फिफा वर्ष खेलाडीका लागि अन्तिम मनोनयनमा रोनाल्डो, मेस्सी र भान डाइक

फिफा वर्ष खेलाडीका लागि अन्तिम मनोनयनमा रोनाल्डो, मेस्सी र भान डाइक

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ १७, २०७६

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने वर्ष खेलाडीको अवार्डका लागि अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक भएको छ ।

पहिलो चरणमा छनोट भएका १० खेलाडीबाट तीन जनाको नाम सार्वजनिक गरिएको हो । बार्सिलोना तथा अर्जेन्टिनाका लियोनल मेस्सी, युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र लिभरपुल तथा नेदरल्यान्डका भान डाइक मनोनयनमा परेका हुन् ।

लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका डिफेन्डर भान डाइकलाई मुख्य प्रतिस्पर्धीको रूपमा हेरिएको छ । उनले केही दिनअघि मात्रै युरोपको वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका थिए । उनले सो अवार्डमा पनि मेस्सी र रोनाल्डोलाई नै पछि पारेका थिए ।

रोनाल्डोले गत वर्ष पोर्चुगललाई युईएफए नेसन्स लिग र युभेन्ट्सलाई इटालियन सिरी ‘ए’ को उपाधि जिताएका थिए ।

मेस्सीले बार्सिलोनालाई ला लिगाको उपाधि जिताउँदा च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए । उनले युरोपियन गोल्डेन बुटको अवार्ड पनि जितेका थिए ।

फिफा वर्ष खेलाडी महिलातर्फ युईएफए वर्ष खेलाडी अवार्ड जितेकी लुसी ब्रोन्ज, एलेक्स मोर्गन र मेगान रापोनी परेका छन् ।

वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा पेप ग्वार्डीवाला, योर्गेन क्लोप र माउरिसियो पोचेटेनो रहेका छन् । महिला प्रशिक्षकतर्फ ग्रे नेभिल्स, जिल एलिस र सरिना विगम्यान रहेका छन् ।

वर्ष गोलकिपर अवार्डका लागि एलिसन बेकर, एण्डरसन मोरिस र मार्क टेर स्टेगेन परेका छन् ।

त्यस्तै, वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि लियोनल मेस्सी, जुवानफर क्वान्टेरो र डानियल जेसोरीको गोल शीर्ष तीनमा परेको छ । गत वर्ष क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले फिफा वर्ष खेलाडीको अवार्ड जितेका थिए ।