरिन्छ । 

दुलही घरमा जाने क्रममा बाटोमा भेटिने सबै देवीदेवताको नरसिंहलगायतका बाजा बजाएर आरधना गरिन्छ । दुलहीको घरमा पुगेपछि दुलहीको भाउजुले दुलहालाई कम्मल ओढाएर सम्मान तथा स्वागत गर्छन् । गाईको गोबरले पोतिएको भूइँमाथि दुलहालाई उभ्याएर राखिन्छ । यससँगै जन्ती पर्सिने क्रम शुरु हुन्छ । विभिन्न रङ्गले भिजाएको अक्षता, फूल र पानी जन्तीमाथि वर्षाउने गरिन्छ । कतै कतै रमाइलोका लागि गुँदार गाना, चिलौनेको गेडा आदिले हान्ने पनि चलन छ । यतिबेला भएभरका जन्तीले छाता ओडेर आफूलाई जोगाउँछन् । जन्ती पर्सिने क्रममा दुलहीको घरमा पनि चिर बालिन्छ ।

विवाह घरमा जन्ती पुग्दा दुलहीको बुबा धोतीपाटो फेरेर बसेका हुन्छन् । उनी कपाल कटाई निराहार बस्छन् । यही क्रममा रोटी र एक पुङ रक्सी राखिएको पेरुङ्गो उँखुको ढा“कमा झुण्ड्याइन्छ । त्यो उँखुको ढाँक भाञ्जालाई समात्न लगाई मामा र भाञ्जा मिलेर दुलहाको परिक्रमा गरिन्छ । दुलहालाई दाहिने पारी भाञ्जा अघि अघि भएर तीनपटक परिक्रमा गरिन्छ । यस क्रममा मामा (दुलहीका बुबा) ले कलशबाट अटुट रूपमा पानीको धारा छोड्छन् । यसपछि दुलहीका बुबा (ससुरा) ले ज्वाइँको गोडा धोएर एउटा थालमा दही अक्षता राखेर पूजा गर्छन् । दुलाहालाई टीका तथा माला लगाई दुलहीका बाबाले ढाडमा बोकी आसन ग्रहण गराउँछ ।

जन्तीलाई कुनै निश्चित ठाउँमा लगेर राखिन्छ । त्यसपछि गाउँको ठिटी (दुलहीका साथी) हरूले ल्वाङ, सुकमेल, चुरोट आदि दिएर जन्तीलाई स्वागत गर्दछन् । यतिबेला जन्ती र गाउँका ठिटीहरू रमाइलो किसिमको हाँसो–ठट्टा पनि चल्ने गर्छ ।

उपयुक्त समयमा जन्तीलाई भान्छा गराइन्छ । यस क्रममा दुलहा पनि जन्तीसँगै बसेका हुन्छन् । यही सिलसिलामा पातबाट बनेको विशेष खाल टपरीमा अनेक थरीका परिकार राखेर दुलाहालाई सत्कार गरिन्छ । टपरीको परिधि निकै ठूलो हुन्छ । टपरीको चारैतिर सानो सानो दुनाजस्तो ठाउँ बनाइएको हुन्छ । त्यसमा विविध परिकार राखिएका हुन्छन् । सबै परिकार एक एक गरी छुन र खान कर लगाइन्छ । होचो कद भएका दुलहालाई परिकार भएको ठाउँसम्म हात पुर्‍याउन कठिन हुन्छ । यतिबेला हाँसो मच्चिन्छ । यस्तो बेलामा दुलहीका साथीहरूले अनेकन् गुलावी क्षेण हानेर दुलहालाई व्यङ्ग्य गर्छन् । यतिबेला निकै रमाइलो हुन्छ ।

जन्तीले भान्छा गर्ने बेलामा सबैभन्दा पहिला दुलाहाले खानेकुरामा हात लाउनुपर्छ । उसले खानेकुरामा हात लाएपछि दुलाहाले हात छोड्यो भनेर कसैले चर्को स्वरमा आवाज निकाल्छन् । उनले हात छोडेपछि मात्र जन्तीले खान पाउँछन् । दुलाहाले हात नछोडदै जन्तीले खाएमा जरिवाना लगाउने चलन थियो, पहिले पहिले । अहिले यो चलन हराउँदै गएको छ । सामान्यतयाः दुलहाले हात नछोड्दासम्म कसैले पनि खँदैनन् । जन्तीलगायत सबै परपाहुनाले क्रमैसँग खानपिन गरेपछि भान्छा उठेको सङ्केत स्वरूप बन्दुक पड्काइन्छ ।  

खानपिन सकिएपछि कलियाहरूको नेतृत्वमा दुलाहाको घरबाट ल्याइएका सरसामान दुलहीका माइती पक्षलाई बुझाइन्छ । यसमा दुलहीको कपडा र गरगहना पनि पर्दछन् । यस बाहेक दुलहीको घर, जेठो बा, कान्छो बा, ठूलीआमा, मूसीआमा (सानीआमा), मुखिया र रोदी आमालाई पनि कोसेली दिइन्छ । सरसामान बरबुझारथ गर्ने बेलामा दुलही माइती पक्ष र कलियाबीच सामानको परिमाण र गुणस्तरबारे कहिलेकाहीँ दगलफसल पनि चल्न सक्छ । 

राति दुलहा र दुलहीलाईसँगै राखीे गोडा धोइन्छ । उनीहरूका गोडा ताउलोमाथि राखिन्छ । एकजनाले करुवाबाट पानी खन्याउँछन् । करुवाबाट दुलहा–दुलहीको गोडामा झरेको पानी माइती खलक, सानी आमा, ठूली आमा, मावली तथा बूढो मावलीले क्रमैसँग गोडा धुन्छन् । यस क्रममा चरेसको थाल, ताउलो आदि उपहार दिइन्छ । अहिले समयले काँचुली फेरिसकेको छ । महङ्गा गरगहना, टीभी सेट, रेफ्रिजेरेटरजस्ता आधुनिक सरसामान उपहार दिने चलन आइसकेको छ । 

विगतमा गोडा धुँदा घडीपाला थाप्ने चलन भए पनि अहिले यो चलन पूर्णतः हराइसकेको छ । गोडा धुने कार्य सम्पन्न भएपछि सिन्दुर हाल्ने, दुलाहा र दुलहीलाई दही चटाउने एवं पितृ जुधाउने कार्य गरिन्छ । सिन्दुर हालेको दृश्य माइती पक्षले हेर्नुहुँदैन भन्ने मान्यता अरू समुदायमा जस्तै दुरा समुदायमा पनि छ । पितृ जुधाउँदा दुलही र दुलहाको गोत्र भनिन्छ । दुलही र दुलहाका लागि पालामा बेग्लाबेग्लै बत्ती बालेर त्यसलाई टपरीले छोपिन्छ । बत्तीलाई निभ्नबाट जोगाइन तेल थपिन्छ । त्यसै विधि अनुसार पूजा गरिन्छ । 

पहिले पहिले दुलहा तथा जन्तीले दुलहीको एक रात बिताउँथे । त्यसैले गोडाधुने तथा दही चटाउनेसम्मका सम्पूर्ण वैवाहिक विधिविधान रातमै हुन्थे । अहिले एकै दिनमा छोटो छरितो किसिमले विवाह गर्ने चलन आएको छ । उही दिनमा जन्ती आउने र उही दिनमा दुलही लैजाने परिपाटी पनि विकास भइसकेको छ । आजकल विवाहको लम्बेतान प्रक्रिया छोट्टिन थालेका छन् ।

सिन्दुर हाल्ने काम सकिएपछि विवाहसँग प्रक्रियासँग जोडेर मनोरञ्जनात्मक सञ्चालन गरिन्छ । बाँसको हुक्कामा लागि दुलाहालाई तमाखु खुवाउने गरिन्छ । तमाखुमा खुर्सानीको धूलो पनि झुक्याएर राखिन्छ  । पूmलको माला भनेर झुक्काई बाख्रा वा पाडाको आन्द्रा लगाइदिने गरिन्छ । यस्तो बेलामा दुलहा, दुलहाका साथी र कलिया निकै सावधान हुनुपर्छ । यस्ता क्रियाकलापको मूल उद्देश्य विवाह समारोहलाई मनोरञ्जनमूलक बनाउनु नै हो ।

भोलिपल्ट बिहान कन्यादान दिइन्छ । कन्यदान सम्पन्न भएपछि जन्ती दुलाहाको घरतर्फ लाग्ने बेलामा एक पाथी धान भरी त्यसमाथि निगालोको सिन्कामा कपास बेरेर राखिन्छ । यसलाई पिउरी भनिन्छ । पिउरी प्राप्त गर्नु विवाह एकदमै महत्वपूर्ण पक्ष मानिन्छ । विवाहको समयमा दिइएको पिउरी सम्बन्धित दुलहा दुलही मृत्युु संस्कारमा प्रयोग हुन्छ । मृत्युु संस्कारमा पिउरी अपरिहार्य मानिन्छ । पिउरी नपाएमा विवाह अधुरो मानिन्छ । त्यसैले भागी विवाह भए पिउरी प्राप्त गर्ने बाटो खुल्ला गर्न टीका थापिन्छ । पूरा गरी पिउरीको बाटो खुल्ला गरिन्छ । दुलाहले दुलही लिएर जाँदा पिउरी हातमा समातेर लैजानुपर्छ । 

दुलहा पक्षबाट दुलही पक्षका बज्यै, ठूली आमा, मुसी–आमा भाइखलकका आमा बज्यै, फुपूलगायतका सबै महिला नरनतालाई ढोकनी–भेटनीको दस्तुर दिइन्छ । पुरानो समयमा यस्तो दस्तुर मोहर–रूपैयाँ तोकिए पनि समय अनुसार दस्तुरको सिलिङ बढ्दै गएको छ । यस्तो दैदस्तुर अन्य पक्षलाई पनि दिनुपर्ने हुन्छ । जस्तैः गुँदार दस्तुर, भन्छेरी दस्तुर, टपरी दस्तुर, पर्धेनी दस्तुर, रोदी आमा, दुलहीको भाउजू (कम्मल ओढाए वापत) । अन्त्यमा घरका मान्यजन तथा भाइखलकका सदस्यहरूले दुलाहा–दुलहीलाई टीका लगाएर बिदा गरिन्छ ।  

दुलही अन्माउनुअघि भार नचाइन्छ । भार नचाउनु अघि भार तयार पारिन्छ । यस क्रममा दुईवटा भ्यागुतो, गड्यौला, माछा, बिच्छी, सर्प र भोज खाएर फालिएका केही खानाकुरालाई ठूलो टपरीभित्र बेरेर राखिन्छ । यो काम गोप्य किसिमले गरिन्छ । त्यसलाई दुईटा काठको बीचमा बेरेर राखिन्छ । त्यसलाई दुईजना पुरुषले लाश बोकजस्तो गरी बोक्छन् । दर्शकअघितिर नाच्दै हिँड्छन् । उनीहरू रमाइलो शैलीमा नाच्छन् । यसैलाई भार नचाउनु भनिन्छ ।  

भार नाच्ने दुईजना पुरुषमध्ये एकजनाले पुरुष र अर्को एकजनाले महिलाको भेष धारण गर्छन् । उनीहरूको भेषभूषा दर्शकलाई पेट मिचीमिची हसाँउने खालको हुन्छ । जस्तैः एउटा खुट्टामा एउटा किसिमको जुत्ता र अर्को खुट्टामा अर्को खालको जुत्ता हुन्छ । नाच्नेहरूले हास्यचेतले भरिएका अनेकन रमाइलो प्रहसन गरेर दर्शकलाई हसाउँछन् ।

उता, वाद्यवादन टोलीमा रहेका अग्रज सदस्यले भारमा छोपेर राखिएको भ्यागुतो, गड्याैंला आदि कुन ठाउँमा छ भनेर श्लोकमार्फत सोध्छन् । अर्का सदस्यले पनि श्लोकमै उत्तर दिन्छन् । यसप्रकारको प्रश्नोत्तर निकै सरस र रोचक हुन्छ । अहिले श्लोक हाल्नेहरू नै भेटिँदैनन् ।  भार नचाउने कार्य सम्पन्न भएपछि भार नचाउँदा प्रयोग गरिएका सामग्रीलाई कलियाले सिस्नोको फेंदमा फाल्दछन् । 

दुलाही अन्माएर बाटो लाग्दा बाटोमा पर्ने गाउँका आमाहरू बाटो छेक्छन् । हिँड्ने बाटो पूरै छेकिने गरी जाँड, रक्सी, रोटी, अचारजस्ता खाद्यवस्तु राखिएका हुन्छन् । यी खाद्य परिकारलाई ठाउँ र परिस्थिति हेरी गुन्द्री, कम्मल वा मजेत्रोमाथि राखिन्छ । बाटो छेक्दा स्थानीय जनसमुदाय बाटो नै छेकिने गरी नाचगान गर्छन् । यस्तो अवस्थामा बाटो नाँघेर जानु अशोभनीय मानिन्छ । बाटो छेक्नेहरूलाई कलियाले निश्चित दस्तुर तिर्दै जानुपर्छ । अनिमात्र उनीहरूले बाटो छाडिदिन्छन् ।

दुलही लिएर जन्ती दुलाहाको घरमा आइपुगेपछि दुलाहाको भान्जाले उखुको ढा“कमा उनिएको पेरुङ्गो राखिएको रोटी लिएर तीन फन्को घुम्दछन् । दुलहाको दिदी वा बहिनीमध्ये एकजनाले करुवाको पानी नटुटाइकन हाल्दै जान्छिन् । एकजनाले थालमा रहेको पिठोबाट बनाइएको सातवटा बत्ती घुमाउँछिन् । आँगनदेखि मझेरीसम्म सात थुप्रो धान माथि दीयो राखिन्छ । दुलहीले एउटालाई कुल्चँदै अर्कोलाई जोगाउँदै घर भित्र प्रवेश गरिन्छ । घरभित्र प्रवेश गरिसकेपछि ढोका लगाइन्छ । बन्दुक पडकाइन्छ । दुलहीले आफ्नो थैलीबाट केही दाम झिकेर सासूलाई ढोग्ने चलन छ । ससुरालाई बासामा चुरोट वा सुर्ती राखेर ढोग्नु पर्छ । तर, अहिले आएर यो चलन बिलाइसकेको छ ।  

सोही समयमा भाले काटेर बाहिर फ्याकिन्छ । काटिएको भाले दाहिने हर मिचेर पल्टियो भने वैवाहिक जीवनमा दुलहीको प्रभुत्व चल्ने र देब्रे हर मिचेर पल्टियो भने श्रीमान्को प्रभुत्व चल्ने जनविश्वास छ । यसरी काटिएको भालेको कलेजो हेरिन्छ, जसलाई चियाँ हेर्ने भनिन्छ । चियाँको अवस्था र अवस्थितिको आधारमा नयाँ दम्पत्तीको दाम्पत्य जीवनबारे भविष्यवाणी गर्ने चलन छ । 

दुलही भित्राएको भोलि वा पर्सिपल्ट दुलान फर्काउने चलन छ । यसलाई स्थानीय लवजमा दुर्गानी फर्काउने भनिन्छ । दुर्गानी फर्काउन जा“दा रोटी, रक्सीजस्ता कोसेली लिई दुलहा र दुलही माइतमा जान्छन् । कोसेली बोक्ने काममा दुलहीका साथीहरू खटिन्छन् । दुलहीको माइतीतर्फका भाइ–खलकले कोसेली खान्छन् । त्यसपछि दुर्गानीमा जति कोसेली ल्याइएको हुन्छ, त्यसको दोब्बर बनाएर दुलहाको घरमा पठाइदिने चलन छ । 

२. प्रेम विवाह

प्रेम सर्वजनीन विषय भएकाले प्रेम विवाह दुरा समुदायका लागि पनि अपवाद हुने कुरै भएन । केटा र केटीको मन मिलेमा प्रेम विवाहको ढोका खुल्छ । केटाले घर सल्लाह गरेर केटी लिएर आउँछ । केटीलाई भित्र्याइन्छ । बन्दुक पडकाइन्छ । भाले काटिन्छ । त्यसपछि उनीहरूलाई बा–आमा तथा नातेदारद्वारा टीकाटालो गरिन्छ । दुलही भित्र्याएपछि गाउँका आमाहरू दुलहाको घरमा रत्यौली खेल्न आइपुग्छन् । भोलिपल्ट इष्टमित्र र छरछिमेकलाई बोलाएर आफ्नो गच्छे अनुसार छोटो–छरितो तरिकाले भतेर खुवाइन्छ । प्रेम विवाहमा मृत्युसंस्कारमा अपरिहार्य मानिने पिउरी नपाइने भएकाले पछि टीका थाप्नुपर्ने हुन्छ । टीका थाप्ने कार्यमा विवाहका सबै प्रक्रिया र चरण अपनाइन्छ । त्यसैले टीका थाप्ने कार्य विवाहजत्तिकै झञ्झटिलो र खर्चालु हुन्छ ।  

पुरानो समयमा केटाले केटीलाई एकतर्फी रूपमा मन पराएमा उसलाई केटीको हात छुन लगाई साथीभाइ मिली केटीलाई जबरजस्ती भित्र्याउने चलन थियो भन्ने सुनिन्छ । अहिले यस्तो चलनको अवशेष पनि भेटिँदैन । प्रेम विवाहमा देखापरेको नयाँ ट्रेन्ड के हो भने केटा र केटीबीच गहिरो मायामोहमा परेको घडीमा कतिपय अवस्थामा केटा पक्ष र केटी पक्षका अभिभावकबीच कुरा मिलाइन्छ । त्यसपछि मागी विवाहकै शैलीमा विवाह गरिन्छ । तर, सबै अवस्थामा यस्तो हुँदैन ।

३.भित्र्याउने विवाह

विगतमा कुनै केटाले कुनै कुटुम्ब पर्ने केटीलाई दिलैदेखि मन पराएको तर उसको मन जित्न नसकेको अवस्थामा उसले साथीसँगीको सहयोगमा केटीलाई जबरजस्ती आफ्नो घरमा भित्र्याउँथ्यो । यसरी मन परेकी केटीलाई उसको इच्छाविपरीत जबरजस्ती श्रीमती बनाउने कार्यलाई स्थानीय लवजमा ‘भित्र्याउने’ भनिन्छ ।

विगतमा जात्रा, पर्म वा वनपात गएको बखत मौका छोपी चिलले चल्ला टिपेजस्तै गरेर केटीलाई सम्बन्धित व्यक्तिको घरमा भित्र्याइन्थ्यो । कतिपय अवस्थामा केटी फुत्किएर पुनः माइतै पुग्थे । यस्तो अवस्थामा स्थानीय भद्रभलाद्मीको सहयोगमा कुरा मिलाइन्थ्यो । युगको कसीमा राखेर हेर्दा तानेर ‘भित्र्याउने’ कार्यलाई सही चलन भन्न सकिँदैन । मानव अधिकार तथा महिला अधिकारका दृष्टिले पनि यस्ता क्रियाकलाप उपयुक्त देखिँदैन । त्यही भएर होला, यो प्रचलन दुरा समुदायमा इतिहास बनिसकेको छ । 

४. जारी विवाह

अर्काको श्रीमतीलाई विवाह गर्ने कार्य नै जारी विवाह हो । कसैको श्रीमतीसँग मायामोहमा परेर वा कुनै कारणले जारी विवाह गरिन्छ । यस्तो विवाहमा केटीको पूर्वपतिलाई निश्चित रकम तिर्नुपर्ने हुन्छ, जसलाई ‘जारी तिर्ने’ भनिन्छ । दुरा समुदाय यसप्रकारको विवाह फाट्टफुट्ट देखिए पनि ‘जारी तिर्ने’ पुरानो चलन अहिले भने हराइसकेको छ ।

५‍. टीका थाप्ने विवाह

प्रेम वा भागी विवाह भएको वा सटासुटु विवाह भएको अवस्थामा टीका थापिन्छ । यो अनिवार्य सांस्कृतिक रीत हो । यसमा मागी विवाहमा अपनाइने लगभग सबै प्रक्रिया मनाइन्छ । त्यसैले टीका थाप्नु भनेको सम्बन्धित जोडीका लागि एक प्रकारको पुनर्विवाह नै हो । यसको मूलभूत उद्देश्य भनेको मृत्यु संस्कारका लागि अपरिहार्य मानिने पिउरी प्राप्त गर्नु नै हो । माइतीबाट पिउरी नपाएसम्म सम्बन्धित सम्बन्धित व्यक्तिको मृत्यु भएको बखत मृत्युसंस्कार अघि बढाउन सिद्धान्ततः मिल्दैन । पहिले पहिले ठूलो दशैँमा मात्र टीका थापिन्थ्यो । अहिले उपयुक्त दिन वा साइत हेरेर टीका थाप्ने चलन आएको छ ।

विवाह सम्बन्धी रोचक सन्दर्भ

धागो बाँध्ने 

धागो बाँध्ने कार्य आफैंमा विवाह होइन । तर, विवाहको पूर्व रूप हो । विगतमा कतिपय अभिभावकले आफ्ना छोरा वा छोरी सानै छँदा कसैसँग विवाहको निधो गरिदिन्थे । ‘मेरो छोरी र तिम्रो छोरीबीचको विवाह पक्का भयो’ भनेर केटाले केटीको नाडीमा धागो बाँध्न लगाइन्थ्यो । धागो बाँधिसकेपछि सम्बन्धित केटा र केटीबीच विवाह हुनैपर्‍थ्यो । सम्बन्धित केटीलाई कसैले धागो बाँधेको थाहा पाएपछि कटुम्बले कुरा पनि हाल्न जाँदैनथे ।  विवाह गर्ने उमेर भएपछि बाल्यकालमै धागो बाँधिएका जोडीको विवाह हुन्थ्यो । कतिपय अवस्थामा यस्तो विवाह अफापसिद्ध हुन्थ्यो । कसै कसैको भने राम्रोसँग नै घरबार चल्थ्यो । धागो बाँध्ने चलन अहिले पूर्णतः अन्त्य भइसकेको छ । 

पारपाचुके

विगतमा श्रीमान्–श्रीमतीबीच कुनै कारणले मन नमिलेमा भद्रभलाद्मीको सहयोगमा औपचारिक रूपमा सजिलै सम्बन्ध विच्छेद हुन्थ्यो । सम्बन्ध विच्छेद गर्ने कार्यलाई ‘सिन्का–पाङ्ग्रो गर्ने’ भनिन्छ । विगतमा श्रीमान्ले श्रीमती छोड्न चाहेमा ‘ला फरिया लगा’ भनेर केही रकम श्रीमतीलाई दिने तथा श्रीमतीले श्रीमान् छोड्न चाहेमा ‘ला कछाड लगा’ भनेर निश्चित रकम श्रीमान्को हातमा राखिदिने चलन थियो भनेर बूढापाका भन्छन् । अहिले यस्तो चलन दुरा समुदायमा कतै भेटिँदैन ।

अहिले सम्बन्ध विच्छेद विगतको जस्तो सरल र सहज छैन । बढ्दो जनचेतना, बाहिरी समाजको देखासिकी एवम् राष्ट्रिय कानुनको प्रभावले पारपाचुके जटिल र महङ्गो बन्दै गएको छ । अहिले कतिपय सम्बन्ध विच्छेदसँग जोडिएका मानुचामल भर्ने–भराउने विषयमा लाखौँ रूपैयाँको मागदाबी हुन थालेको छ । सम्बन्ध विच्छेदका कतिपय मामिलामा समेत पुगेको देखिन्छ । 

उपसंहार

यहाँ वर्णित विवाह पद्धति मूलतः ग्रामीण परिवेशमा आधारित परम्परागत विवाह प्रणाली हो । अहिले दुरा समुदायको जीवनशैलीमा अकल्पनीय परिवर्तन आएको छ । दुरा समुदाय शहर बजार बस्न थालेका छन् । विदेशमा पनि बस्न थालेका छन् । अहिले पुरानो शैलीको विवाह पद्धतिमा तीव्र क्षयीकरण शुरु भइसकेको छ । आधुनिक शैलीको विवाह पद्धतिले दुरा समुदायमा राम्रै प्रवेश पाइसकेको छ । भारतीय टेलिभिजन च्यानलमा देखिएका दृश्य दुरा समुदायको विवाहमा देखियो भने त्यसलाई अनौठो नमाने हुन्छ । त्यसैले, माथि वर्णित विवाह पद्धति र प्रक्रिया अहिले गाउँमै पनि नभेटिन सक्छ । 

३०–४० वर्ष अघि जन्तीलगायत पाहुनालाई टपरीमा मासु–भात दिइन्थ्यो । अहिले गाउँघरमा पनि टपरीमा चलन हराइसकेको छ । अहिले गाउँमै पनि आधुनिक भाँडावर्तन पुगेकाले टपरी युगको पूर्णतयाः अन्त्य भइसकेको छ । खानेकुरामा पनि विविधता आएको छ । 

भेषभूषमा पनि व्यापक परिवर्तन आएको थियो । विगतमा दुलहाले पेटेभोटो र कछाड लाउँथे । अहिले टाइ सुट लगाउने चलन आइसकेको छ । दुलहीले गुन्यु–चोली लाउँथे । अहिले आधुनिक शैलीको विवाह पहिरनमा देखापर्न थालेका छन् । विगतमा दुलहा–दुलही डोलामा बोकिने चलनको अन्त्य भइसकेको छ ।

पातमा गोडा धोएर छोरीको कर्म चलाउने विगतको सहज परिपाटीमा अहिले बहुमूल्य दाइजो दिने चलन दुरा समुदायमा भित्रिएको छ । यसबाट दुरा समुदाय विवाह पद्धति निकै महङ्गो हुँदै गएको छ । अर्को दृष्टिले हेर्दा यसले दुरा समुदायको बदलिँदो आर्थिक हैसियतलाई पनि सङ्केत गर्छ । विगतमा वर्गविहीनजस्तै देखिने दुरा समुदायमा वर्गको उदय भएको देखिन्छ । यसबाट दुरा समुदायको बुद्धिजीवी वर्ग चिन्तित छ । 

विवाहमा हुने टकढक र दस्तुरको लेनदेनमा अनावश्यक आडम्बर बढ्न नदिने सम्बन्धमा समाजका सचेत वर्गबीच तर्क–वितर्क चल्छ । विवाहलगायत तमाम सांस्कृतिक चक्रलाई सरल र सुलभ बनाउने अभिप्रायले दुरा समुदायको छाता संगठन ‘दुरा सेवा समाज’ ले दुई दशक अघि नै आन्तरिक नियम पनि बनाएको पनि हो । त्यसको पालना भएको देखिँदैन । आजकल, समाजको नीतिनियम भन्दा व्यक्तिको चाहना र आकाङ्क्षा अतिशय बलवान् बनेको देखिन्छ ।