शौचालय जान पालो पर्खन्छन् कैदीबन्दी

शौचालय जान पालो पर्खन्छन् कैदीबन्दी

लोकसंवाद संवाददाता  |  समाज  |  माघ २५, २०७५

तनहुँ । जिल्ला कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी भएपछि शौचालय जान समस्या भएको छ । ३५ जना क्षमता रहेको कारागारमा हाल १३० जना कैदीबन्दी भएपछि शौचालय जान समस्या भएको हो । 

कारागारका चौकीदार नरबहादुर थापाले बिहानको समयमा कैदीबन्दीले शौचालय प्रयोग गर्न लाइन बस्नुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो । कारागारभित्र हाल सात वटा मात्र शौचालय भएकाले कैदीबन्दीलाई समस्या परेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अरु समयभन्दा बिहानको समयमा समस्या हुने गरेको छ । बिहानपख शौचालय जान पालो पर्खनुपर्छ ।’ पर्याप्त शौचालय नहुनु र कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा यस्तो समस्या आएको उहाँले बताउनुभयो । 

कारागारका प्रमुख नारायण अधिकारीले क्षमताभन्दा बढी कैदीबन्दी भएकाले यस्तो समस्या आएको बताउनुहुन्छ । उहाँले कारागारमा रहेका केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरणका लागि पहल गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘दिउँसोको बेलामा त त्यति समस्या हुँदैन, बिहानको समयमा पालो पर्खिएरै शौचालय जानुपर्ने अवस्था छ ।’ 

कारागारमा ६१ थुनुवा र ६९ कैदी गरी १३० जना कैदीबन्दी रहेका छन् । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा असहज भएकाले यस विषयमा कारागार व्यवस्था विभागसँग छलफल गरी समस्या समाधान गरिने बताउनुभयो । 

तनहुँ कारागारमा आठ करोडको लागतमा महिला बन्दीगृह निर्माण भइरहेको छ । गत फागुनबाट निर्माण थालिएको भवन १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पराजुली होम निर्माण जेबीले महिला बन्दीगृह भवन निर्माण गरिरहेको छ । दुई रोपनी क्षेत्रफलमा प्रहरी व्यारेक, कार्यालय भवन र ५० जना क्षमताको बन्दीगृह निर्माण भइरहेको कारागार प्रशासनले जनाएको छ । हाल तनहुँ कारागारमा महिला बन्दीगृह नहुँदा उनीहरुलाई कास्की र गोरखा कारागार पठाउनुपर्ने अवस्था रहेको खबर राससमा कृष्ण न्यौपानेले लेखेका छन् ।