मोटोपन : सजिलै गर्न सकिन्छ नियन्त्रण, खाना कम खानु र नियमित व्यायाम उपयुक्त तरिका

मोटोपन : सजिलै गर्न सकिन्छ नियन्त्रण, खाना कम खानु र नियमित व्यायाम उपयुक्त तरिका

प्रा.डा.डम्बरबहादुर कार्की  |  दृष्टिकोण  |  भदौ १७, २०७६

संसारमा मोटा मानिसहरू कति छन् ? यो विषयमा सबैले थाहा पाइराख्नु राम्रो हो । कम आम्दानी र ज्यादा आम्दानी हुने मुलुकहरूका मानिसमा मोटोपन दिनहुँ बढिरहेको तथ्यांकले देखाउँछ । संसारभरका १३ प्रतिशत प्रौढहरू अधिक मोटोपनका सिकार भएको सन् २०१६ को तथ्यांकले देखाएको छ । यसमा ११ प्रतिशत पुरुष र १५ प्रतिशत महिला छन् ।

संसारमा सबैभन्दा ज्यादा मोटोपन भएको देश नौरुल मानिएको छ । यो देशका ६१ प्रतिशतभन्दा बढी प्रौढहरूको बी.एम.आई ३० भन्दा ज्यादा छ । अमेरिकाका ३६.२ प्रतिशत प्रौढहरू मोटोपनको पीडामा छन् । सन् २०१५ मा आईसीएमआर–आईएनडीआईएबीले गरेको अनुसन्धानअनुसार भारतमा ११.८ प्रतिशतदेखि ३१.३ प्रतिशत प्रौढहरू मोटा छन् । भुँडीको नाप ज्यादा हुनेहरूको संख्या १६.९ प्रतिशतदेखि ३६.३ प्रतिशत पाइएको छ । भुँडीको नाप ज्यादा हुनेहरूलाई चिनी रोग र मुटु रोग हुने सम्भावना ज्यादा हुन्छ ।

प्राध्यापक अभिनभ वैद्य र उनका सहयोगीहरूले प्रकाशन गरेको एक लेखअनुसार नेपालमा २० देखि ३४ प्रतिशत प्रौढहरू मोटा छन् । लेखमा उल्लेख गरिएका तथ्यांकअनुसार मोटोपनको समस्या एउटा देश अथवा एउटा जातिको मात्र नभएर संसारकै एउटा ठूलो समस्या हुन गएको छ । यो आलेखमा ‘ओबेसिटी’लाई मोटोपन भनिएको छ । मोटोपन हुनेहरूको बीएमआई ३० अथवा ३० भन्दा ज्यादा हुनुपर्छ ।

कुनै व्यक्तिको वाञ्छनीय तौल उसको उचाइमा भरपर्छ । वाञ्छनीय तौलको जानकारीका लागि उचाइ थाहा पाउनु आवश्यक छ । उचाइअनुसार हुनुपर्ने तौल निम्न तरिकाले हिसाब गरेर पत्ता लगाउन सकिन्छ ।

वाञ्छनीय तौल पत्ता लगाउने तरिका

यो तलको उदाहरण एसियालीहरूका लागि लागू हुन्छ ।

उदाहरणका लागि १.६ मिटर उचाइ भएमा सबैभन्दा बढी हुनुपर्ने तौल १.६×१.६=२.५६×२३= ५८ किलोग्राम हुन्छ । सबभन्दा कम हुनुपर्ने तौल १.६×१.६=२.५६×१८.५= ४७ किलोग्राम हुनुपर्छ । १.६ मिटर उचाइ हुने मानिसको वाञ्छनीय तौल ४७ देखि ५८ किलोग्राम हुन्छ । उपरोक्त तौलभन्दा बढी तौल हुने व्यक्तिहरूको जीवन अवधि कम हुनसक्ने हुनाले यो तौललाई विद्वान्हरूले वाञ्छनीय तौलको संज्ञा दिएका छन् ।

मानिस मोटो भए/नभएको कुरा बीएमआई अर्थात बडी मास इन्डेक्सद्वारा पत्ता लगाउन सकिन्छ । मोटा मासिनहरूको बीएमआई ज्यादा हुन्छ । किलोग्राममा लिइएको तौललाई मिटरमा लिइएको उचाइको वर्गले भाग गर्दा आउने अंकलाई बीएमआई भनिन्छ ।

पश्चिमी देशका मानिसहरूको बीएमआई एसियाली मुलुकका बासिन्दाहरूको भन्दा ज्यादा हुन्छ । विश्व स्वास्थ्य संगठनले पश्चिमी मुलुकका मानिसहरूको बीएमआईलाई निम्नअनुसार निर्धारण गरेको छ ।

एसियाली मुलुकका बासिन्दाहरूको बी.एम.आई. कम मानिएको छ । कति जति बी.एम.आई सामान्य हो र कति ज्यादा हो भन्ने कुराको जानकारी अतिआवश्यक छ । यहाँ उल्लेख गरिएको सामान्य बी.एम.आईजति आफ्नो बी.एम.आई भएमा मोटोपनसँंग सम्बन्धित सबै रोगहरूबाट मुक्ति पाउन सकिन्छ ।

एसिया–प्यासिफिकवासीहरूको बी.एम.आई निम्नानुसार निर्धारण गरिएको छ ।

तौल कम भएकाहरूको बी.एम.आई. १८.५ भन्दा कम
सामान्य तौल भएकाहरूको बी.एम.आई. १८.५–२२.९ सम्म
ज्यादा तौल भएकाहरूको बी.एम.आई. २३–२४.९ सम्म
मोटो हुन आँटेकाहरूको बी.एम.आई. २५–२९.९ सम्म
मोटाहरूको बी.एम.आई. ३० वा ३० भन्दा ज्यादा

हाम्रो बी.एम.आई. २३ भन्दा कम हुनुपर्छ । २३ भन्दा ज्यादा बी.एम.आई हुनेहरूलाई हृदय रोग, उच्च रक्तचाप र चिनी रोग लाग्ने संभावना हुन्छ । यसर्थ सबैले स्वस्थ जीवनका लागि बी.एम.आई हुनुपर्नेभन्दा ज्यादा हुन दिनुहुँदैन । बी.एम.आई. बढ्न नदिन आफ्नो तौललाई नियन्त्रण गर्नुपर्छ । नियमित व्यायाम र सबै प्रकारका खाना कम गरेर तौल घटाउन सकिन्छ ।

मिटरमा लिइएको वर्गलाई २३ ले गुणा गर्दा हुने अंकभन्दा ज्यादा किलोग्राम तौल एसियालीहरूको हुनुहुँदैन । उक्त तौलभन्दा ज्यादा तौल हुनेहरूलाई ज्यादा तौल भएका वा ओभर वेट मानिन्छ ।

स्वस्थ जीवन बिताउन चाहने प्रत्येक व्यक्तिले आफ्नो उचाइ, तौल र बी.एम.आई. थाहा पाइराख्नुपर्छ । बी.एम.आई. हुनुपर्नेभन्दा ज्यादा भएमा खानपिनमा परहेज र नियमित व्यायाम गरेर यसलाई घटाउनुपर्छ ।

‘वेस्ट–हिप रेसियो’ भनेको के हो ?

यसले शरीरमा बोसोको मात्रा कम वा बेसी भएको बताउँछ । पुरुषमा ०.९० र महिलामा ०.८० भन्दा कम भएमा सामान्य मानिन्छ । छालाको मोटाइ पनि मोटोपनको नाप हो । नाभीनिरको छालाको मोटाइ एक इन्चभन्दा कम हुनुपर्छ ।

भुँडीको नाप

ठूलो भुँडी भएका व्यक्तिहरूलाई डायबिटिज र हृदयाघात हुने डर हुन्छ । यसर्थ खाना कम खाएर र व्यायाम गरेर भुँडी घटाउनुपर्छ । दक्षिण एसियाली मुलुकवासीहरूको भुँडी अमेरिकी र युरोपेलीहरूको दाँजोमा सानो हुन्छ । अमेरिकी पुरुषहरूको सामान्य भुँडी १०२ सेन्टिमिटर र महिलाहरूको ८८ सेन्टिमिटरभन्दा कम भएको पाइएको छ । युरोपेली पुरुषहरूको भुँडी ९४ सेन्टिमिटर र महिलाहरूको ९० सेन्टिमिटरभन्दा कम हुन्छ ।

दक्षिण एसियाली मुलुकवासी पुरुषहरूको सामान्य भुँडी ९० सेन्टिमिटर र महिलाहरूको ८० सेन्टिमिटरभन्दा कम हुनुपर्छ । ०.९ भन्दा कम पुरुषहरूको र ०.८ भन्दा कम महिलाहरूको वेस्ट–हिप रेसियोलाई समान्य मानिन्छ । नेपालीहरूको भुँडी पनि दक्षिण एसियाली मुलुकवासी सरह हुनुपर्छ । भुँडीको नाप पनि मोटोपन थाहा पाउने अर्को उपाय हो ।

मानिस मोटो किन हुन्छ ?

मानिसहरू किन मोटा हुन्छन् र उनीहरूको तौल किन बढ्छ भन्ने विषय ज्यादै जटिल छ तापनि विशेषज्ञहरूले अनुसन्धान गरेर पत्ता लगाएका मोटोपन हुनुका केही कारणहरूलाई याहा प्रस्तुत गरिएको छ ।

मानिसको मस्तिष्कको हाइपोथालामस नामक एक भागमा रुचि केन्द्र हुन्छ । मस्तिष्कको यो भागले रुचिलाई नियन्त्रण गरेको हुन्छ । शल्यक्रिया गर्दा, चोट पटक लाग्दा, टयुमर हुँदा र जीवाणुद्वारा संक्रमण हुँदा मस्तिष्कको यो भाग रोग ग्रस्त हुन्छ । यसको फल स्वरूप ज्यादा भोक लागेर मानिसले अधिक खाना खान थाल्छ । अधिक खाना खाँदा शरीर मोटो हुन्छ ।

मानिसको आन्द्राबाट निस्कने ग्रेहलिन एउटा हार्मोन हो । यो हार्मोनले खानेकुरालाई आन्द्राबाट शरीरमा पु¥याउँछ । यसको फल स्वरूप मानिस मोटाउँछ । अर्को लेपटिन नामक हार्मोन एक किसिमको प्रोटिन हो । यो हार्मोन बोसोबाट उत्पन्न हुन्छ । लेपटिन कम हुँदा भोक लागेर मानिसले ज्यादा खान्छ र मोटाउँछ । केही बालकहरूमा जन्मैदेखि लेपटिन हुँदैन र मोटोपन आउँछ । यस्ता मोटा बालकहरूलाई लेपटिन प्रयोग गरेर उपचार गर्न सकिन्छ ।
मोटोपन निम्न रोगहरूको कारण हो ।

१. अल्परक्त प्रवाह हृदय रोग अर्थात् मुटुमा रक्त संचार कम भएर हुने हदय रोग ।
२.  उच्च रक्तचाप ।
३ . चिनी रोग ।
४. घुँडा दुख्ने रोग ।
५. पित्तको पत्थरी राग ।
६.  बच्चा नहुने अवस्था ।
७ . विभिन्न किसिमका क्यान्सर ।

निम्न समूहका औषधिहरू प्रयोग गर्दा तौल बढ्नसक्छ ।

१. फिनोथायजिन (लार्गाक्टिल) ।
२. डिपे्रसनमा प्रयोग गरिने औषधिहरू ।
३. छारे रोगको औषधि (भाल्प्रोयट, कार्बामाजेपिन, गावापेन्टिन) ।
४. प्रोष्टेटको रोगमा प्रयोग गरिने औषधि (टेराजोसिन) ।
५. विटाब्लकरस ।
६. पायोग्लिटाजोन ।
७. इन्सुलिन ।
८. सल्फोनिलयुरिया ।
९. स्टेरायडहरू ।

हाइपोथलामसमा रुचि केन्द्र

मस्तिष्कको हाइपोथलामसमा रुचि केन्द्र अवस्थित छ । यो केन्द्र प्रभावित हुँदा रुचि बढ्ने र घट्ने गर्छ । असामान्य रुचि भएर मोटाउने व्यक्तिलाई हाइपोथलामसको रोग भए÷नभएको यकिन गर्न आवश्यक हुन्छ ।

मोटोपन नियन्त्रण गर्ने तरिका

खाना कम खाएर र नियमित व्यायाम गरेर पनि तौल कम गर्न सकिएन भने खाने औषधिहरूको प्रयोग गर्ने सल्लाह दिइन्छ । धेरै तौल भएर हिाडडुल गर्न नसक्नेहरूले विशेष किसिमका शल्यक्रियाद्वारा तौल घटाउन सक्छन् ।

तौल घटाउने औषधिहरूको नाम तल उल्लेख गरिएको छ । यी औषधिहरू प्रयोग गर्नुपरेमा आफ्नो चिकित्सकसँग सल्लाह गर्नुपर्छ ।

. Lorcaserin
= Liraglutide
= Orlistat
४= Phentermime- topiramate
५= Bupropion- maltrexone

मोटोपन एक किसिमको कोसिस गर्दा नियन्त्रण गर्न सकिने रोग हो । यसले धेरै प्रकारका रोग निम्त्याउँछ । यसर्थ मोटोपनलाई समयमा नै नियन्त्रण गर्नुपर्छ ।

तौल कम गराउँदा रगतमा पर्ने राम्रो प्रभाव

तौल कम गराउँदा हुने फाइदाहरू

उच्च रक्तचाप, बढेको कोलेस्ट्रोल, ट्राइग्लिसेराइड र चिनी रोग नियन्त्रण भएर हृदयाघात हुनबाट बच्न सकिन्छ । वृद्ध अवस्थामा घुँडा दुखेर आफ्नै घरमा तल माथि गर्न गाह्रो पर्ने जोर्नी रोगबाट बच्न सकिन्छ । तौल घटाएर वाञ्छनीय तौल बनाउन सक्षम भएका व्यक्तिहरूको शरीर फुर्तिलो हुन्छ ।

गर्भावस्था र मेटोपन

गर्भावस्थामा महिलाहरूको तौल बढ्नु स्वाभाविक हो । गर्भवती महिलाहरूको शिशु हुनुका साथै ज्यादा खाना खाएर पनि तौल बढ्छ । शिशुको जन्मपछि पनि केही प्रतिशत महिलाहरूको तौल घट्दैन र यी महिलाहरू मोटा भइरहन्छन् । मोटोपन हुन नदिन महिलाहरूले खाना कम गर्नुका साथै नियमित व्यायाम पनि गर्नुपर्छ । नवजात शिशुलाई आफ्नो दूध खुवाउनाले महिलाहरूको तौल बढ्दैन भनेर विशेषज्ञहरूले भनेका छन् । यसर्थ महिलाहरूले आफ्नो शिशुलाई स्तनपान गराउने सल्लाह दिन्छन् ।

मिर्गौलाको छेउनिरको एड्रिनल ग्रन्थीबाट निस्कने हार्मोन शरीरलाई चाहिनेभन्दा ज्यादा मात्रामा उत्पन्न हुने रोगलाई कुसिङसिन्ड्रोम भनिन्छ । हार्मोन ज्यादा हुने यो रोगमा तौल धेरै बढेर मानिस मोटो हुन्छ ।

मोटोपन सन्तानमा पनि जान्छ । जुनसुकै कारणले बढेको तौललाई पनि खाना कम खाएर नियमित व्यायाम गर्दा नियन्त्रण गर्न सकिन्छ । मोटोपन गराउने कारणहरूको उपचार पनि त्यतिकै आवश्यक पर्छ । मोटोपनलाई एक प्रकारको रोग मानेर यसलाई नियन्त्रण गर्ने प्रयास गर्ने सल्लाह दिइन्छ । वाञ्छनीय तौल स्वस्थ्य जीवनका लागि अतिआवश्यक हुन्छ ।