आत्महत्याः भयानक कारक बन्दै सामाजिक संजालको दुरूपयोग

आत्महत्याः भयानक कारक बन्दै सामाजिक संजालको दुरूपयोग

बम बानियाँ  |  दृष्टिकोण  |  भदौ १५, २०७६

संसारमै सबैभन्दा बढी आत्महत्या गर्ने देश जापान हो । त्यसमा पनि ‘टिन एजर्स’ले बढी आत्महत्या गर्ने गरेको तथ्यांक छ । जापानले सन् २००७ मा आत्महत्या कम गर्न केही सिद्धान्त अघि सारेको थियो । अहिले जापानको आत्महत्या दर घट्दै आएको तथ्यांकले देखाएको छ । 

नेपालमा भने पछिल्लो समय नेपालको आत्महत्या दर वृद्धि हुँदै गइरहेको छ । नेपाल प्रहरीका अनुसार २०७०/०७१ मा चार हजार ५०० ले आत्महत्या गरेका थिए भने यो संख्या बढेर २०७४/०७५ मा पाँच हजार ३१७ पुगेको थियो । आत्महत्याको कारण थप जटिल पनि बन्दै गएको छ । अहिले सञ्चारको निकै ठूलो सञ्जाल फैलिएकाले सानासाना घटनाहरू पनि जताततै फैलिएका छन् । यो एउटा सुखद पक्ष पनि हो । यस अगाडि कैयौँ अपराधहरू दरबारमै छुपाइए । गाउँमै लुके । बलात्कार छुपाइए । हत्यालाई आत्महत्या बनाइए । कैयौँ हत्याहरू स्वाभाविक मृत्यु बनाइए । कैयौँ निर्मला पन्तहरू कुनै सञ्चारमै नआई बलात्कृत भए । कमसे कम आज दोषी पत्ता नलागे पनि मिडियामा त आए । 

एउटा प्रसंग 

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सञ्चारकर्मी रवि लामिछाने आत्महत्या दुरुत्साहनमा मुछिएको केसले आत्महत्यासम्बन्धी विषयले सनसनी मच्चाएको छ । रविले अमेरिकाको बसाइ त्यागेर नेपालमा पहिलो चरणमा निकै ‘वाह वाह’ पाए । उनले भ्रष्टचारविरुद्ध निकै साहसी समाचार पनि प्रसारण गरे । नेपाली चेलीबेटीहरूको विदेशबाट उद्धार गरिएका काम पनि निकै चर्चामा आए । 

सामान्यतः नेपाल जस्तो भ्रष्टाचारले आक्रान्त मुलुकमा रवि जस्ता मान्छे रातारात चर्चित हुनु स्वाभाविक थियो र भए पनि । उनको समर्थनका नाममा जुटेको जनमासले एउटा झट्का सन्देश त दिएकै छ । बोल्नमा गिनिज बुक अफ वल्र्ड रेकर्ड नै कायम गरेका रवि नेपालमा पारिवारिक कारण, नागरिकताको कारण सधैँ चर्चा र विवादमा आइरहेका थिए । भ्रष्टाचारविरुद्धको जनताले देख्ने खालका काममा चर्चा पाए पनि ठूलाठूला भ्रष्टाचारका काण्डहरू भने उनले पर्गेल्न सकेनन् र सकेका छैनन् पनि । उनी केही ठेकेदार, नेता, कर्मचारी, जसको भ्रष्टाचार संचारमा ल्याइदिए, उनीहरूको भने निशानाको पात्र नै बनेका थिए । भ्रष्टाचार नियन्त्रणमा उनको योगदानलाई मान्नै पर्छ ।  पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दाले रविलाई नेपाली समुदाय माझ एउटा निकै ठूलो विवादमा ल्याएको छ । रविका पक्षधरहरू कानुनभन्दा माथि रविले जेजे गरे पनि ठीक भन्दै सडकमा उत्रिए । हुलहुज्जतलाई सम्बोधन गर्दै अहिले देशको निर्माता नै झैँ गरेर रवि पनि अदालतबाट पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएपछि सम्बोधन गरिरहेका छन् । 

नेपाल जालझेलमा निकै अगाडि रहेको मुलुक हो । त्यसैले को असल, को गलत ? सजिलैै चिन्न कठिन नै हुन्छ । हुल र राजनीतिक स्वार्थको आन्दोलन र भीड भनेको कहिलेकाहीँ ठूलो दुर्घटनामा पर्ने खतरा हुन्छ । जस्तोः डा. गोविन्द केसीको महत्त्वपुर्ण एजेण्डा बोकेको अनसनलाई कांग्रेसले बोकेर सडकमा हिँडेपछि लगभग समाप्त नै भयो । त्यस्तै, रविका केही काम सकारात्मक, लोकप्रिय भए पनि अहिलेको काण्डमा यो भीड राजावादी तथा अन्य दलले सरकार र विशेषगरी केही नेताको राजनीतिमा खेल्ने दाउपेच बन्यो भने नतिजा फरक पर्नसक्छ । अहिले पुडासैनी र रविको बारेमा यति नै । 

अहिले सञ्चारको निकै ठूलो सञ्जाल फैलिएकाले सानासाना घटनाहरू पनि जताततै फैलिएका छन् । यो एउटा सुखद पक्ष पनि हो । यस अगाडि कैयौँ अपराधहरू दरबारमै छुपाइए । गाउँमै लुके । बलात्कार छुपाइए । हत्यालाई आत्महत्या बनाइए । कैयौँ हत्याहरू स्वाभाविक मृत्यु बनाइए । कैयौँ निर्मला पन्तहरू कुनै सञ्चारमै नआई बलात्कृत भए ।

दोस्रो प्रसंग 

आत्महत्याकै कुरा । सामान्य मानिसहरूले कति के कारणले आत्महत्या गरे ? यसबारे आजसम्म खासै कुनै बहस र चर्चा पनि भएन । प्रहरी निरीक्षण गर्न गयो, पोष्टमार्टम गर्‍यो, कारण दियो, प्रतिवेदन बनायो, तथ्यांक संकलन गर्‍यो, कार्यालयको भित्तामा टाँसेर राख्यो, सकियो । तर, अब यो अवस्था कानुनी रूपले, सामाजिक, सांस्कृतिक रूपले जटिल र खोजमूलक विषय बन्दै गएको छ । 

यहाँ सिन्धुली जिल्लाको गत तीन वर्षको तथ्यांक हेर्दा निकै भयानक देखिन्छ । सिन्धुली जिल्लामा तीन वर्षमा २०५ जनाले आत्महत्या गरेका छन् । त्यसमा पनि आत्महत्या गर्ने पुरुषको संख्या बढी छ । तीन वर्षमा ११९ पुरुषले आत्महत्या गरेका छन्, जसमा महिलाको संख्या ८६ रहेको छ । यो जिल्लामा बालबालिकाको आत्महत्या गर्ने क्रम पनि बढ्दै गएको प्रहरीको प्रतिवेदनले देखाएको छ । 

तीन वर्षमा २२ बालबालिकाले आत्महत्या गरेका छन्, जसमा १२ जना बालक र १० जना बालिका रहेका छन् । प्रहरीको खोज अनुसन्धानका आधारमा बालबालिबाको आत्महत्याको मुख्य कारण सामाजिक संजालको गलत प्रयोग देखिएको छ । सामाजिक संजाल फेसबुकमार्फत् प्रेम गर्ने र प्रेम असफल हुँदा आत्महत्या गर्ने धेरै छन् । जापानमा पनि धेरै बालबालिकाहरूको आत्महत्याको कारण प्रेम वियोग नै हुन्थ्यो । यस जिल्लामा सामाजिक संजालबाट बसेको प्रेम बिछोडका कारण १४ वर्षीय बालकले समेत आत्महत्या गरेको प्रहरीसँग तथ्यांक छ । आत्महत्या झुण्डिएर र विष सेवन गरेर गर्ने गरेको पाइन्छ । सिन्धुलीमा तीन वर्षकै तथ्यांक हेर्दा ४७ जनाले विष सेवन गरेर आत्महत्या गरेका देखिन्छ । 

यो त एउटा जिल्लाको उदाहरण मात्रै हो । आत्महत्यामा वृद्धि हुनुमा आत्महत्या गर्ने व्यक्ति मात्रै जिम्मेवार नभएर हाम्रो सामाजिक तथा मनोवैज्ञानिक कारण पनि हुन्छन् तर हामीले यी विषयहरूमा सोचेको देखिँदैन । हामीले भन्दै आएका छौँ– ‘कायर र नकारात्मक सोच भएकाले मात्रै आत्महत्या गर्छ, यस्ताको माया गर्नुहुन्न, बिर्सनुपर्छ ।’ अझ ‘उसको लेखन्त नै यस्तै रहेछ । उस जन्मको साहु रहेछ । यो जन्मनुभन्दा त गर्भमै तुहिनु नि !’ जस्ता निराधार आक्षेपसमेत लगाएको पाइन्छ तर यो सरासर गलत हो । आत्महत्यालाई हेर्ने हाम्रो समाज र राज्यको नै दृष्टिकोणमा परिवर्तन हुन जरुरी छ । 

अहिले जो शालिकरामको आत्महत्यामा रवि लामिछानेमाथि जुन आत्महत्या दुरुस्सानको आरोप छ, यो मुद्दासम्बन्धी कानुन नै स्पष्ट नभएको देखिन्छ । खास कानुनमा ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति गर्न वा गराउन हुँदैन’ (मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ को उपदफा (१) मा) उल्लेख छ तर के गर्दा दुरुत्साहन हुन्छ भन्ने स्पष्ट व्याख्या छैन । 

अहिले हेर्दा रवि लामिछानेमाथि दायर भएको मुद्दाले विभिन्न कानुनी प्रश्न जन्माएको छ । आत्महत्याको केसमा जाहेरी परेमा मात्र अनुसन्धान गर्ने प्रहरी प्रशासन नै अन्योलमा देखिन्छ । अब यो दुरुत्साहन मुद्दा अहिलेको हाम्रो बुझाइअनुसार नै जाने हो भने कुनै एउटा सर्वसाधारण नागरिकले ‘नेपालका सबै राजनीतिक नेता वा प्रधानमन्त्री, मन्त्रीको कार्यशैलीको कारण, देशमा सरकारले बोलेको काम नगरेको, जनतालाई पटक पटक ढाँटेको, देशमा बस्न चाहँदाचाहँदै पनि रोजगारी नपाएको, विदेश जान मन नलागेको र मेरो मृत्युको कारण यो देशका राज्य संचालक सबै हुन् र नै मैले आत्मदाह गर्ने निर्णय गरेकोे’ भन्ने लेखेर या बोलेर आत्महत्या गर्‍यो भने के हुने ? हरेक आत्महत्या केही जटिल कारणले मात्रै हुनछन्, सबै उल्लेख गर्दै जाने हो भने केसम्म हुँदै जाला भन्ने सोच्न जरुरी छ र कानुनमा उल्लेख हुन जरुरी देखिन्छ । 

तेस्रो प्रसंग 

सामजिक संजाल र आत्महत्या । नेपालमा सामाजिक संजालले निकै धेरै विसंगति तथा विकृति ल्याएको छ । जस्तोः एउटा मेरै नजिकको घटना उल्लेख गर्न यहाँ उपयुक्त होला । श्रीमान् र श्रीमती फेसबुक आईडी एकआपसमा साटेर बराबर चलाउने रहेछन् । श्रीमान् विदेशमा भएको समयमा श्रीमतीले फेसबुकमा अर्को केटासँग बोलचाल मात्रै गरेको आधारमा श्रीमान्ले विदेशमै आत्महत्या गर्‍यो । यो फेसबुकको च्याटले देखाउँछ । 

अब यस्तो अवस्थामा कस्तो कानुन लगाउने ? के श्रीमतीलाई दुरुत्साहन मुद्दा लगाउने ? शालिकरामको आत्महत्याबारे बहस भइरहेकै समयमा दुरुत्साहन मुद्दा पनि वृद्धि हुन थालेका छन् । दुरुत्साहन मुद्दामा कञ्चनपुरमा एक युवा गणेश थापालाई जेल चलान गरियो । उनकी प्रेमिका लक्ष्मी बुढाको आत्महत्याको कारण गणेश नै हुन् भन्ने किटानी जाहेरीको आधारमा उनलाई समातिएको हो । त्यसैगरी फेसबुककै मेसेञ्जरमा गाली गरेको आरोपमा एक युवा जेल चलान गरिएको समाचार आएको छ । अब यो तरिकाले आत्महत्याको स्पष्ट कानुन बन्न सकेन भने आत्महत्या एक नजिरको रूपमा विकास हुनेछ, जसले आत्महत्या थप बढ्ने खतरा देखिन्छ ।

आत्महत्याका कारण 

आत्महत्याका विभिन्न कारणहरू हुनसक्छन् । नेपालमा केही समय अगाडि भ्रष्टाचारको मुद्दा लागेका उदयपुरका एक जना कर्मचारीले अख्तियारमा बयान दिन आउँदा अख्तियारकै छतबाट हामफालेर आत्महत्या गरे । उनले निकै लामो नोट लेखेर छाडेका थिए, जसमा उनले भ्रष्टाचार नगरेको तर फसाइएको व्यहोरा उल्लेख थियो । यदि त्यो विषय छानबिन गर्ने हो भने यस्तो मुद्दा अख्तियारलाई नै लाग्ने कि नलाग्ने ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हुन्छ । 

केही वर्ष अगाडि नेपालको त्रिविविबाट स्वर्ण पदक विजेता, कलाकार, साहित्कार व्यक्तित्व अर्जुन खालिङ (जुभिङ सोलुखुम्बु)ले आत्महत्या गरे । थुप्रै बौद्धिक व्यक्तित्वहरूले उनको आत्महत्यामा राज्य दोषी छ अर्थात् राज्यको कारणले उनले आत्महत्याको बाटो रोजे भनेर भने । तर, उनको कुनै मृत्यु–पत्र भने थिएन । कला र पहिचानको मुद्दामा अडिग रहेका खालिङ राज्यप्रतिको चरम असन्तुष्टिका कारण डिप्रेसनबाट आत्महत्याको बाटो रोजेका अनुमान आफन्त र पहिचानवादीहरूको रहेको छ । 

प्रेम गर्ने र धोका दिने, सामाजिक संजालको दुरूपयोग गर्ने, लागुऔषध दुव्र्यसनीमा फस्ने, अत्यधिक जाँडरक्सी खाने, ढुकुटी खेल्ने र डुब्ने, शेयर कारोबार गर्ने डुब्ने, भूकम्पले हाउजिङ ढालिदिने र करोडौँमा डुब्ने, बेरोजगार हुने, पारिवारिक झगडा हुने जस्ता कारणहरूले डिप्रेसनमा जाने र यिनै आजभोलि आत्महत्याका मुख्य कारणहरू बनेका छन् । अब नेपालमा पनि आत्महत्याको यो शृङ्खला कम गर्न या न्यूनीकरण गर्न परिवार तथा राज्यले समाधानका लागि केही शिद्धान्तहरू अवलम्बन गर्न जरुरी देखिएको छ ।

आत्महत्या न्यूनीकरणका उपाय

सर्वप्रथम आत्महत्याको कारणबारे अनुसन्धान गरी कानुन निर्माण तथा न्यूनीकरणका उपायहरू अवलम्बन गर्नुपर्छ ।

    आत्महत्या दुरुत्साहनसम्बन्धी कानुनको स्पष्ट व्याख्या  हुनुपर्छ र दोषीलाई हदैसम्मको कार्वाही हुनुपर्छ ।

    राज्यले देशमा रोजगारीको सिर्जना गर्नुपर्छ ।

    जीवन जिउने उत्प्रेरणा र उद्यमशील तालिमहरू स्वदेशमै दिइनुपर्छ ।

    सामूहिक परिवारको पुनर्निर्माण गर्ने किनकि एकल परिवारले गर्दा आज मान्छे एक्लो हुँदै गएको छ । जब मान्छे एक्लो हुन्छ, ऊ कहिलेकाहीँ सोचको शून्यतामा झर्छ र आत्महत्याको बाटो रोज्नसक्छ । ठूलो परिवारमा यो हुँदैन ।

    समाजबाट आर्जित कारण नै आत्महत्याको मुुख्य कारण हुने भएकाले सामाजिक अध्ययन र प्रशिक्षण जरुरी छ । समस्याका विषयअनुसारका फरक फरक प्रशिक्षण शिविर संचालन गर्न सकिन्छ ।

    जीवनमा हरेक मान्छेले काम, आराम, व्यायामको दैनिक रुटिन निर्माण गर्नसके निकै फलदायी हुन्छ ।

    सामाजिक संजाल सरकारबाट नियन्त्रित हुनुपर्छ । साइवर क्राइम नियन्त्रण गर्न सक्नुपर्छ ।

    आत्महत्या दुरुस्साहनको कानुन बनाउनुभन्दा पहिले आत्महत्या नियन्त्रण गर्ने उपाय अपनाउनु उत्तम हुन्छ ।

निष्कर्ष

देशमा अवसर भइदिए आज लाखौँ युवायुवतीहरू अवसरको खोजीमा विभिन्न देशमा पलायन हुन बाध्य हुनपर्ने थिएन । विवाह गर्नासाथ श्रीमती, बाआमा छाडेर खाडी मुलुक जानुपर्ने अवस्था आउने थिएन । घरमा श्रीमती अर्कोसँग पोइल गएको खबर सुनेपछि त्यो युवाले आत्महत्याको बाटो के नरोजोस् ? 

आफ्नै देशमा रोजगार, उद्योग, कलकारखानाहरू, कम्पनी खोलेर देश निर्माण गर्ने बाटोमा देश जाने हो भने उत्पादन बढ्छ, फुर्सद हुँदैन । जब मान्छे फुर्सद हुँदैन, अनावश्यक सामाजिक संजालमा समय बिताउन भ्याउँदैन । जब सामाजिक संजालको दुरूपयोग हुँदैन, त्यसबाट हुने विकृतिको अन्य हुँदै जान्छ । विकृति घट्नु भनेको आत्महत्या घट्नु हो ।