वेस्टइंडीजका विरुद्ध बुमराहको ह्याट्रिक !

वेस्टइंडीजका विरुद्ध बुमराहको ह्याट्रिक !

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ १७, २०७६

काठमाडौं, एजेन्सी । वेस्टइंडीज भ्रमणमा रहेको भारतीय टोलीका खेलाडी जसप्रीत बुमराहले ह्याट्रिक गरेका छन् ।

यो सँगै टेस्ट क्रिकेटमा ह्याट्रिक गर्ने उनी तेस्रो भारतीय खेलाडी बनेका छन् ।

यसअघि हरभजन सिंहले अस्ट्रेलिया तथा इरफान पठानले पाकिस्तानका विरुद्ध ह्याट्रिक गरिसकेका छन् । 

वेस्टइंडीजमा भैरहेको दोस्रो टेस्टको दोस्रो दिन भारतीय टोली ४१६ रनमा अलआउट भएको छ ।

भारतीय टोलीमा २२५ बल खेल्दै हनुमा बिहारीले १११ रनको शतकीय पारी खेलेका थिए ।

तल्लो क्रममा उनलाई शतकीय पारी खेल्नमा इशांत शर्माले राम्रो साथ दिएका थिए । इशांतले ५७ रनको योगदान दिए । पछिल्लो म्याचमा शतक बनाएका अजिक्य रहाणेले २४ रन बनाए ।

कप्तान विराट कोहलीले ७६ रन तथा मयंक अग्रवालले ५५ रनको अर्धशतकीय पारी खेलेका थिए । 

जवाफी ब्याटिंगमा उत्रिएको वेस्टइंडीजले ७ विकेट गुमाएर केवल ८७ रन बनाएको छ ।

अहिले पनि भारत वेस्टइंडीज भन्दा ३२९ रनले अगाडी छ । जसप्रीत बुमराहले ह्याट्रिक सहित ६ विकेट लिएका छन् । 
बुमराहले आफ्नो तेस्रो  ओभरमा  जेम्स कैम्पबेललाई आउट गरेका थिए । त्यसपछि आफ्नो चौंथो ओभरमा उनले डैरेन ब्रावो, शमारा ब्रूक्स तथा रोस्टन चेजलाई आउट गरेर ह्याट्रिक पुरा गरेका थिए ।

मोहम्मद शमीले पनि शिमरन हेटमायरको महत्वपूर्ण विकेट लिएका थिए ।