पानको पातका सर्जकको मदिरासँग पारपाचुके

पानको पातका सर्जकको मदिरासँग पारपाचुके

यमबहादुर दुरा  |  लोकरञ्जन  |  माघ २५, २०७५

२०४१ सालमा वीरगञ्जमा तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहेको थियो । रोचक कुरा के थियो भने उक्त प्रतियोगितामा दोहोरी गीत प्रतियोगिता पनि चलिरहेको थियो । त्यस समयमा दोहोरी गीत पनि खेलकुद प्रतियोगिताकै एक हिस्सा मानिथ्यो । 

दोहोरी प्रतियोगिताका सहभागी टोलीमध्ये लालु गुरुङको टोली पनि एउटा मिठो भाका लिएर प्रतिभाको डबलीमा सामेल रहेको थियो । अर्को प्रतिस्पर्धी टोलीमा जुटेका कृष्णसुधा ढुङ्गानालाई त्यो मोहनी भाकाको गुञ्जनले लठ्याउनुसम्म लठा्यो ।

त्यस भाकालाई एउटा अल्बम समेट्न पाए गजबै हुने थियो भनेर ढुङ्गानाले मनमनै योजना बनाए । नभन्दै उनको त्यो योजनाले २०४३ सालमा साकार रूप लियो । त्यस समयमा अत्यन्तै चर्चाको शिखरमा रहेको त्यही भाकामा ‘पानको पात’ नामक अल्बम बजारमा आएपछि योजनाले साकार रूप लिएको थियो । त्यस चर्चित अल्बममा स्वराङ्कन गर्नेहरूमा पुरुषतर्फ बमबहादुर कार्की, कृष्णसुधा ढुङ्गाना र प्रेमराजा महत थिए भने महिलातर्फ सुमित्रा गुरुङ, मिरा राना मगर र सरल गौचन । 

‘पानको पात’ नामक अल्बमले बजार पिट्यो । त्यस समयको जनजिब्रोमा ‘पानको पात’ले राज नै गरेको थियो भन्दा पनि हुन्छ । भर्खर भर्खरै रेकर्डिङ उद्योग अस्तित्वमा आएको त्यस घडीमा बमबहादुर कार्की, कृष्णसुधा ढुङ्गाना र प्रेमराजा महतलाई त्यस अल्बमले चर्चाको शिखरमा पुर्‍यायो । गाउँ–सहर, रन बन सबैतिर ‘पानको पात’ भाका गुञ्जन थाल्यो । ‘पानको पात’ भन्ने लोक भाका जतिको उनीहरूलाई  जति ख्याति दियो आजसम्म अरू कुनै पनि गीतले त्यति ख्याति दिन सकेको छैन । 

‘पानको पात’ अल्बम बजार पिटेको पनि ३२ वर्ष भइसकेको छ । गायक मण्डलीमध्येका एक हस्ती कृष्णसुधा ढुङ्गाना त्यस बेला २८ वर्षको भर्भराउँदो जवान थिए । अहिले समयले फेरो मारिसकेको छ । उनको रूपरङ्ग बदलिएको छ । समयले घचेटेर उनलाई ६० वर्षको नजिक पुर्‍याउँदैछ ।

फ्रेन्च कट दाह्रीको सजावटमा त्यो पनि घरमुनिको सुर्केगह्रामा हिउँ परे जस्तै सेताम्मे भइसकेका, अनुहारमा बुढेसकालका धर्साहरू प्रस्ट रूपमा कोरिएका, समयले जवानी खोस्दै लगेका, पारिवारिक जिम्मेवारीमा मिचिँदै गएका र समयको दौडमा पछि पर्दै गएका अवस्थामा कृष्णसुधा ढुङ्गाना अहिलेको वास्तविकता हो ।

अहिले लोकसङ्गीतको दुनियाँ धेरै अर्थमा उलटपुलट आइसकेको छ । कृष्णसुधा ढुङ्गानाका धेरै साथीसंगी लाङ्गाबिङ्गा भइसकेका छन् । कतिपय पुराना स्वरजीवीहरू ओझेल परिसकेका छन् । लोकसङ्गीतको महफिलमा ऊर्जावान् तथा प्रतिभावान् नयाँ पुस्ताको दरिलो उपस्थिति छ । लोकगीतको शैली र ढाँचा काँचा बदलिएको छ । हिजो सुन्ने गीतको साम्राज्य थियो, आज हेर्ने गीतको बाढी छ । नयाँ जमाना, नयाँ परिपाटी, नयाँ ‘टेन्ड’ ।

उनलाई जीवनमा दुइटा भयानक नशाले छाडेनन् । एउटा लोकगीतको नशा र अर्को मदिराको नशा । लोकगीतको नशाले उनलाई साङ्गीतिक माहौलमा छिराइदियो भने मदिराको नशाले केही हदसम्म जीवनको लय भत्काइदियो । उनको मदिरा–भोगसँग गाँसिएका किस्सा–कहानी साथीसंगीबीच बहुत चर्चित छन् । 

कृष्णसुधा ढुङ्गानाचाहिँ यो चमकधमकपूर्ण दुनियाँबाट टाढिएका जस्ता, अन्तै कतै अलमलिएजस्तो अवस्थामा देखिन्छन् । उनी लोकगीतको महफिल नयाँ पुस्तालाई सुम्पेर आफू अभिभावकीय भूमिकामा बसेको प्रतीत हुन्छ । उनी लोकगीतसम्बन्धी जमघटमा कहिले कसो मात्रै झुल्किने गर्छन् । 

यद्यपि, लोकगीतको दुनियाँ विकसित घटनाक्रमहरूसँग उनी बेखबर भने छैनन् । हिजोका दिनमा गायनकर्ममा अपठितहरूको अधिकता थियो । अहिले पढालेखाहरूको रज गज नै छ । 
ढुङगानाको ठहर छ, ‘नयाँ पुस्ताका भाइबहिनीहरूले धेरै राम्रा र रसिला गीत बनाएका छन् । तर, ती गीत ग्रामीण जीवनशैलीसँग टाढिँदै र सहरी जीवनशैलीसँग नजिकिँदै छन् ।’ आजका लोकगीतमा हिजोको जस्तो ग्रामीणपन र माटो सुवासमा भेटिन छाडेको उनको बुझाइ छ ।

आफू बाहुन समुदायका भएर पनि तत्कालीन समाजको कठोर नियमले उनलाई बन्दी तुल्याउन सकेन । उनी स्थानीय रोदीघर र अन्य सामाजिक जमघटले जन्माएको साङ्गीतिक माहौलबाट पर रहन सकेनन् । लोकगीतप्रति अभिप्रेरित हुँदै गए । अन्ततः गीत गाउन नहुने मान्यताले राज गरेको समाजमा उनी गायक भएर निस्किए ।

पढाइको बहानामा राजधानी भित्रिएका ढुङ्गानाको ध्याउन्न भने राष्ट्रिय प्रसारण संस्था रेडियो नेपालतिरै थियो । तर, धेरै साथीभाइले ‘पञ्चको रेडियो गीत गाउनुहुन्न’ भनेर उनको बाटोमा अवरोध खडा गर्थे । उनलाई भने जसरी भए पनि रेडियो गीत गाउने रहर पूरा गर्नु थियो । उनले रेडियोमा गीत गाएरै छाडे । त्यहीबाट उनको परिचयको घेरा फराकिलो हुँदै गयो  ।

रेडियो नेपालमा ढुङ्गानाका ४० जति लोकगीत रेकर्ड भएका छन् । ती गीतमा लोकजीवनको ढुकढुकी भेटिन्छन् । यसका अतिरिक्त ‘रातो घाम’, ‘गाइको चरन’, ‘चुल्ठी बाटेर’, ‘चाँदीको मोहोर’, ‘रोदीघर’, ‘लाहुरेको जिन्दगी’ गरी दुई सय जति अडियो अल्बममा उनको गायकी र लोकजीवनप्रतिको मोह छचल्किएका छन् । 

ढुङ्गाना प्रखर दोहोरी गायक हुन् । उनी स्वरका धनी मात्रै होइनन्, शब्द–कारिगर पनि हुन् । उनले लेखेका शब्दहरू जनजिब्रो झुण्डिएका छन् । ‘गाउँ–सहरमा लमजुङ दरबार, मायालाई दिने थिएँ फूलजस्तो जोबन भइसक्यो मेरो घरबार’ ‘रानीघाटैमा, किन काँडा रोप्यौ नि निरमाया आउने बाटैमा’, ‘धान झुलेको छ काँ जाउँ काँ जाउँ भइराछ, मन डुलेको छ’, ‘छिमलेर डाली पलायो, दुई बजे रातिमा सपनीमा कल्ले बोलायो’ गीतहरू जनमनमा अमिट छाप पार्न सफल छन् । ढुङ्गाना नयाँ पुस्ताका प्रतिभाहरूलाई असीम माया दिन्छन् । नयाँ गायक गायिकालाईसघाउँछन् । विमल क्षेत्री, शिला आले, बेगम बुलु गोफिके, दिनेश रञ्जनजस्ता प्रतिभाहरू उनकै छत्रछायामा लोकगीतको दुनियाँमा छाएका हुन् । 

ढुङ्गाना २०७२ सालदेखि कृषिकर्ममा लागेका छन् । काठमाडौँको काभे्रस्थलीमा १० रोपनी जमिनमा तरकारी खेती गर्छन् । कृषिकर्मबाट बचेको समयमा लोकगीतसम्बन्धी कार्यक्रमको निम्ता मान्छन् अनि साथीभाइसँगको भेटघाट र वार्तालापहरूमा रमाउँछन् । 

बारीमा पाखुरा जोतिरहेका ढुङ्गानालाई भेट्न आउनेहरूको भीड लाग्ने गरेको छ । उनको शब्द-कारिगरबाट प्रभावित भएर अहिले पनि दोहोरी गायक–गायिकाहरू गीतको शब्द बनाइमाग्न उनीकहाँ धाउँछन् ।
ढुङ्गानालाई न नामको लोभ छ, न त दामको नै । उनको व्यवहारमा अचम्मको उदारता छ । उनी अरूका लागि गीत लेखिदिन्छन् । तर, आफूले रचेका शब्द भनेर दाबी गर्दैनन् । एक हिसाबले उनी सन्तान जन्माउने तर राम्ररी नस्याहर्ने माउजस्ता भएका छन् । 

लोकसङ्गीतको झङ्कारले जोडेका उनका सम्बन्धहरूको जालो ठुलो छ । साथीसंगीसँग उठबसका प्रसङ्गहरू रोचक छन् । समयले बुनेका किस्सा–कहानी घत लाग्दा छन् । लेख्ने हो भने ती किस्सा–कहानीका बेग्लै पुस्तक बन्छन् ।

२०४० सालको राष्ट्रिय युवा महोत्सवमा उनको चितवनका चर्चित दोहोरी गायक रफिक मियाँसँग राष्ट्रिय नाचघरको गेटैमा भेट भएछ । ढुङ्गानाले गीतमै व्यङ्ग्य कसिहालेछन्, ‘आइपुग्यो रफिके मियाँ, दुइटी स्वास्नी राखेर अधियाँ’ । रफिक मियाँ पनि के कम थिए र ! उनले पनि तत्कालै पैंचो तिरिहालेछन्, ‘सुद्धी छैन यो मोरो सुधाको घरकी स्वास्नी अर्कैले कुदाको’ ।

उनलाई जीवनमा दुइटा भयानक नशाले छाडेनन् । एउटा लोकगीतको नशा र अर्को मदिराको नशा । लोकगीतको नशाले उनलाई साङ्गीतिक माहौलमा छिराइदियो भने मदिराको नशाले केही हदसम्म जीवनको लय भत्काइदियो । उनको मदिरा–भोगसँग गाँसिएका किस्सा–कहानी साथीसंगीबीच बहुत चर्चित छन् । 

जति बेला कृष्णसुधा ढुङ्गाना प्रसिद्धिको शिखर चढ्दै थिए, त्यति बेला प्रहरी वृत्तमा कलाकारको भाउ राम्रो थियो । मदिरापानको असरले बाटोमा छेपारी बटारिहँदा प्रहरीले उनलाई सम्हालेर डेरासम्मै सुरक्षित तरिकाले ल्याइदिन्थे । त्यो पनि एक–दुई पटक होइन, पटक पटक । 

उनका कतिपय साथीभाइले रेष्टुराँमा उधारो खाएर त्यसै छाडेका हुन्थे । खल्तीमा पैसा भएको बेलामा बही खाता पल्टाएर हेर्थे । साथीभाइका बक्यौता आफ्नै सम्झेर तिरिदिन्थे । आफूसँग पैसा नभएको बेलाचाहिँ भगवान् भरोसा । जस्तो पर्छ, उस्तै टर्छ । उनको गीतले उनकै चर्चा गरेभैं लाग्छ : ‘जहाँ पुगुँला, उही आगो फुकुँला...’ । वास्तवमा निष्फिक्री जिन्दगीका हिमायती हुन्, ढुङ्गाना ।

ढुङ्गानालाई एकदमै मन पर्ने गीत हो, कल्याण शेरचनको ‘सुखी ज्यानलाई गुँदरी काम्लो...’ । उनलाई लोकबहादुर क्षेत्री, सावित्री शाह आदिका स्वर बिछट्टै मन पर्छ । अनुज पुस्तामा बिमाकुमारी दुरा, मिरा राना मगर, राजु परियार, राजन ठकुरी, विमल क्षेत्री, शर्मिला गुरुङ, धना पुन, पार्वती जिसी आदिका कला र गलाका प्रशंसक हुन् ।

साङ्गीतिक यात्रामा भेटिएका नारायण रायमाझी, तारा शर्मा, पानुमाया गुरुङ, मन छन्त्याल, तत्सत प्रधान, माया गुरुङ, नन्द राना, लालु गुरुङ, लोकबहादुर क्षेत्री, तीर्थबहादुर गन्धर्व, राजेन्द्र लम्साल क्षेत्री, रामशरण नेपाली, नारायण पाण्डे, काजु शेरचन, रफिक मियाँजस्ता समकालीन प्रतिभाहरूलाई उनी खुबै सम्झना गर्छन् ।

समयको यो विन्दुबाट उनको विगततिर फर्कँदा जिन्दगीका बाङ्गाटिङ्गा बाटा र घुम्तीहरू आँखा अघिल्तिर आउँछन् । उनले केही वर्ष आफ्नो गृह जिल्ला लमजुङमा मास्टर भएर बिताए । राजधानी छिरेपछि नेपाल आयल निगम, साझा यातायात, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत धेरै ठाउँमा जागिर खाए । 

पछिल्लो समयमा नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानमा प्राज्ञ (वि.सं. २०७१–२०७५) भएर लोक सङ्गीत श्रीवृद्धिको जिम्मेवारी सम्हाले । फुक्का फाल भएर हिँड्न मन पराउने ढुङ्गानाले जागिरमा ध्यानै दिएनन् । जागिर कहिल्यै पनि उनको प्राथमिकताको विषय नै परेन । 

उनी न भौतिक वैभव जोड्नतिर लागे, विज्ञापन हुन नै चाहे । न कुनै लोभ–लालच फसे, न त कसैप्रति इष्र्याभाव नै राखे । एक हिसाबले उनी आत्माद्रोही व्यक्ति हुन् । आफ्नो अहित गरेर भए पनि अरूको हित गर्न तम्सने व्यक्ति । उनी आफ्नो दुःख बिर्सिएर अरूको दुःख देख्ने प्राणी हुन् । 

यति बेला भने ढुङ्गाना अलिकति आफ्नैबारे सोच्न थालेका छन् । आफ्ना छरिएर रहेका गीतहरू एकठ्ठ गरेर अल्बम निकाल्ने उनको योजना छ । नयाँ गीत रेकर्ड गर्ने पनि उनको रहर छ । उनी आफ्नो जन्मस्थान दुराडाँडामा ‘लोक सङ्गीत गाउँ’ स्थापना गर्ने योजना पनि बुन्दछन् । उनका अरू दुइटा योजना पनि पाइपलाइनमा छन्– ६० वर्ष पुगेको अवसरमा एकल प्रस्तुति गर्ने र मदिरासँग पारपाचुके गर्ने । 


मदिरासँग ढुङ्गानाको पारपाचुके भएको देख्न चाहने शुभचिन्तकहरू सुखद समाचारको व्यग्र पर्खाइमा छन् । उनको सिर्जनाकर्मबाट वनपाखामा गुञ्जने मौलिक लोकभाकाहरू फराकिलो घेरा ढाक्ने गरी प्रतिध्वनित भइरहुन् भन्ने पनि धेरै भावुकहरूको शुभेच्छा छ ।