जापान रोजगारीको अवसर: कात्तिकमा परीक्षा

जापान रोजगारीको अवसर: कात्तिकमा परीक्षा

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ १७, २०७६

काठमाडौं : जापान सरकारले औपचारिक रूपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया सुरु गरेको छ । जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो ।

पहिलो चरणमा जापानले केयर गिभरमा कामदार लैजाने तयारी गरेको हो । जापानमा रोजगारीका लागि योग्य हुन जापानी भाषा तथा सीप परीक्षा उतीर्ण गर्नुपर्नेछ । ‘स्पेसिफाइड स्किल्ड वर्क्स’अन्तर्गत जापानमा नर्सिङ केयर गिभरमा जान चाहनेले नर्सिङ केयर र जापानी भाषा परीक्षा उतीर्ण गर्नुपर्ने जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ । नर्सिङ केयर गिभरमा जापान जान चाहनेले ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’अन्तर्गत ६० मिनेटमा ४५ वटा प्रश्नको लिखित उत्तर दिनुपर्नेछ, जसमा ‘फन्डामेल्टल अफ केयर’को १०, ‘मेकानिज्म अफ द माइन्ड एण्ड बडी’ को ६, ‘कम्युनिकेसन स्किल’ को ४, ‘फिजिकल केयर’ को २० र प्रयोगात्मक अभ्यासअन्तर्गत पाँचवटा प्रश्नको उत्तर दिनुपर्नेछ ।

प्रयोगात्मक परीक्षा कम्प्युटर प्रणाली (सीबीटी) माध्यमबाट दिनुपर्नेछ । यसैगरी परीक्षार्थीले ‘नर्सिङ केयर जापानिज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट’अन्तर्गत ३० मिनेटमा १५ वटा प्रश्नको उत्तर दिनुपर्नेछ, जसमा ‘टेक्निकल टर्म्स अफ केयर’ ५, ‘कम्युनिकेशन अफ केयर’ ५ र ‘डकुमेन्ट अफ केयर’को ५ गरी १५ अङ्कको भाषा परीक्षा दिनुपर्नेछ ।

भाषा र सीप परीक्षाका लागि एक हजार जापानी येन दस्तुर बुझाउनुपर्ने उल्लेख गरिएको छ । परीक्षा सम्पन्न भएको एक महिनापछि नतिजा सार्वजनिक हुनेछ । कम्तीमा ६० प्रतिशत अङ्क प्राप्त गर्ने परीक्षामा उतीर्ण हुने जापानी श्रम मन्त्रालयले जनाएको छ ।

कात्तिक १० देखि १२, १९ देखि २१ र २६ देखि २८ गतेसम्म परीक्षा संचालन हुनेछ । परीक्षाका लागि कसरी आवेदन गर्ने भन्नेबारेमा आगामी असोज १५ गतेभित्र जानकारी दिइने बताइएको छ ।

नेपाल सरकार र जापान सरकारबीच गत चैत ११ गते नेपाली श्रमिक पठाउनेसम्बन्धी ‘सहयोग समझदारी’ (एमओसी)मा हस्ताक्षर भएको थियो । जापानले १४ वटा कार्यक्षेत्रमा विदेशी श्रमिक भित्र्याउने नीति अख्तियार गरेको छ । जापानले कृषि, नर्सिङ केयर, सवारी सधान मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेशिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योगमा श्रमिक लिने जनाएको छ ।

नेपाली श्रमिकलाई १४ वटै कार्यक्षेत्रमा खुला गरिएको भए तापनि कुन कुन क्षेत्रमा के कति संख्यामा नेपाली श्रमिकको माग हुने हो भन्ने विषय निश्चत हुन बाँकी रहेको श्रम मन्त्रालयले जनाएको छ ।