लोप हुँदै बालन नाच

लोप हुँदै बालन नाच

लोकसंवाद संवाददाता  |  जीवनदर्शन  |  माघ २५, २०७५

उदयपुर । जिल्लाको मध्य तथा पश्चिमी पहाडी क्षेत्रमा नाचिने  बालन नाच लोप हुन थालेको छ । अन्य बाह्य गीत, सङ्गीत र संस्कृतिका कारण नाच लोप हुन थालेकामा बूढापाका चिन्तित छन् । 

उदयपुरगढी गाउँपालिका–५ नेपालटारका ८० वर्षीय शेषराज खतिवडा भन्नुहुन्छ, ‘हिजो बाजेपुर्खाले परम्परागतरुपमा प्रस्तुत गर्दै आएका बालन नाचलाई निरन्तर दिएर बचाउँदै आयौँ । तर, अहिलेका पुस्ताले बालन नाच चटक्कै भुले, संस्कृति लोप हुने खतरा बढ्यो ।’ 

रौतामाई गाउँपालिका– २ भुटारका ७५ वर्षीय होमप्रसाद दाहाल पनि नाच लोप हुन थालेकोमा दुःखी हुनुहुन्छ ।  दाहाल भन्नुहुन्छ, ‘आफूहरुको पालामा गाउँघरमा सत्यनारायणको पूजा लगाउँदा होस्, या विवाह, पास्नी, व्रतबन्ध, मङ्सिरे पूर्णिमा, ठूली एकादशी, रामनवमीजस्ता पर्वमा रात्रिको समयमा रातभरि बालन नृत्य गर्ने गरेका थियौँ । तर, अहिले यस्ता पर्वमा डिस्को नृत्य हुन्छ, हिन्दी अङ्ग्रेजी गीत गुन्जन्छन् ।’ अहिलेका पुस्ता यसैमा रमाउँदा परम्परागत बालान नाच लोप हुँदै गएको दाहाल बताउनुहुन्छ । 

रौतामाई–२ भुटार नौलेका ७२ वर्षीय दानबहादुुर राउतका अनुसार उदयपुरको रुपाटार, भुटार, हर्देनी, बाहुनीटार, पञ्चावती, सिरिसे, मयङ्खु, बराह, ठानागाउँ, रुपाटार क्षेत्रमा केही वर्षअघिसम्म बालान नाच नाचिन्थ्यो । तर, अचेल यो नाच नाचिन छाडिएको उहाँको भनाइ छ ।  

बालन नाचमा रामायणका घटनाका कथावस्तुलाई गीत बनाएर पुरुष संयुक्तरुपमा दोहोरो गीत गाउँदै सामूहिक नृत्य गरिन्छ । उदयपुर ठानागाउँका कृष्णप्रसाद बराल हिन्दी तथा पाश्चात्य संस्कृतिको प्रभावका कारण बालान नाचिन छाडिएको बताउनुहुन्छ । 

बालन नृत्य लोप हुँदै जानुमा अहिलेका युवा पिढी नै दोषी रहेको त्रियुगा जनता बहुमुखी क्याम्पस उदयपुरका सहप्रध्यापक टीकाप्रसाद पौडेलको भनाइ छ । पौडेल भन्नुहुन्छ, ‘हामीले बाजेपुर्खाले सिर्जना गरेको संस्कृति बालन नृत्य भुल्दै गयौँ, । अन्य संस्कृतिको प्रभावमा पर्यौँ ।’ बालान नाचको संरक्षणका लागि नयाँ पुस्तालाई नाचको प्रशिक्षण दिनुपर्ने र प्रत्येक चाडपर्वमा अनिवार्यरूपमा बालन नृत्य प्रदर्शन गर्नुपर्ने उहाँको  धारणा रहेको खबर राससमा छ ।